आइतबार, मंसिर १६ गते २०८१    
images
images

ईभी उत्पादकले दक्षिण र दक्षिणपूर्वी एसियामा २० अर्ब डलर लगानी गर्ने

images
शनिबार, कात्तिक २४ २०८१
images
images
ईभी उत्पादकले दक्षिण र दक्षिणपूर्वी एसियामा २० अर्ब डलर लगानी गर्ने

दक्षिण र दक्षिणपूर्वी एसियामा सवारी उत्पादकहरुले विद्युतीय कार उत्पादनका लागि २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने अनुमान गरिएको हो। यो लगानी अबको दुई तीन वर्षभित्रै हुनेछ।

images
images

काठमाडौं- नीतिगत सहजता र उत्पादन लाइनअप बढ्दै जाँदा २०२४ देखि ०२६ सम्ममा दक्षिण र दक्षिणपूर्वी एसियामा विद्युतीय कारको बजारमा वार्षिक रुपमा २० प्रतिशतले बढ्ने अनुमान गरिएको छ। हालै सार्वजनिक भएको एक अध्ययनले यस्तो देखाएको हो। 

images
images
images

यो क्षेत्रका सरकारहरुले विद्युतीय सवारीका लागि अवलम्बन गर्ने नीति नरम रहेकाले विद्युतीय सवारी उत्पादनमा हुने लगानी उल्लेख्य रुपमा बढ्नेसमेत अनुमान गरिएको छ। एसएन्डपी ग्लोबल रेटिङसले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण र दक्षिणपूर्वी एसियामा सवारी उत्पादकहरुले विद्युतीय कार उत्पादनका लागि २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने अनुमान गरिएको हो। यो लगानी अबको दुई तीन वर्षभित्रै हुने उक्त प्रतिवेदनमा उल्लेख छ। 

images

विद्युतीय सवारी बजारमा चिनियाँ कार उत्पादकहरु आफ्नो क्षमता बढाउन र नयाँ प्लान्ट स्थापना गर्न लगानी गर्ने छन्। आफ्नो व्यवसायिक जोखिमभन्दा त्यसबाट सृजना हुने व्यवसायिक अवसर धेरै भएकाले चिनियाँ कार उत्पादकहरुले लगानी बढाउने सो प्रतिवेदनमा भनिएको छ। 

images

चिनियाँ ईभी उत्पादकहरुले लगानी बढाइ रहँदा यो क्षेत्रमा जापानी कार उत्पादकहरुले आफ्नो बजार हिस्सा गुमाउँदै गइरहेको हुनेछन्। टोयोटा अहिले पनि इन्टरनल कम्बस्चन इन्जिन र हाइब्रिड कार उत्पादनमै आफूलाई स्थिर राखिरहेको छ। आगामी ३ देखि ५ वर्ष दक्षिण र दक्षिणपूर्वी एसियामा बिक्रीका आधारमा टोयोटा नै अगाडि हुने अनुमान पनि सो प्रतिवेदनमा औँल्याइएको छ। 

दक्षिण र दक्षिणपूर्वी एसियाली बजारका केही महत्वपूर्ण स्थानहरुमा चिनियाँ विद्युतीय कार उत्पादकहरुले आफ्नो उपस्थिति मजबुत बनाउँदै लानेछन्। यो क्षेत्रमा पहिलोपटक कार किन्नेहरुको संख्या बढ्दै गइरहेकाले उनीहरुलाई लक्षित गरेर कार बनाइ बिक्री गर्ने योजनामा चिनियाँ ईभी उत्पादकहरु केन्द्रित हुने प्रक्षेपण गरिएको छ। जसले पुराना र स्थापित कार उत्पादकलाई भने चुनौती थप्नेछ। 

उक्त प्रतिवेदनअनुसार कोरियाली कार उत्पादकहरुले भने इन्डोनेसियामा रणनीतिक साझेदारी गर्दै विद्युतीय कार उत्पादन प्लान्टहरु बनाउने तयारी गरिरहेका छन्। यो विषयलाई प्रमाणित गर्नेगरी एलजी इनर्जी सोलुसन लिमिटेडमार्फत इन्डोनेसियामा ब्याट्री सेल उत्पादन गर्ने घोषणा गरेर कामसमेत अघि बढिसकेको छ।

कोरियाली कार उत्पादकहरुले इन्डोनेसियामा वृहत ईभी इकोसिस्टम बनाउने गरि काम गरिरहेका छन्। यहाँको इकोसिस्टममार्फत दक्षिण र दक्षिणपूर्वी एसियाली बजारलाई उनीहरुले केन्द्रित गरेका हुन्। 

भारतमा बढ्दो ईभी बजार

भारतीय ईभी बजार आक्रामक हिसाबले रुपान्तरित हुँदै गइरहेको छ। ईभी रुपान्तरणमा भारतीय सवारी उत्पादक टाटा मोटर्सले यसको नेतृत्व गरिरहेको छ, जहाँ मारुती सुजुकी, महिन्द्रा, हुन्डाई, कियालगायत पनि ईभी विस्तारमा आक्रामक देखिएको उक्त प्रतिवेदनमा छ। विश्वको तेस्रो ठूलो कार बजार भारतमा टाटा मोटर्सले विद्युतीय कार बिक्रीमा महत्वाकांक्षी लक्ष्य लिएको छ। २०३० सम्ममा भारतीय प्यासेन्जर कार बजारमा टाटाले ईभीमा आफ्नो बजार हिस्सा १८ देखि २० प्रतिशत हुने प्रक्षेपण गरेको छ।  

टाटा मोटर्सले उक्त बजार हिस्सा बनाउन भारतमा ठूलो लगानीसमेत गर्ने बताइसकेको छ। हालै टाटा मोटर्सले तामिलनाडूमा नयाँ विद्युतीय कार प्लान्ट बनाउन १ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरिसकेको छ। त्यस्तैगरी टाटा मोटर्सको माउ कम्पनी टाटा सन्सले गुजरातमा लिथियम आयोन ब्याट्री उत्पादन प्लान्ट बनाउने लगानी गर्ने बताइसकेको छ। सुरुवाती चरणमा उक्त ब्याट्री उत्पादन प्लान्ट २० गिगावाट आवरको हुने र यो स्थानीय ईभी सप्लाइ चेन पूर्वाधारको रुपमा विकास गरिने टाटाले जनाएको छ। 

दक्षिण र दक्षिणपूर्वी एसियाली बजार विश्व विद्युतीय सवारी उत्पादकका लागि परीक्षण मैदान र बढ्दो बजार दुवैका लागि अध्ययनको अवसर पनि हुने सो प्रतिवेदनमा भनिएको छ। 

आगामी दिन

दक्षिण र दक्षिणपूर्वी एसिया विद्युतीय सवारीमा क्रान्ति नै आइरहेको बजार हो। त्यसैले यो क्षेत्रमा लगानी गर्ने कार उत्पादकहरुले वित्तीय जोखिम कम गर्न स्थानीय साझेदारहरु अनुबन्धित गरिरहेको एसएन्डपी ग्लोबल रेटिङसको प्रतिवेदनमा उल्लेख छ। 

ईभीले स्थायित्व आर्जन गरेमा दक्षिण र दक्षिणपूर्वी एसिया भविष्यको ईभी हवका रुपमा स्थापित हुने निश्चितप्रायः छ। यो क्षेत्रमा विद्युतीय सवारी उत्पादनमा दुरगामी प्रतिस्पर्धात्मक चुनौती भने बढ्ने छ। 

विश्व अटोमोबाइल उद्योग ईभीतर्फको संक्रमणकालीन समयबाट गुज्रिरहेको छ। यो अवस्थामा सम्भावित विजेता र बजार गुमाउनेहरुको छनोट बजारले नै निक्र्यौल गर्नेछ। 


प्रकाशित : शनिबार, कात्तिक २४ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend