बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

६ अर्ब रुपैयाँको लगानीमा दरबारमार्गमा बन्दैछ २५ तले अन्नपूर्ण स्क्वायर

अध्यक्ष गुरूङ भन्छन् - सुन्दर नेपालको सुन्दरताको प्रतीक हुनेछ

सोमबार, मंसिर ३ २०८१
६ अर्ब रुपैयाँको लगानीमा दरबारमार्गमा बन्दैछ २५ तले अन्नपूर्ण स्क्वायर

२०८५ बैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ। अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ। जहाँ होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठाको अपार्टमेन्ट हुनेछ। भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ।

काठमाडौं- दरबारमार्गमा अन्नपूर्ण स्क्वायर निर्माण सुरु भएको छ। यसअघि होटल अन्नपूर्ण रहेको स्थानमा भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा 'अन्नपूर्ण स्क्वायर' निर्माण थालेको हो।

सोमबार एक विशेष समारोहका बीच भूमि पूजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा अन्नपूर्ण स्क्वायरको निर्माण थालिएको बताए।

भारतको आर्किटेक्चर कम्पनीले यसको डिजाइन गरेको छ। दुई चरणमा काम सम्पन्न गर्ने योजना बनाएका गुरुङले बताए।

२०८५ बैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ। अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ। जहाँ होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठाको अपार्टमेन्ट हुनेछ। भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ।

कम्तिमा पनि ६ अर्ब रूपैयाँको लगानीमा निर्माण थालिएको होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ। 'सुन्दर नेपालको सुन्दरताको प्रतीक निर्माण गर्ने लक्ष्य राखेर काम अघि बढाएका छौँ,' भाटभटेनी सुपरमार्केटका अध्यक्षसमेत रहेका गुरूङले भने, '२०८५ बैशाख १ गतेबाट होटल सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

'अहिले पुरानो संरचना भत्काइरहेका छौँ। नगरपालिकाले जति छिटो अनुमति दिन्छ हामीले त्यति नै छिटो निर्माण पनि थाल्नेछौँ' उनले भने। साढे तीन सय कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गर्न लागिएको भए पनि मूल्य भने ‘रिजनेवल’ हुने उनले बताए।

होटल अलग्गै र आर्केड अलग्गै निर्माण हुनेछ। साढे तीन सय कोठासहितको होटल निर्माण हुन्छ। बैंक्वेट हल २५ सय, २ हजार र १५ सय क्षमताका तीनवटा हुनेछ। आर्केड डेढ वर्षमा र होटल साढे दुई वर्षमा निर्माण सकिने पनि गुरुङले बताए।

'नेपालमा पनि केही हुन सक्छ भन्ने सन्देश जाओस् भनेर निर्माण थालेका हौँ,' उनले भने, 'तीनवटा समूह मिलेर निर्माण थालेका हौँ। व्यवस्थापन आईटीसीको वेलकम ब्रान्डलाई दिएका छौँ। सबै व्यवस्थापन उहाँहरुले हेर्नुहुनेछ।' 

'हाम्रा (भाटभटेनी) दुईवटा लक्ष्य छन्, रोजगारी सिर्जना गर्दै जाने र राज्य कोषमा अत्यधिक भन्दा अत्यधिक कर तिर्दै जाने। त्यसपछि मात्रै मुलुक समृद्ध बन्ने छ', उनले भने 'सबै व्यवसायी दत्तचित्त भएर लागे भने सम्भव पनि छ, देश बनेन भने हामी बन्न सक्दैनौँ। देश सम्पन्न भएन भने हामी सम्पन्न हुँदैनौँ। देश सम्पन्न हुनका लागि राजश्व बढ्नैपर्छ।'


प्रकाशित : सोमबार, मंसिर ३ २०८११४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend