बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नवीकरणीय ऊर्जामा बिनाधितो लगानी गर्दै सहकारी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २५ २०८१
नवीकरणीय ऊर्जामा बिनाधितो लगानी गर्दै सहकारी

विभिन्न दातृ निकायसँग सहकार्य गरी जैविक विधिको प्रयोगगरी व्यावसायिक कृषिलाई अगाडि बढाउनका लागि अनुदान र ऋणका कार्यक्रम अगाडि बढाइएको छ।

कञ्चनपुर- परम्परागत ऊर्जालाई प्रतिस्थापन गर्ने उद्देश्यले शुक्लाफाँटा नगरपालिका-१० झलारीमा सिर्जनशील बचत तथा ऋण सहकारी संस्थाले नवीकरणीय ऊर्जामा लगानी गर्न थालेको छ। नवकरणीय ऊर्जा उपयोग गर्ने उपभोक्तालाई सहकारीले सहुलियत दरमा कर्जा उपलब्ध गराउन थालेको हो।

ई-रिक्सा, बायोग्यास, सौर्य ऊर्जा प्रणालीमा आधारित सिँचाइ, सौर्य बत्ती, विद्युतीय चुलोमा ऋण प्रदान गर्ने व्यवस्था मिलाइएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताए। उनका अनुसार हालसम्म एक सय ५० जनालाई विनाधितो नवीकरणीय ऊर्जाका लागि ऋण प्रदान गरिएको छ। 

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय गरी रु एक लाखसम्म नवीकरणीय ऊर्जामा कर्जा प्रदान गर्ने व्यवस्था मिलाइएको कार्यकारी प्रमुख भट्टले जानकारी दिए।

'गत वर्षदेखि नवीकरणीय ऊर्जा कार्यक्रमलाई निरन्तरता दिएका छौँ', उनले भन्नुभयो, 'वातावरण प्रदूषण न्यूनीकरणमा यस कार्यले सहयोग पुर्‍याउँछ, वन माथिको निर्भरतामा कमी आउँछ।' सहकारीबाट ई-रिक्सा खरिदका लागि सहुलियत दरको ऋण लिनेको सङ्ख्या बढी रहेको उनले जानकारी दिए।

नवीकरणीय ऊर्जासपछि सौर्य ऊर्जामा आधारित सिँचाइका लागि ऋण लिने बढी रहेका प्रमुख भट्टले बताए। नवीकरणीय ऊर्जाको उपयोगले पुर्‍याउने लाभबारे सहकारीका सदस्यहरूलाई छलफल तथा विविध कार्यक्रमका माध्यमबाट जानकारी दिने कार्य सहकारी गरिरहेको उनको भनाइ छ।

योसँगै विभिन्न दातृ निकायसँग सहकार्य गरी जैविक विधिको प्रयोगगरी व्यावसायिक कृषिलाई अगाडि बढाउनका लागि अनुदान र ऋणका कार्यक्रम अगाडि बढाइएको छ।

'कृषकहरूको उत्पादन क्षमता वृद्धि गरी बजारीकरणमा सहयोग पुर्‍याउने कार्य गरिरहेका छौँ', सहकारीका सचिव खगेन्द्रप्रसाद पाण्डेयले भने, 'किसानको घरदैलोमा आवश्यक वित्तीय सहयोग तथा प्राविधिक सहयोग उपलब्ध, आवश्यक प्रविधि र खेती प्रणालीबारे तालिम दिने कार्य गरिरहेका छौँ।'

सदस्यहरूको माग र आवश्यकताका आधारमा सहकारीले सीपमूलक, उद्यमशीलतामूलक तालिम प्रदान गरी उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर २५ २०८११०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend