बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एनसेल फाउन्डेसनसँगको सहकार्यमा भूमि लोक महोत्सव सम्पन्न

बुधबार, कात्तिक १४ २०८१
एनसेल फाउन्डेसनसँगको सहकार्यमा भूमि लोक महोत्सव सम्पन्न

दशैँका बेला मिथिला-मधेस क्षेत्रमा गाइने झिझिया नृत्यमा स्थानीय हिमाली स्कुलका विद्यार्थीहरूले निकै नै मनमोहक प्रस्तुति गरेका थिए।

काठमाडौं- भूमि फाउण्डेशनले एनसेल फाउन्डेसनको प्रमुख सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा मिथिला भेगका विविध लोकसंगीत संस्कृतिको संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यसहित आयोजना गरेको भूमि लोक उत्सव सफलतापूर्वक सम्पन्न भएको छ। 

शनिबार सम्पन्न यस महोत्सवमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहेको थियो भने स्थानीय, देशीविदेशी अतिथिहरू एवं हजारौँ जनकपुरवासीहरूको सहभागिता रहेको एनसेलले जनाएको छ।

मधेस प्रदेशबाट झन्डै लोप हुन लागेका लोक संगीत तथा बाजाहरुको प्रस्तुतिदेखि भारतका विख्यात गायिका डा. रञ्जना झाको समूहको शास्त्रीय मैथिली लोक संगीतसमेत समेटिएको थियो। यस विविधताले भरिपूर्ण कार्यक्रमले सबैखाले दर्शकहरुको मन जित्न सफल भएको एनसेलको दाबी छ।

भूमि महोत्सवको यस वर्षको संस्करणको मुख्य प्रायोजक एनसेल फाउन्डेसन रहेको थियो। व्यावसायिक सामाजिक जिम्मेवारी पहलअन्तर्गत नेपाली कला र सांस्कृतिक सम्पदा संरक्षण र प्रवर्द्धन गर्न एनसेलले यो हातेमालो गरेको थियो।

यस कार्यक्रममा मिथिला संस्कृतिका धरोहरका रूपमा रहेका तर हाल लोप हुने जोखिममा रहेका पमरिया, रसनचौकी र झरी-झरी नाचलगायतका प्रस्तुतिहरु समेटिएको थियो।

bhumi lok mahotsab - ncell1.jpeg

राष्ट्रियस्तरमा ख्याति कमाएका कलाकारहरू सुशान्त घिमिरे र राग, झुमा लिम्बु, फ्याटकाउली, आशिष एण्ड अभिषेक, रूपेश झा आदिले सांगीतिक प्रस्तुति गरेको यस कार्यक्रममा काठमाडौंका नृत्य परम्पराको झल्कोसहित सुदन मुनिकारले भैरव काली नाच तथा सुबिमा श्रेष्ठको समूहले कत्थक नाच पनि प्रस्तुत गरेका थिए। 

दशैँका बेला मिथिला-मधेस क्षेत्रमा गाइने झिझिया नृत्यमा स्थानीय हिमाली स्कुलका विद्यार्थीहरूले निकै नै मनमोहक प्रस्तुति गरेका थिए। हालै राष्ट्रिय टेलिभिजनको एउटा प्रतिष्ठित कार्यक्रममा आफ्नो विशेष प्रयोगात्मक प्रस्तुतिले ख्याति कमाएका स्थानीय युवा र्‍यापर सन्तोष झाका मैथिली र्‍यापले युवा पुस्तामाझ थप उर्जा तथा उत्साह बढाएको थियो। 


प्रकाशित : बुधबार, कात्तिक १४ २०८१११:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend