बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वीरगञ्जमा निरन्तर थुप्रिरहेको छ युरिया मल, भण्डारण गर्न गोदामकै अभाव, गहुँको सिजनमा सहज हुने

शुक्रबार, कात्तिक ३० २०८१
वीरगञ्जमा निरन्तर थुप्रिरहेको छ युरिया मल, भण्डारण गर्न गोदामकै अभाव, गहुँको सिजनमा सहज हुने

हाल रहेको मौज्दात र भित्रिरहेको मलसमेत गरी यसवर्ष गहुँ बाली सिजनमा युरिया मलको अभाव हुने सम्भावना नरहेको कृषि सामग्री कम्पनीको वीरगञ्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले दाबी गरे।

पर्सा- तीन सातादेखि निरन्तर युरिया मल भित्रिएपछि कृषि सामग्री कम्पनीको वीरगञ्जका गोदाम मलले भरिएका छन्। पछिल्लो समय चाडपर्वको बेला कार्यालय बन्द रहेको, मलको माग नरहेको तथा मधेश प्रदेश सरकारको कृषि मन्त्रालयले जिल्लागत रुपमा मलको कोटा निर्धारण नगर्दा मलको परिचालनको काम ठप्प भएपछि युरिया मल थुप्रिएको हो। 

हाल कम्पनीको वीरगञ्जस्थित कार्यालयमा रहेको गोदाम, भुटनदेवी गोदाम, भाडामा लिएको नेशनल ट्रेडिङ र टियारा मोटर्सको गोदाम पनि भरिएकाले हाल भित्रिरहेको युरिया मल भण्डारण गर्न नयाँ भाडाको गोदामको खोजी भइरहेको कृषि सामग्री कम्पनीको वीरगञ्ज प्रादेशिक कार्यालयका प्रमुख दुर्गाप्रसाद पाण्डेले जानकारी दिए। 

पछिल्लो समय दुबईस्थित सन इन्टरनेशनल कम्पनी आपूर्तिकर्ता  कन्साइन्मेन्टको युरिया मल वीरगञ्ज नाका हुँदै भित्रिरहेको छ। गत आइतबार बिहान यो कन्साइन्मेन्टको अन्तिम लटको मल बोकेर एउटा रेल्वे र्‍याक वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइपुगेको छ। 

कुल ३० हजार टन युरिया मलमध्ये वीरगञ्ज र भैरहवा प्रादेशिक कार्यालयको मल यो नाकाबाट भित्रिएको हो। आपूर्तिकर्ता सन इन्टरनेशनलले ब्रुनाईबाट खरिद गरी उक्त मल वीरगञ्ज ल्याइपुर्‍याएको हो।

समुद्री मार्गबाट कोलकाता बन्दरगाहसम्म ल्याइएको उक्त मल कोलकाताबाट सिधै वीरगञ्ज ल्याइएको प्रादेशिक कार्यालयका प्रमुख पाण्डेले जानकारी दिए। कुल ३० हजार टनमध्ये ११ हजार ८ सय वीरगञ्ज, ९ हजार ५ सय भैरहवा र बाँकी मल विराटनगर प्रादेशिक कार्यालयले पाउने बताइएको छ।

भैरहवाको सबै मल वीरगञ्जबाट ढुवानी गरी लगिँदै छ भने विराटनगरको सबै मल कोलकाता बन्दरगाहबाट सोझै विराटनर पुग्दै छ। 

वीरगञ्ज प्रादेशिक कार्यालयसँग मात्रै हाल १६ हजार टन युरिया, ८ हजार टन डीएपी र १ हजार ३ सय ६२ टन पोटास मल मौज्दात रहेको छ। मधेश प्रदेशभर गरी कम्पनीको २४ हजार ८ सय ५० टन युरिया, १३ हजार ५ सय ५५ टन डीएपी र एक हजार ५ सय ४० टन पोटास मल मौज्दात रहेको छ। 

‘हाल धान बाली सिजन सकिएको र किसानले गहुँ बाली नलगाइसकेकाले पनि युरिया मलको माग छैन,’ उनले भने, ‘अब केही दिनपछि युरिया मलको माग हुने भएकाले पनि तत्काललाई युरिया मल मौज्दात बसेको हो।’

krishi samagri birgunj (1).jpg

सन् इन्टरनेशनलले आपूर्ति गरेकोमध्ये ५ हजार ५ सय टन युरिया मल कम्पनी वीरगञ्ज प्रादेशिक कार्यालयले भित्र्याइसके पनि वीरगञ्ज कार्यालयले पाउने ११ हजार ८ सय टन युरिया मल पूर्णरुपले गोदाममा मौज्दात गर्न हाल कम्पनीको एउटा पनि गोदाम खाली नरहेकाले नयाँ गोदाम भाडामा लिने प्रयास भइरहेको पाण्डेले जानकारी दिए।  

साबिकमा भण्डारण गरिएका डीएपी मल माथिबाट युरिया र युरिया मल माथि डीएपी मल राख्न नमिल्ने भएकाले पनि मल भण्डारणको व्यवस्थापन कार्य अन्य वस्तुजस्तो सहज नहुने उनले बताए।

हाल रहेको मौज्दात र भित्रिरहेको मलसमेत गरी यसवर्ष गहुँ बाली सिजनमा युरिया मलको अभाव हुने सम्भावना नरहेको पाण्डेले दाबी गरे। कृषि सामग्री कम्पनी वीरगञ्ज प्रादेशिक कार्यालयले मधेश प्रदेशसँगै बागमती र गण्डकी प्रदेशका समेत केही जिल्लामा मल परिचालन गर्ने गरेको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक ३० २०८११७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend