बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अस्पताल व्यवसायमा आक्रामक आरएस भण्डारी विद्युतीय सवारीमार्फत ‘अटोमोबाइल ग्ल्यामर’मा प्रवेश

बिहीबार , कात्तिक १ २०८१
अस्पताल व्यवसायमा आक्रामक आरएस भण्डारी विद्युतीय सवारीमार्फत ‘अटोमोबाइल ग्ल्यामर’मा प्रवेश

अस्पताल व्यवसायमा सफल हुँदै त्यसलाई विस्तारसमेत गरिरहेका आरएस भण्डारीले अटोमोबाइलको ग्ल्यामरमा व्यापारिक ग्ल्यामर भने बढाउन सक्छन् वा सक्दैनन् त्यो भने हेर्न बाँकी नै छ।

काठमाडौं- एउटा व्यवसायमा सफलता मिलेपछि व्यवसायीहरू स्वभाविक रुपमा अर्को व्यवसायतर्फ आकर्षित हुन्छन्। व्यवसायलाई ‘डाइभर्सिफाइ’ बनाउने चाहना धेरै व्यवसायीहरूको हुन्छ नै। आफूले गरिरहेको व्यवसायलाई सहयोग पुग्नेगरी व्यवसाय विस्तार हुनु सामान्य हो। 

नेपालमा एउटा व्यवसायमा सफल भएसँगै कर्पोरेटतर्फ उन्मुख हुने र त्यसका लागि एउटा अटोमोबाइल ब्रान्ड आफ्नो व्यावसायिक पोर्टफोलियोमा होस् भन्ने हरेक व्यवसायीहरूको चाहाना हुने गरेको छ। मोटरसाइकल/स्कुटर, कार, ठूला गाडी अथवा हेभी इक्युपमेन्ट नै किन नहोस् त्यसको आधिकारिक बिक्रेता बन्ने चाहना हरेक व्यवसायीक घराना र घराना बन्ने बाटोमा रहेकाको पाइन्छ। 

पछिल्लो समय नेपाली अटोमोबाइल बजारको परिदृष्यमा केही बदलाब देखिएको छ। विगतमा आईसी इन्जिन सवारीको दबदबा रहेको अटोमोबाइल बजारमा अहिले विद्युतीयले पाइलो लम्क्याउँदा आईसीको अड्किएको छ। यो परिदृष्य अहिलेकै लम्काइमा रहन्छ वा अड्किन्छ त्यो भने हेर्न बाँकी नै छ। उपभोक्ताको रोजाइ र सवारीको विशेषताले विद्युतीय सवारीको वेग रोकिने छाँट छैन। 

सोहीकारण पुराना घराना पनि आफूले बिक्री गर्दै आएको ब्रान्डले विद्युतीय सवारी तत्काललाई उपलब्ध नगराएकाले चीनमा नयाँ ब्रान्ड खोजेर ल्याएको र ल्याउने क्रममा छन्। अटोमोबाइल बजारका नवप्रवेशी ‘घराना’हरू पनि विद्युतीय सवारी ब्रान्ड नै ल्याउन लागिपरेका छन्, त्यो पनि चीनबाटै। अन्य देशबाट तत्काल नयाँ विद्युतीय सवारी ब्रान्ड ल्याउन सम्भव छैन, किन कि चीनमा जति सहज अन्य देशमा छैन। 

यस्तै मेसोमा अस्पताल व्यावसायमा सफल मानिएका ह्याम्स अस्पतालका सञ्चालक आरएस भण्डारी पनि चिनियाँ विद्युतीय सवारी ब्रान्ड लिएर ‘अटोमोबाइल ग्ल्यामर’मा प्रवेश गरेका छन्। अस्पताल व्यवसायमा सफल हुँदै त्यसलाई विस्तारसमेत गरिरहेका आरएस भण्डारीले अटोमोबाइलको ग्ल्यामरमा व्यापारिक ग्ल्यामर भने बढाउन सक्छन् वा सक्दैनन् त्यो भने हेर्न बाँकी नै छ। 

भण्डारीले अटोमोबाइल डिभिजन सम्हाल्नका लागि अनुभवि टिमसमेत खडा गरिसकेका छन्। प्यासेन्जर कारदेखि विद्युतीय पिकअप हुँदै माइक्रो भ्यानसम्म आयात गर्नेगरी उत्पादक कम्पनीसँग सम्झौता भइसकेको छ। 

आरएस भण्डारीले ह्याम्सकै नाम मिल्नेगरी सवारी बिक्री गर्ने कम्पनीको नाम राखेका छन्। हाइली एडभान्स्ड मोटर्स प्रालिको सर्टफम ह्याम्स नै हुनेगरी नयाँ कम्पनी बनाएका हुन्। 

हाइली एडभान्स्ड मोटर्स

यो कम्पनीले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनीले उत्पादन गरेका प्यासेन्जर कार, पिकअप र माइक्रोबस तथा भ्यान ल्याउनेगरी सम्झौता गरिसकेको छ। 

कावे अटो ब्रान्डका विद्युतीय पिकअप र माइक्रोबस ल्याउनका लागि हाइली एडभान्स्ड मोटर्स प्रालिले प्रक्रिया अघि बढाइसकेको छ। कम्पनीले चीनको जियाङसु ह्वाजी अटो इन्डटस्ट्री कम्पनी लिमिटेडले उत्पादन गर्ने कावे ब्रान्डका विद्युतीय डबल क्याप पिकअप (मोडल : ह्वाजी के १५० ईभी) र विद्युतीय मिनिबस (१४ र १६ सिट) ल्याउने तय भएको छ। 

केही ब्रान्डको विद्युतीय पिकअप नेपाली बजारमा आइसकेको छ भने कावे ब्रान्डको आउन लागेको हो। पिकअप मुख्यगरी अफरोड बाटोमा चल्ने भएकाले यसको बजार कसरी अघि बढ्छ त्यो हेर्न बाँकी नै छ। 

पिकअपमा मोटर तथा ब्याट्री ठूलै हुन्छ। सोही कारणले तुलनात्कम रुपमा महँगो हुने अनुमान गरिएको छ। कावेका विद्युतीय पिकअप र राडारको पिकअपबीच प्रतिनस्पर्धा हुने देखिएको छ।

यता चीनबाट आउने विद्युतीय माइक्रोबसमा पनि उल्लेख्य रुपमा प्रतिस्पर्धा बढिरहेको छ। हाल नेपालमा एक दर्जनभन्दा बढी विद्युतीय भ्यान/माइक्रोबस ब्रान्ड र दुई दर्जन मोडल उपलब्ध भइरहेका छन्। 

११ सिट क्षमतादेखि २५ सिट क्षमतासम्मका विद्युतीय माइक्रोबस तथा मिनिबस नेपाली बजारमा उपलब्ध भइसकेका छन्। कावे ब्रान्डका १४ र १६ सिट क्षमताका विद्युतीय माइक्रोबस तथा मिनिबस सेगमेन्टमा पनि प्रतिस्पर्धा बढ्न थालेको छ। 

अटोमोबाइलमा प्रवेश गर्दागर्दै सीजी मोटर्सबाट तान्यो ब्रान्ड

करिब दुई वर्षअघि चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले ह्वाजी ब्रान्डको विद्युतीय कार नेपाल भित्त्र्याएको थियो। सोही ब्रान्ड हालै सीजी मोटर्सबाट खोसिएको छ। 

चीनबाट विभिन्न ब्रान्ड ल्याएर थुपारेको सीजी मोटर्सको पर्फमेन्स न्यून हुन थालेपछि उत्पादक कम्पनीहरूले विकल्प खोज्न थालेका हुन्। सीजी मोटर्सले चीनको स्टार्टअप ह्वाजी अटोमोबाइलसँग २०२२ को अन्त्यतिर नेपालका लागि आधिकारिक बिक्रेताको सम्झौता गरेको थियो। जियाङसु ह्वाजी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले सीजी मोटर्सको पर्फमेन्स चित्तबुझ्दो नभएको पाएपछि नेपालमा नयाँ आधिकारिक बिक्रेता नियुक्त गरेको हो। 

जियाङसु ह्वाजी अटो इन्डस्ट्री कम्पनी लिमिटेडले सीजी मोटर्ससँगको सम्झौता भंग गरेर नयाँ आधिकारिक बिक्रेताको रुपमा हाइली एडभान्स्ड मोटर्स प्रालिलाई नियुक्त गरेको हो। योसँगै अब ह्वाजी ब्रान्डका विद्युतीय कार हाइली एडभान्स्ड मोटर्सले बिक्री गर्ने छ। सम्झौता गरेसँगै कम्पनीले पहिलो चरणमा दुई वटा ह्वाजीका कार नेपाली बजारमा ल्याइसकेको छ। सीजी मोटर्सले केही महिनाअघि ल्याएको मूल्यभन्दा २ हजार डलर कम मूल्यमा हाइली एडभान्स्ड मोटर्सले ह्वाजी कार आयात गरेको छ। 

उक्त मिनी ईभी १८.४३ किलोवाट आवरको लिभियम आयोन ब्याट्री प्याकमा उपलब्ध छ। कारको ब्याट्रीले एकपटक फुल चार्जमा २ सय किलोमिटरसम्म रेन्ज दिने दाबी कम्पनीले गरेको छ। सीजी मोटर्सले ह्वाजी ब्रान्डमा ल्याएको यही कार हाइली एडभान्स्ड मोटर्सले आगामी दिनमा परिमार्जनसहित कावे ब्रान्डमा ल्याउने छ। 

ह्याम्स अस्पतालको विस्तार 

हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) अस्पतालका अध्यक्ष आरएस भण्डारीले हालै भक्तपुरको गठ्ठाघरमा सञ्चालित नागरिक अस्पतालको ४३ प्रतिशत सेयर खरिद गरेका हुन्। 

१० करोड रुपैयाँ हाराहारीमा उक्त सेयर किनेका भण्डारीले अब दुई अर्ब रुपैयाँभन्दा बढी लगानी गरेर नयाँ संरचनामा अस्पतालन बनाउने योजना अघि सारेका छन्। उक्त अस्पताल पनि ह्याम्सकै नामबाट चलाउने तयारी गरिएको छ। 

अहिले नागरिक अस्पतालन भने १५ सैयाको मात्रै रहेको छ। अस्पतालको १२ रोपनी जग्गा रहेको छ। जसमध्ये ७ रोपनी जग्गामा १ लाख ५० हजार स्क्वायर फिटमा भवन संरचना तयार पारिने छ। आगामी दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको छ। अब ७० प्रतिशत बैंकबाट ऋण लिएर ३० प्रतिशत सेयर होल्डरको रकमगरी २ अर्ब रुपैयाँ थप लगानी हुनेछ। 

काठमाडौं बुद्धनगरबाट सुरु भएको ह्याम्स अस्पताल विगत केही वर्षयता भने  धुम्बाराहीमा अत्याधुनिक अस्पताल भवन बनाएर सारिएको थियो।  ह्याम्स अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ। अस्पतालले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता सेयर निष्कासनको तयारी गरेको छ। अस्पतालले प्रतिकित्ता २८८ रुपैयाँमा ११ लाख २५ हजार कित्ता प्रिमियम आईपीओ जारी गर्न स्वीकृत माग्दै बोर्डमा निवेदन दिइसकेको छ। 

ह्याम्स अस्पताललाई गत आर्थिक वर्षको असारमा प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड बनाइएको र अस्पतालले जारी पुँजीको १५ प्रतिशत आईपीओ जारी गर्ने निर्णय गरेको थियो। 

नागरिक अस्पतालको ४३ प्रतिशत सेयर ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले किने नागरिक अस्पतालको ४३ प्रतिशत सेयर ह्याम्स अस्पतालका अध्यक्ष आरएस भण्डारीले किने


प्रकाशित : बिहीबार , कात्तिक १ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend