बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बिलिङमा लागत बढाउने दौडधुपमा रहेका एजेन्टहरू सफल, टेलिकमको ठेक्का रद्द

मंगलबार, असोज २२ २०८१
बिलिङमा लागत बढाउने दौडधुपमा रहेका एजेन्टहरू सफल, टेलिकमको ठेक्का रद्द

अर्कोतिर टेलिकमको अहिलेको बिलिङ प्रणाली जर्जर बनाएर अर्बौं नोक्सानी गराउने संस्थाकै एजेन्टले नयाँ कम्पनी ल्याएर आवेदन हालेका थिए।

काठमाडौं- नेपाल टेलिकमको नयाँ बिलिङ खरिदका लागि भएको ठेक्का रद्द भएको छ। लागत बढाएर टेन्डर गराउने दौडधुपमा लागेका एजेन्टहरूको योजनाअनुसार नै बिलिङको ठेक्का रद्द भएको हो। 

बिलिङका लागि सम्भावित कम्पनीहरूको एजेन्सी लिएर बसेका नेपाली एजेन्टहरूले मिलेमतोमै अघोषित बहिष्कार गरेका थिए। निरन्तरको दबाब र योजनामै अन्तत: ठेक्का रद्द हुने अवस्था आएको छ। 

टेन्डरमा एउटा कम्पनीको मात्र प्रस्ताव परेपछि टेलिकमले टेन्डर रद्द गर्ने निर्णय गरेर सूचना सार्वजनिक गरेको छ। 

बिलिङजस्तो विशिष्टिकृत काममा नेपालमा निश्चित एज‍ेन्टहरूको हालिमुहाली रहेको छ। यिनिहरूले पहिला लागत घटाउन चलखेल गरेका थिए र त्यसमा कुनै हालतमा टेलिकम पछि नहट‍ेपछि अन्तत: सेटिङ गरेर एउटैमात्र कम्पनीको आवेदन परेको हो। 

अर्कोतिर टेलिकमको अहिलेको बिलिङ प्रणाली जर्जर बनाएर अर्बौँ नोक्सानी गराउने संस्थाकै एजेन्टले नयाँ कम्पनी ल्याएर आवेदन हालेका थिए। 

नेपाल टेलिकमको बिलिङलाई जर्जर बनाएर आफू लाभ लिने तर संस्थालाई बर्सेनि ३ अर्ब रुपैयाँ नोक्सानी गराउने काम एसिया इन्फोले गर्दै आएको छ। यसका मुख्य सारथी नेपालका दुईवटा कम्पनी छन्। सीएएस र डब्लूडीएनले एसिया इन्फोका सब भेन्डर हुन्। यी दुई कम्पनीले मर्मत तथा अन्य उपकरणमा एकाधिकार बनाउँदै मनपरी मूल्य तिराउँदै आएका छन्। 

अहिले फेरि नयाँ बिलिङ प्रणालीको टेन्डरमा त्यही डब्लूडीएनसँगै जोडिएका गोरख थापाले अर्को अमेरिकन कम्पनी सीएसजी ल्याएर टेन्डर हालेका छन्। यो एक्लो कम्पनीको मात्र टेन्डर परेको थियो। नेपालमा विदेशी कम्पनीका लागि भेन्डरको काम गर्ने र त्यसमा बिलिङको विशिष्टिकृत सेवाका लागि सीमित कम्पनी रहेका छन्। यसमा सीएएस र डब्लूडीएन मुख्य हुन्। 

यिनै कम्पनीलगायतका २/४ वटा अरु मिलेर अहिलेको लागत बढाउनका लागि सुरूमा चलखेल गरकेा थिए। यो सम्भव नभएपछि मिलोमतोमा एउटामात्र टेन्डर पर्‍यो। यो टेन्डर रद्द हुँदा पनि  आफ्नै व्यापार हुन नदिएपनि एसिया इन्फोकै सेवा लम्बिने हुन्छ। जताबाट पनि आफैलाई लाभ हुने भएपछि डब्लूडीएनकै प्रतिनिधिले यसमा चलखेल गरेका थिए। 

यसअघि एसिया इन्फोलाई अवैध रुपमा सुनिल पौडेलले वार्षिक मर्मतसम्भारको काम दिएका थिए। चार वर्षका लागि एकमुष्ठ काम दिएर अर्बौँ रुपैयाँ भुक्तानी दिने काम गरेका थिए। यही प्रकरणमा डीडब्लूएनका प्रतिनिधिले पौडेललाई सिंगापुरमा पैसा दिएको अख्तियारको अनुसन्धानबाट पाइएको थियो।


प्रकाशित : मंगलबार, असोज २२ २०८११०:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend