बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चाडबाडको समयमा २ सय २७ प्रतिशतले बढ्यो जिरा आयात, भारततर्फ नै तस्करी हुने आशंका

सोमबार, असोज २८ २०८१
चाडबाडको समयमा २ सय २७ प्रतिशतले बढ्यो जिरा आयात, भारततर्फ नै तस्करी हुने आशंका

गत आर्थिक वर्षमा यो अवधिमा १५ करोड ८८ लाख ७१ हजार रुपैयाँ मूल्य बराबरको ३ लाख एक हजार ७ सय किलो जिरा मात्र आयात भएको थियो। यस वर्ष जिरा आयातमा धेरै नै वृद्धी भएको वीरगञ्ज भन्सार कार्यालयका अधिकारीहरुले बताएका छन्।

वीरगञ्ज- धार्मिक अनुष्ठानबाहेक दैनिक भान्सामा प्रयोग हुने जिरा आयातमा ठूलो मात्रामा वृद्धि भएको छ। 

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगञ्ज भन्सार नाकाबाट २ सय २७ प्रतिशतले जिरा आयातमा वृद्धि भएको वीरगञ्ज भन्सारका सूचना अधिकृत रघुलाल कर्णले जानकारी दिए। 

चालु आवको दुई महिनामा ४९ करोड ५९ लाख ४९ हजार रुपैयाँ मूल्य बराबरको १२ लाख ४१ हजार ७ सय ६२ किलो जिरा आयात भएको उनले जानकारी दिए। 

गत आर्थिक वर्षमा यो अवधिमा १५ करोड ८८ लाख ७१ हजार रुपैयाँ मूल्य बराबरको ३ लाख एक हजार ७ सय किलो जिरा मात्र आयात भएको थियो। यस वर्ष जिरा आयातमा धेरै नै वृद्धी भएको वीरगञ्ज भन्सार कार्यालयका अधिकारीहरुले बताएका छन्। 

‘एकै पटक यति ठूलो परिमाणमा किन जिरा भित्र्याइएको हो खुल्न सकेको छैन,’ ती भन्सार अधिकृतले भने, ‘व्यापारीले मालवस्तु भन्सारमा ल्याएमा रितपूर्वक भन्सार गरी भित्र्याउने अनुमति दिइन्छ।’

आयात गरिएको मालवस्तु कुन प्रयोजनको लागि नेपाल भित्र्याइएको हो भन्नेबारे खासै खोजीनीति गर्ने चलन नरहेकोले यसको आयातको कारण खुलाउन नसकिएको ती अधिकारीले बताए।

godam birgunj.jpg

यसवर्ष जिरा मुख्य वस्तु आयातको सूचीमा परेको सूचना अधिकारी कर्णको भनाइ छ। जिरा, मरिचलगायतका वस्तु तेश्रो मुलुकबाट नेपाल भित्रिने गरेको सूचना अधिकारी कर्णले जानकारी दिए। उनका अनुसार व्यापारीले जहिले पनि नाफा हेरेर मालवस्तु भित्र्याउने गर्छन्। नाफा हुने अवस्था देखिएपछि व्यापारीले ठूलो परिमाणमा मालवस्तु भित्र्याएर स्टक गर्छन् र मूल्य वृद्धि भएसँगै बजारमा पठाउने गर्छन्। यसरी मालवस्तु बजार पठाउँदा मुनाफा बढी हुने गरेको भन्सार अधिकारीहरूको भनाइ छ। 

विगतमा तेश्रो मुलुकबाट नेपालमा आयात गरिएको जिरा, मरिच भारतमा तस्करी हुने गरेको थियो। खुला सिमानाको फाइदा उठाउँदै नेपाली व्यपारीले स्थानीय प्रहरी प्रशासनलाई आर्थिक प्रलोभनमा पारी जिरा, मरिच भारतमा तस्करी गर्दै आएका थिए।

नेपालमा मागभन्दा बढी मालवस्तु आयात गरेर स्टक गर्नुको फरक उद्देश्य पनि हुन सक्छ। भारततर्फ तस्करी गर्नको लागि ठूलो परिमाणमा जिरा आयात गरेको हुनसक्ने जानकारहरूले अनुमान गरेका छन्। 

आर्थिक लेनदेनमा फरक परेमा मात्र प्रहरीले तस्करीको मालवस्तु नियन्त्रणमा लिने गर्छ। नत्र व्यवहार मिलेमा कसैले तस्करीको जानकारी पाउन सक्दैनन्। यसपाली अहिलेसम्म तस्करी भइरहेको जिरा प्रहरीले नियन्त्रणमा लिएको सूचना बाहिर आएको छैन।


प्रकाशित : सोमबार, असोज २८ २०८११०:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend