बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कतारमा अलपत्र श्रमिकको उद्धार

बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, भदौ २६ २०७८
कतारमा अलपत्र श्रमिकको उद्धार

हवाई टिकट काट्ने पैसा नहुँदा कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घको पहलमा उद्धार गरिएको छ।

काठमाडौं- हवाई टिकट काट्ने पैसा नहुँदा कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घको पहलमा उद्धार गरिएको छ।

कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहेका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका-३ का विकास शाही, काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार यादवलाई सङ्घले हवाई टिकटको प्रबन्ध गरी नेपाल पठाएको हो।

सङ्घका प्रवक्ता सन्तोष क्षेत्रीका अनुसार शाही र यादव नेपाल एयरलाइन्सको विमानमार्फत शुक्रबार काठमाडौं आइपुगेका हुन्। लामा र पौडेल भने भदौ १ गते नेपाल फर्किएका थिए। 'कानुनी प्रबन्ध दूतावासले मिलाउने गर्छ, सङ्घले हवाई टिकट व्यवस्थापन गरेर उहाँलाई घर पठाएको हो', प्रवक्ता क्षेत्रीले टेलिफोनमा बताए।

छ महिनाअघि कतार गएका शाहीले आफू स्वास्थ्यका कारण काम छाडेर नेपाल फर्कनुपरेको बताए। 'सुरुका दुई महिना काम गरेँ, त्यसपछि बिरामी परेँ”, उनले भने, 'कम्पनीले पठाउन नमानेपछि दूतावास र एनआरएनएको सहयोगमा नेपाल आएँ।' सङ्कटमा सघाएर ‘एनआरएन’ले नबिर्सने गुन लगाएको उनको भनाइ छ। काठमाडौं ओर्लेपछि आफू जन्मघर बाजुरा हिँडेको शाहीले सुनाए। 

कोभिड–१९ महामारी फैलिएयता थुप्रै अलपत्र श्रमिकलाई उद्धार र सहायता गरिएको सङ्घले जनाएको छ। नेपाली दूतावाससँगको समन्वयमा उद्धार कार्य हुने गरेको प्रवक्ता क्षेत्रीले बताए। महामारीका बेला विदेशमा रोजगारी गुमाउने नेपाली श्रमिकको सङ्ख्या ठूलो छ।

सङ्घको राष्ट्रिय समन्वय परिषद् कतारले उद्धार समिति नै बनाएर त्यहाँ रहेका श्रमिक नेपालीको दुःखमा साथ दिँदै आएको छ। 'समस्यामा परेका जो–कोही नेपालीलाई सङ्घले सहयोग गर्छ”, प्रवक्ता क्षेत्रीले भने, 'जस्तोसुकै अप्ठ्यारो पर्दा सङ्घमा खबर गर्नुस् भनेका छौँ।' रासस


प्रकाशित : शनिबार, भदौ २६ २०७८०८:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend