बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

डीएमआर बिक्री : बैनाको पैसा फिर्ताबापत ‘बीवाईडीको गाडी’

साइमेक्स इंक र यसका सञ्चालकको ‘कर्पोरेट बेइमानी’

बिहीबार , मंसिर २० २०८१
डीएमआर बिक्री : बैनाको पैसा फिर्ताबापत ‘बीवाईडीको गाडी’

नगदमा लिएको बैनाबापत एउटा समूहलाई २६ वटा र अर्को समूहलाई १५ वटा विद्युतीय कार एटो थ्री थमाइएको हो। उनीहरूले पनि पैसा गुम्नुभन्दा जसोतसो त्यसलाई बेचेर पैसा बनाउने मनसायले गाडी नै भए पनि लिने निष्कर्ष निकाले र लिए पनि।

काठमाडौं- घरजग्गा वा महँगा वस्तुको खरिदका लागि बैना राख्ने गरिएको छ। डिल नमिलेपछि बैनाबापतको रकम फिर्ता हुनु स्वभाविक प्रक्रिया हो। तर यहाँ बैनाबापत दिइएको नगद फिर्तामा भने तेस्रो पक्षमार्फत ‘जिन्सी’ सामान भिराइएको पाइएको छ। 

गैरआवासीय नेपाली संघ (एनआरएन) का पूर्वअध्यक्ष भवन भट्टले काभ्रेको पाँचखालमा रहेको धुलिखेल माउन्टेन रिसोर्ट (डीएमआर) बिक्री गर्न ठूलै पापड बेल्नु परेको थियो। वर्षौँदेखि उक्त रिसोर्ट बिक्री गर्न भट्टले धेरै व्यावसायिक घराना तथा व्यक्तिलाई हारगुहार गर्दै आएका थिए। यही क्रममा उनले दुई समूहसँग बिक्री गर्ने भन्दै बैना रकम लिएका थिए। 

अन्तिममा भट्टले त्यो दुई समूहबाहेक तेस्रो पक्षलाई रिसोर्ट बिक्री गरे। त्यो तेस्रो पक्ष हो भट्टकै साझेदार रहेका साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ तथा एमडी यमुना श्रेष्ठ। यो समूहले भट्टको स्वामित्वमा रहेको डीएमआर ७० करोड रुपैयाँ खर्चिएर गएको चैतमा किन्ने निर्णय गरेको थियो। 

त्यसअघि भट्टले रिसोर्ट बिक्री गर्न भन्दै बैना लिएका दुई पक्षले रिसोर्ट पाएनन्। उनीहरूसँग डिल मिलेन। यो अवस्थामा भट्टले ती दुई पक्षलाई बैनाबापत लिएको नगद ‘नगदै’ फिर्ता गर्नुपर्ने थियो। यहाँ डिल नमिलेका दुई समूहलाई बीवाईडी बिक्रेता साइमेक्स इंकले भट्टलाई ‘कन्भिन्स’ गरेर आफ्नो व्यापार बढाउन बीवाईडी ब्रान्डको एटो थ्री विद्युतीय कार भिराइएको पाइएको हो। 

नगदमा लिएको बैनाबापत एउटा समूहलाई २६ वटा र अर्को समूहलाई १५ वटा विद्युतीय कार एटो थ्री थमाइएको हो। उनीहरूले पनि पैसा गुम्नुभन्दा जसोतसो त्यसलाई बेचेर पैसा बनाउने मनसायले गाडी नै भए पनि लिने निष्कर्ष निकाले र लिए पनि। 

केही महिनाअघि भएको बैनाको पैसाबापत भिराइएको बीवाईडीका विद्युतीय कार ती दुवै समूहले हालसम्म बिक्री गरिसकेका छैनन्। २६ वटा विद्युतीय कार थमाइएको समूहले अझै ६/७ वटा एटो थ्री बिक्री गर्न सकिरहेको छैन भने १५ वटा विद्युतीय कार भिराइएको समूहले ४/५ वटा एटो थ्री बिक्री गर्न नसकेर पार्किङमा थन्क्याएर राखेको छ।

यी दुई समूहले बैनाबापत भट्टलाई कति रकम दिएको भन्नेबारे खुलाउन चाहेनन्। तर उनीहरूलाई जति संख्यामा बीवाईडीको एटो थ्री दिइएको छ त्यसबाट अनुमान लगाउन भने सकिन्छ। २६ वटा एटो थ्री दिएको समूहसँग भट्टले करिब १५ करोड रुपैयाँ लिएको देखिन्छ। त्यस्तै १५ वटा एटो थ्री पाएको समूहले करिब ८ करोड रुपैयाँ बैनाबापत दिएका अहिलेको बीवाईडी एटो थ्रीको बिक्री मूल्यबाट देखिन्छ। 

‘हामीले पनि धुलिखेल माउन्टेन रिसोर्ट किन्ने कुरा भएको हो। प्रारम्भीक सहमतिपछि बैना लगाएका हौँ। तर विभिन्न चरणमा कुरा भएपछि हामीबीच किनबेचको अन्तिम निर्णय हुन सकेन,’ एक समूहका सदस्यले भने, ‘हामीलाई बैना दिएको पैसा फिर्ता आउनु पर्ने हो, गाडी दिए पनि त्यसबाट पैसा नै आउने हो। जे भए पनि यसमा हाम्रो खासै गुनासो छैन।’

'भट्टजीले बैनाको पैसा फिर्ता दिन उहाँहरूलाई (साइमेक्स इंक)लाई भन्नु भएको होला, त्यही भएर त्यहाँ (साइमेन्ट इंक)बाट अनिल श्रेष्ठजी आउनु भएर हामीबीचको हिसाब मिलाउन गाडी दिने कुरा भयो र बैनाबापतको पैसा फिर्ता गर्ने कुरा त्यतैबाट टुंग्याइएयो' ती सदस्यले बताए। 

यसरी नगद लिएको बैनाको पैसा किन्ने पक्षको चलाखी र उसको व्यापार बढाइदिन जिन्सी (गाडी) दिनु एक प्रकारले 'कर्पोरेट बेइमानी' भएको एक व्यवसायीले बताए। ‘यो त आफ्नो व्यापार बढाउने र ‘नबिकेका स्टक सामान’ भिराएर आफ्नो दायित्व अरुमाथि थोपर्ने काम भयो। जुन सरासर बदमासी हो,’ ती व्यवसायीले भने। 

साइमेक्स इंकले चालु आर्थिक वर्ष २०८१/८२ को बजेटअघिको एक महिनामा १४ सयभन्दा बढी विद्युतीय कार नेपाल भित्र्याएको थियो। उक्त गाडीमध्ये अहिले पनि केही गाडी स्टकमै रहेको छ। साइमेक्स इंकले भट्टलाई तिर्नुपर्ने र भट्टले बैना लिएका दुई समूहलाई तिर्नुपर्ने पैसा सेटल गर्न स्टकको बीवाईडी एटो थ्री दिइएको देखिन्छ। यही एउटा डिलबाट साइमेक्सले एकैलटमा ४१ वटा स्टकको एटो थ्री कटाउने अवसरसमेत पायो। 

यो ४१ वटा गाडी बिक्री गर्दा बिलबिजक कहाँबाट जारी भयो, यसबापत हुने आम्दानीको लेखाजोखा कहाँ र कसरी देखाइन्छ भन्ने प्रश्नसमेत उठेको छ। यसबारेमा सम्बन्धित कर कार्यालयले चनाखो तवरले कर जाँच गर्नुपर्ने हुन्छ। 

भवन भट्टले बीबी होल्डिङ्स कम्पनीमार्फत १० वर्षअघि डीएमआर खरिद गरेर सञ्चालन गर्दै आएका थिए। उक्त रिसोर्ट नेपालमा बीवाईडी गाडी बिक्री गर्दै आएकी साइमेक्स इंक प्रालिकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठसहितको टिमले झन्डै ७० करोड रुपैयाँमा गत चैतमा खरिद गरेको थियो। खरिद गरेलगत्तै व्यवस्थापन सम्हालेर श्रेष्ठ समूहले विस्तारलगायतको काम थालेको थियो। 

सन् १९८१ मा स्थापना भएको रिसोर्ट बीबी होल्डिङसले २०१३ मा खरिद गरेको थियो। बीबी एययरवेज पुनः सञ्चालनको तयारीमा रहेको र त्यसका लागि पैसा जुटाउन भट्टले करिब ७० करोड रुपैयाँमा रिसोर्ट बिक्री गरेका थिए। काभ्रेको पाँचखाल नगरपालिकामा रहेको रिसोर्ट २ सय २० रोपनी क्षेत्रफलमा फैलिएको छ। जसमा ४२ वटा भिल्ला थिए। 

उक्त रिसोर्टसँग बीवाईडी बिक्रेता साइमेक्स इंकले केही महिनाअघि नक्सालमा घरसहितको जग्गासमेत किनेको हो। साइमेक्स इंकले सहकारीको नाममा रहेको उक्त जग्गासहितको भवन खरिद गरेको थियो। समस्यामा परेको एक सहकारीले लिलामीमा राखेको जग्गासहितको भवन साइमेक्सले आफ्नो केन्द्रीय कार्यालय बनाउन उक्त संरचना किनेको जनाएको छ। 

लिलामीमा रहेको घर र जग्गा साढे ४१ करोड रुपैयाँ कबोल गरेको र पास खर्चलगायत सबै प्रक्रिया पूरा गर्दा २४ आना जग्गा र घरलाई ४४ करोड रुपैयाँ साइमेक्सले खर्चिएको हो।

बीवाईडी बिक्रेता साइमेक्स इंकले ४४ करोड खर्चिएर नक्सालमा किन्यो भवन बीवाईडी बिक्रेता साइमेक्स इंकले ४४ करोड खर्चिएर नक्सालमा किन्यो भवन 

७० करोडमा बिक्री भयो भवन भट्टको धुलिखेल माउन्टेन रिसोर्ट ७० करोडमा बिक्री भयो भवन भट्टको धुलिखेल माउन्टेन रिसोर्ट


प्रकाशित : बिहीबार , मंसिर २० २०८११६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend