बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पाँच अर्बको लागतमा राप्ती शिक्षण अस्पताल १ सय १३ शैय्याबाट ४ सय शैय्यामा स्तरोन्नति गरिँदै

बुधबार, मंसिर १९ २०८१
पाँच अर्बको लागतमा राप्ती शिक्षण अस्पताल १ सय १३ शैय्याबाट ४ सय शैय्यामा स्तरोन्नति गरिँदै

काठमाडौं- सरकारले राप्ती शिक्षण अस्पताल स्तरोन्नति गर्ने भएको छ। १ सय १३ शैय्यामा सञ्चालन भएको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानअन्तर्गतको राप्ती शिक्षण अस्पताल स्तरोन्नतिका लागि आवश्यक वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट राय सुझावका लागि सार्वजनिक गरिएको छ।

अस्पताल स्तरोन्नतिका लागि ४ अर्ब ८७ करोड ८९ लाख १७ हजार ९ सय ७६ रुपैयाँ लागत अनुमान गरिएको छ। अस्पतालले सुरुमा ४ सय शैय्याको लागि नेपाल सरकारबाट अनुमति पाएको थियो तर १ सय १३ शैय्यामा मात्रै सञ्चालन भइरहेको अवस्थामा स्तरोन्नति गर्दै ४ सय शैय्याको बनाउन लागिएको हो।

तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल हस्तान्तरण भएपछि उक्त अस्पतालको भौतिक संरचनामा १२ शैय्याको तत्कालिन महेन्द्र अस्पताल रहेको थियो। तत्कालीन उपक्षेत्रीय अस्पताल हस्तान्तरण भएपश्चात न्यून भौतिक संरचनामा समेत प्रतिष्ठानले आफ्नो सेवालाई विस्तार तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रस्तावित आयोजना लुम्बिनकी प्रदेशको दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा प्रस्ताव गरिएको छ। अस्पतालमा १ सय ३६ वटा चारपांग्रे सवारी, ३ सय ५० वटा दुईपांग्रे सवारी र २० वटा एम्बुलेन्स अट्ने क्षमताको पार्किङ निर्माण हुने छ। अस्पताल भवनको उचाइ २७.३ मिटरको हुने छ।

अस्पताल भवनमा ७ वटा लिफ्ट रहने छ। भवन पाँच तलाको हुने रिपोर्टमा छ। आयोजनाअन्तर्गत संरचना निर्माणको अवधि ३० महिनाको हुने उल्लेख छ। 

दाङ, रोल्पा, रुकुम, सल्यान र प्युठानलगायतका क्षेत्रको स्वास्थ्य सेवाको केन्द्र बनिरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको संरचनासँगै स्वास्थ्य सेवाको स्तर पनि फेरिने अपेक्षा गरिएको छ। 


प्रकाशित : बुधबार, मंसिर १९ २०८११७:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend