शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

दुई महिनामा ७ अर्ब ५५ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरियो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असोज २४ २०८१
दुई महिनामा ७ अर्ब ५५ करोड रुपैयाँको विद्युत् भारत निर्यात गरियो

बाढीबहिरो जानुभन्दा पहिले दैनिक रूपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेकामा हाल दैनिक डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाखको विद्युत् भारततर्फ निर्यात भएको छ।

नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त एक अर्ब दुई करोड ९२ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरेको जनाएको छ। 

प्राधिकरणले गत साउनमा तीन अर्ब ९९ करोड ५६ लाख र भदौमा तीन अर्ब ५५ करोड पाँच लाखको विद्युत् निर्यात गरेको हो। साउनमा ४९ करोड २८ लाख ६१ हजार र भदौमा ५३ करोड ६२ लाख ९४ हजार युनिट विद्युत् निर्यात भएको प्राधिकरणले जनाएको छ।

दुई महिनाको विद्युत् निर्यातको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३३ पैसा रहेको छ। साउनको प्रति युनिट औसत दर ८ रुपैयाँ ११ पैसा थियो भने भदौमा ६ रुपैयाँ ६२ पैसा रहेको छ। 

भदौको तेस्रो साता (१६-२३ गते) मा सबैभन्दा बढी ९९ करोड ५५ लाखको विद्युत् निर्यात भएको छ। सबैभन्दा कम भदौको दोस्रो हप्ता (९–१५ गते)मा ६९ करोड ८ लाखको विद्युत् निर्यात गरिएको प्राधिकरणको तथ्याङ्क छ। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाढीपहिरोका कारण सञ्चालनमा रहेका जलविद्युत केन्द्रहरू र प्रसारण लाइनमा क्षतिपुग्दा हाल विद्युत् निर्यात प्रभावित भइरहेको बताए। 'चालू आवमा करिब ३० अर्बको विद्युत् निर्यात लक्ष्य राखेका थियौँ, बाढीपहिराले जलविद्युत् केन्द्र र प्रसारण लाइनमा क्षति पुर्याउँदा विद्युत् उत्पादन नै बन्द भई लक्ष्य प्रभावित हुने देखिएको छ', उनले भने। 

प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ।

हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा २८ वटा आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न प्राधिकरणले स्वीकृति पाएको छ।

बाढीबहिरो जानुभन्दा पहिले दैनिक रूपमा नौ सय मेगावाटको हाराहारीमा विद्युत् निर्यात भइरहेकामा हाल दैनिक डेढ सय मेगावाटको हाराहारीमा मात्र निर्यात भइरहेको छ। बाढीपहिराका कारण सबैभन्दा ठूलो चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित करिब सात सय ५० मेगावाट विद्युत् उत्पादन बन्द छ। 

गत आवमा भारतबाट १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो। यही अवधिमा १७ अर्ब ६ करोडको विद्युत् निर्यात गरिएको थियो। गत आवमा आयातभन्दा १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो।


प्रकाशित : बिहीबार , असोज २४ २०८१०९:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend