बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

बिहीबार , कात्तिक १५ २०८१
अपर राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा

सन् २०२५ को जुन महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको र आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ।

काठमाडौं- रघुगंगा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ।  रघुगंगा गाउँपालिका-७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ।

तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको अपर राहुघाटका इन्जिनियर नरोत्तम कार्कीले विद्युत्गृह, बाँध, सुरुङ र प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको बताए। 

सन् २०२५ को जुन महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको र आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको उनले जानकारी दिए। 

तुँदी पावरले राहुघाटमै अर्को ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजना पनि निर्माण गरिरहेको छ। रघुगंगा गाउँपालिका-८ को बन्दीमा बाँध, वडा नम्बर-७ को चिमखोलामा विद्युत्गृह र पाँच हजार तीन सय २८ मिटर लामो सुरुङ निर्माण पूरा भएको छ। 

मङ्गले राहुघाटको विद्युत्गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्ने गरी अपर राहुघाटको बाँध निर्माण गरिएको तुँदी पावरका इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए। दुईवटै आयोजना निर्माणमा १३ अर्ब भन्दा बढी लगानी हुने अनुमान गरिएको छ। 

अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगंगा-३ अम्बाङस्थित सवस्टेसनदेखि चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ। 

यसैगरी, राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन्।

राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक १५ २०८१०७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend