काठमाडौं- अर्थतन्त्र संकटमा रहेको समयमा नबिल बैंकको नगद लाभांश घोषणाप्रति राष्ट्र बैंक असन्तुष्ट देखिएको छ। राष्ट्र बैंकको असन्तुष्टिबीच नबिल बैंकले तत्कालै अग्राधिकार सेयर जारी गर्न अनुमति पाउने सम्भावना कम देखिएको छ। अग्राधिकार सेयर जारी गर्ने अनुमति नपाएमा नबिल बैंकको व्यावसायिक योजनामा असर पर्ने देखिन्छ।
बैंकको पुँजीकोष सहजीकरण गर्नका लागि राष्ट्र बैंकले तमाम नीतिगत व्यवस्थामा सहजीकरण गरेपनि नबिल बैंकले ठूलो मात्रामा नगद लाभांश घोषणा गरेर बैंकलाई संकटमा धकेल्ने काम गरेको भन्दै राष्ट्र बैंकका अधिकारीहरू सन्तुष्ट देखिँदैनन्।
अर्थतन्त्रमा देखिएको शिथिलताले कर्जा प्रवाह नबढेको, खराब कर्जा बढेको र पुँजीकोषमा दबाब परिरहेको समयमा नगद लाभांशभन्दा बोनस सेयर वितरण गर्न राष्ट्र बैंकले लाभांश वितरण गर्नसक्ने बैंक वित्तीय संस्थालाई स्पस्टरुपमा मौखिक निर्देशन दिएको थियो। तर राष्ट्र बैंकको चाहानाभन्दा बाहिर गएर १० प्रतिशत नै नगद लाभांश घोषणा गरेपछि राष्ट्र बैंकका अधिकारी नबिल बैंकका सञ्चालक तथा व्यवस्थापकहरूसँग चिडिएका हुन्।
१० प्रतिशत नै नगद लाभांशको सट्टा बोनस सेयर र नगद लाभांश आधा-आधा घोषणा गर्न नबिल बैंकलाई राष्ट्र बैंकको 'बैंक सुपरिवेक्षण विभाग'ले आग्रह गरेको थियो। तर नबिल बैंकका प्रमुख लगानीकर्ता बिनोद चौधरीले नै बोनस सेयर नभइ नगद लाभांश दिनुपर्ने भन्दै राष्ट्र बैंकका अधिकारीहरूलाई दबाब दिएपछि राष्ट्र बैंक लाभांश घोषणाको अनुमति दिन बाध्य भएको थियो।
विगतमा दिएको ३०/४० प्रतिशत बोनस सेयर र बंगलादेश बैंकलाई प्राप्ति गरेका कारण पुँजीको आकार बढी हुँदा लाभांश वितरण गर्ने क्षमता घटेको भन्दै केही समय नगद लाभांशमात्रै वितरण गर्न पाउनुपर्ने भन्दै राष्ट्र बैंकमाथि नबिल बैंकले दबाब दिएको थियो।
नगद लाभांशको रुपमा ठूलो रकम बाहिरिँदा बैंकको पुँजीकोषमा समस्या आउने राष्ट्र बैंकको तर्कमा नबिल बैंकले बैकल्पिक योजना प्रस्तुत गरेर उच्च तहबाटै दबाब दिएपछि नगद लाभांश घोषणाका लागि अनुमति दिएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए।
‘अर्थतन्त्र संकटमा रहेको समयमा कम्तिमा नबिल बैंकले आफ्नो पुँजीकोषमा समस्या ल्याउन हुँदैन भन्ने हाम्रो तर्क थियो। तर नबिल बैंकले पुँजीको आकार ठूलो भइसकेको र लाभांश वितरण क्षमता कम भएको भन्दै बोनस सेयर वितरण गर्न मानेन। यसैपनि एग्रेसिभ बैंकिङका कारण नबिल बैंकको पुँजीकोष बोर्डर लाइनमा नै छ। नगद लाभांश वितरण नगरौँ भन्दा उहाँहरूले विकल्प दिएर माथिल्लो तहबाटै दबाब दिनुभयो’, ती अधिकारीले बताए।
नबिल बैंकले प्रस्तुत गरेको विकल्पमा पाँच अर्ब रुपैयाँबराबरको अग्राधिकार सेयर लिएर पुँजीकोष पुर्याउने उल्लेख छ। यस्तै पुँजीकोषमा दबाब आउने स्थिति रहेमा बैंकले कर्जा बिक्री गर्ने तयारी गरेकोसमेत उल्लेख रहेको बताइएको छ।
यसअघि पनि नबिल बैंकले करिब तीन अर्ब रुपैयाँ कर्जा स्टाण्डर्ड चार्टर्ड बैंकलाई बेच्ने तयारी गरेको थियो। तर राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत पुँजीकोष पुर्याउनका लागि अग्राधिकार सेयर जारी गर्न पाउने व्यवस्था गरेपछि नबिल बैंक अन्तिम समयमा पछि हटेको थियो।
यस्तै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पुँजीकोषमा सहजीकरण हुनेगरी असल कर्जाको नोक्सानी व्यवस्था १.२० प्रतिशतबाट घटाएर १.१० प्रतिशत र रेगुलेटरी रिटेल फोर्टफोलियोको सीमा बढाएपछि नबिल बैंकले आफ्नो कर्जा बिक्री गर्ने योजना स्थगन गरेको थियो।
कर्जा बिक्री गर्ने बैंक वित्तीय संस्थालाई सहजीकरण गर्दै कर्जाको जोखिमभार १०० प्रतिशतबाट घटाएर राष्ट्र बैंकले २० प्रतिशतमा ल्याएको छ। नबिल बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकले नै सेयर कर्जाको जोखिमभार घटाउन राष्ट्र बैंकलाई दबाब दिएका थिए। तर राष्ट्र बैंकले पुँजीकोषमा सहजीकरणको नीति लिएपछि नबिल बैंक पछि हटेको थियो। अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैंकले अनुमति दिएपछि नबिल बैंक अग्राधिकार सेयर जारी गरेर पुँजीकोषको आवश्यकता पूरा गर्न व्यवसाय विस्तार गर्ने दिशामा अगाडि बढ्यो।
भदौ १७ गते विशेष साधारण सभा आह्वान गरेरै नबिल बैंकले ८ प्रतिशत असञ्चित अविमोच्य अग्राधिकार सेयर जारी गर्न निर्णय गरेको थियो। विशेष साधारणसभाले उक्त अग्राधिकार सेयर पारित गरेपनि राष्ट्र बैंकले हालसम्म स्वीकृत गरेको छैन।
नबिल बैंकले आफूसँग भएको सम्पूर्ण नाफा नगद लाभांशको रुपमा वितरण गरेर अग्राधिकारको विकल्प अगाडि सारेको भन्दै राष्ट्र बैंकले नबिल बैंकको वैकल्पिक लगानीको योजनालाई स्वीकृत गरेको छैन।
अग्राधिकार सेयर जारी गर्नका लागि नबिल बैंकले प्रक्रिया पनि पूरा नगरेको राष्ट्र बैंकका अधिकारीहरू बताउँछन्। यस्तो सेयर जारी गर्नका लागि कम्पनी ऐन २०६३ को अधिनमा रहेर कम्पनी रजिष्ट्रार कार्यालयको अनुमति लिएरमात्रै आउनुपर्नेमा नबिल बैंकले उक्त प्रक्रिया पूरा नगरेको स्रोतको दाबी छ।
यस्तै नबिल बैंकले अग्राधिकारसम्बन्धी राष्ट्र बैंकले जारी गरेको निर्देशनसमेत पालना नगरेको बताइएको छ। अग्राधिकार सेयरलाई साधारण सेयरमा परिणत गर्ने विषयमा राष्ट्र बैंकले तोकेको मापदण्डभन्दा बाहिर गएर नबिल बैंकले प्रस्ताव गरेको राष्ट्र बैंक स्रोत बताउँछ।
‘नबिल बैंकले राष्ट्र बैंकले तोकेको सर्तभन्दा बाहिर गएर अग्राधिकार सेयर जारी गर्नका लागि अनुमति माग गरेको छ। राष्ट्र बैंकले जारी गरेको १२ सर्तभन्दा बाहिर गएर नबिल बैंकलाई अग्राधिकार सेयर जारी गर्न दिन सकिने अवस्था छैन। यसैपनि कम्पनी ऐन २०६३ भित्र रहेर कम्पनी रजिष्ट्रार कार्यालयको अनुमति लिएरमात्रै आउनुपर्नेमा नबिल बैंकले प्रक्रियासमेत पूरा गरेको देखिँदैन’, राष्ट्र बैंक स्रोतले बतायो।
नबिल बैंकले अग्राधिकार सेयरलाई आफ्नो योजनाभित्र राखेर नै नगद लाभांश वितरण गर्ने निर्णय गरेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली बताउँछन्। राष्ट्र बैंकसँग अग्राधिकार सेयर जारी गर्नका लागि अनुमति माग गरिएको र दिने प्रक्रियामा रहेको ज्ञवालीले बताए।
अग्राधिकार सेयरको अनुमति नपाए नबिल बैंकले आफ्नो एग्रेसिभ बैंकिङलाई 'टोनडाउन' गर्नुपर्ने अवस्था आउने उनले बताए। लाभांश दिने क्षमता कम गराएर सधैँ नगद लाभांश दिनसक्ने अवस्था नरहेकोसमेत उनले बताए।
‘नबिल बैंकले सधैँ ३०/४० प्रतिशत बोनस सेयर लाभांशको रूपमा दिन सक्दैन। पुँजी बढेर २७ अर्ब पुगिसक्यो। यसले गर्दा बैंकको लाभांश वितरण गर्ने क्षमतामा ठूलो ह्रास आएको छ। त्यसैले नगद लाभांश घोषणाका साथै अग्राधिकार सेयरको बाटोमा नबिल बैंक गएको हो’, ज्ञवालीले भने।
गत आर्थिक वर्षको नाफाबाट नबिल बैंकले २ अर्ब ७० करोड रुपैयाँ नगद लाभांश घोषणा गरेको छ। नगद लाभांश सिधै लगानीकर्ताको खल्तीमा जान्छ र टायरवान क्यापिटलबाट घट्छ। तर बोनस सेयर वितरण गर्दा सञ्चित नाफामा घटेपनि बैंकको चुक्ता पुँजीमा जोडिन्छ। जसले बैंकको टायरवान क्यापिटलमा कुनै पनि असर पर्दैन। तर नबिल बैंकले नगद लाभांश दिएका कारण बैंकको पुँजीकोष ९.७७ प्रतिशतबाट घटेर ९.३३ प्रतिशतमा आउने देखिन्छ।
नबिल बैंकले यही मंसिर २७ गते साधारणसभा आह्वान गरेको छ। यसपछि नबिल बैंकको प्राथमिक पुँजीबाट २ अर्ब ७० करोड रुपैयाँ घट्नेछ। जसबाट नबिल बैंकको टायनवान क्यापिटल ५.५३ प्रतिशतले घट्ने देखिन्छ। हाल बैंकको टायनवान क्यापिटल ९.७७ प्रतिशत रहेको छ। बैंकको वार्षिक साधारणसभाले लाभांश पारित गर्नासाथ बैंकको टायरवान क्यापिटल ९.२३ प्रतिशतमा झर्ने देखिन्छ।
नगद लाभांशले वितरण गर्दैमा बैंकको पुँजीकोषमा खासै दबाब नपर्ने ज्ञवाली बताउँछन्। दबाब आउने अवस्था सिर्जना भएमा बैंकले आफ्नो व्यावसायिक रणनीति परिवर्तन गर्ने उनले बताए।
‘नगद लाभांश वितरण गर्दैमा बैंकको पुँजीकोषमा खासै ठूलो असर गर्दैन। अग्राधिकार सेयर जारी गरेर पुँजी बढाउने बैंकको योजना छ। उक्त योजना प्रक्रियामा नै छ। यदि अग्राधिकार पाउने अवस्था आएमा बैंकले आफ्नो रणनीति परिवर्तन गर्छ। पुँजीकोषमा समस्या ल्याएर लगानीकर्तालाई लाभांशबाट बञ्चित गर्ने अवस्थामा बैंक जाँदैन’, ज्ञवालीले बताए।
पछिल्लो समय अर्थतन्त्रमा कर्जा प्रवाह बढ्न नसकेकाले बैंकको कर्जा विस्तारमा कमी आइसकेको उनले बताए। नबिल बैंकले आक्रामक बैंकिङ विस्तारमा कमी ल्याइसकेकाले पुँजीकोषको अवस्था हेरेर थप कर्जा लगानी र असुलीको प्रक्रिया अगाडि बढाउने ज्ञवालीले बताए।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइपुग्दा नबिल बैंकको खराब कर्जा ४.२४ प्रतिशत पुगिसकेको छ। कर्जा असुली नभएको भन्दै बैंकले धितो लिलामीको प्रक्रिया आक्रामक ढंगबाट अगाडि बढाएको छ।
नबिल बैंकको इतिहासकै कमजोर १० प्रतिशत लाभांश घोषणा, नगद लाभांशले बैंकको पुँजीकोषमा समस्या ल्याउने