बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कर बक्यौता बर्सेनि बढ्दो : दुई खर्ब ५४ अर्ब उठाउन बाँकी, एक हजार ७५० करदाता पुनरावलोकनमा

मंगलबार, मंसिर ४ २०८१
कर बक्यौता बर्सेनि बढ्दो : दुई खर्ब ५४ अर्ब उठाउन बाँकी, एक हजार ७५० करदाता पुनरावलोकनमा

आन्तरिक राजस्व विभागका अनुसार तीन लाख १९ हजार तीन सय ८१ करदाताको दुई खर्ब ५० करोड रूपैयाँभन्दा बढी बक्यौता देखिएको छ।

काठमाडौं- लक्ष्यअनुरुप कर संकलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा दुई ५४ अर्ब तीन करोड रूपैयाँ कर असुल गर्न बाँकी रहेको पाइएको छ। आन्तरिक राजस्व विभागका अनुसार तीन लाख १९ हजार तीन सय ८१ करदाताको दुई खर्ब ५० करोड रूपैयाँभन्दा बढी बक्यौता देखिएको हो।

'आर्थिक वर्ष २०८०/८१ को अन्तसम्ममा आइपुग्दा कर बक्यौता, ब्याज, थप दस्तुर विलम्ब शुल्कसमेत उठ्न बाँकी कुल बक्यौता रकम एक खर्ब ३० अर्ब २४ करोड रूपैयाँ छ भने कर कार्यालयबाट भएको कर निर्धारणप्रति विमति जनाउँदै आन्तरिक राजस्व विभागमा पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम एक खर्ब २३ अर्ब ८० करोड रूपैयाँ छ', विभागको वार्षिक प्रतिवेदनमा उल्लेख छ।

विभागका महानिर्देशक रामप्रसाद आचार्य न्यायिक निरुपणमा जाँदा मुद्दा फर्छ्यौटमा ढिलाइ हुँदा बक्यौता पनि बढेको बताउँछन्। विभागले भने धमाधम पुनरावलोकनका मुद्दा फर्छ्यौटमा गर्दै आएको छ।

'बक्यौता रकममध्ये ५५ देखि ६० प्रतिशत विभिन्न न्यायिक निकायमा विचाराधीन छन् । विभागमा प्रशासनिक पुनरावलोकन, राजस्व न्यायाधिकरण, विभिन्न अदालतमा मुद्दा छिनोफानो नहुँदा बक्यौता बढेको हो', उनले भने।

चालु मुद्दा फर्छ्यौट भएका जानकारी दिँदै महानिर्देशक आचार्यले भने, 'प्रशासकीय पुनरावलोकनमा गएका मुद्दा यथाशक्य चाँडो फर्छ्यौट गरेका छौँ। धेरैभन्दा धेरै जनशक्ति परिचालन गरेर काम भएको छ। '

हामीले निर्धारण गरेको करउपर चित्त नबुझेमा न्यायिक निकायमा जान पाउने करदाताको अधिकार हो। तर, त्यस्ता मुद्दा फर्छ्यौट चाँडो हुँदा त्यसले बक्यौता असुली गर्न पनि सहज हुन्छ।

कर बक्यौता र मुद्दा मामिलामा गएर अपिलमा रहेकामध्ये आयकरसँग सम्बन्धित बढी छन्। प्रतिवेदनअनुसार एक लाख ९६ हजार चार सय ६३ करदाताबाट एक खर्ब ८६ अर्ब ७८ करोड रूपैयाँ आयकर उठ्न बाँकी छ। आयकरतर्फ सातसय १८ करदाता प्रशासकीय पुनरावलोकनमा जाँदा एक खर्ब ११ अर्ब ६५ करोड रूपैयाँ आयकरबाट राज्य वञ्चित भएको छ।

मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ एक लाख २० हजार आठ सय ३२ करदाताबाट ५९ अर्ब ९० करोड रूपैयाँ असुली हुन बाँकी छ। अन्तःशुल्क तीन सय ७४ करदाताबाट चार अर्ब ३१ करोड रूपैयाँ उठाउन बाँकी छ। अन्य एक हजार सात सय १२ करदाताले  तीन अर्ब चार करोड रूपैयाँ राज्य कोषमा दाखिला गरेका छैनन्।

बक्यौता कर संकलनमा यसरी अवरोध हुँदा सरकारको राजस्व संकलनको लक्ष्य प्रभावित भएको छ। आर्थिक वर्ष २०८०/८१देखि चालु आर्थिक वर्ष का लागि एक हजार सातसय ४२ वटा प्रशासनिक पुनरावलोकनका निम्ति दर्ता हुँदा राज्य कोषमा रकम अपर्याप्तताको चाप बढेको छ। 

आर्थिक वर्ष २०८०/८१ मा ६ खर्ब ७७ अर्ब ७३ करोड रूपैयाँ कर असुली गर्ने लक्ष्य निर्धारण भएकामा पाँच खर्ब ३३ अर्ब तीन करोड रूपैयाँ मात्र उठेको थियो।

आव २०७९/८० देखि जिम्मेवारी सरेका र आव २०८०/८१ मा दर्ता भएका  जम्मा दुई हजार दुई सय ४४ निवेदनमध्ये गत आवमा जम्मा पाँच सय दुई वटा फर्छ्यौट भएका छन्। एक हजार सात सय ४२ निवेदन आव २०८१/८२ को लागि सारिएका छन्।

गत आर्थिक वर्षसम्ममा आन्तरिक राजस्व विभाग र अन्तर्गतका कार्यालयहरूको २३ अर्ब ५० करोड रूपैयाँ भन्दा बढी बेरुजु थपिएको छ। उक्त आवको प्रारम्भमा कुल बेरुजु रकम ७६ अर्ब एक करोड ४२ लाख रूपैयाँ रहेकामा आवको अन्त्यमा त्यो बढेर ९९ अर्ब ५७ करोड ७८ लाख ८४ हजार रूपैयाँ पुगेको छ। रासस


प्रकाशित : मंगलबार, मंसिर ४ २०८११५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend