बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

दुई सातामा ३३३ अंकले बढेको सेयर बजारमा अबको ट्रेन्ड के?

शनिबार, माघ १ २०७८
दुई सातामा ३३३ अंकले बढेको सेयर बजारमा अबको ट्रेन्ड के?

काठमाडौं- पछिल्लो आइतबारदेखि बिहीबारसम्म सेयर कारोबारको एक सातामा नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको छ। त्यसअघिको साता १६७.९७ अंकले बढेको बजार दुई सातामा गरेर ३३३.२५ अंकले बढेको हो। 

गत साताको अन्तिम कारोबारको दिन बिहीबार परिसूचक ४३.२९ अंकले बढेर २६९२.४७ बिन्दुमा पुगेर रोकिएको थियो। यो साता पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार उकालो लाग्दा एक दिने भने गिरावट आएको छ। यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक १६५.२८ अंकले बढेर २८५७.७५ बिन्दुमा पुगेर रोकिएको छ।

अघिल्लो साता १६७.९७ अंकले बढेको नेप्से परिसूचक यो साता १६५.२८ अंकले बढेको हो। तर गत साताको भन्दा यो साता नेप्से परिसूचक २ अंकले घटेको छ। पछिल्लो चार महिनादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक पछिल्लो दुई सातादेखि निरन्तर रुपमा बढ्दै गएको छ। त्यसअघि केही समय बजारमा उतारचढाव देखिएको थियो। 

बिश्लेषकहरूले बजार ३२०० भन्दा माथि बताइरहँदा बजार लगातार बढिरहेको छ। बैंकमा तरलता संकट हट्न थालेसँगै सेयर बजारमा पनि उकालो यात्रा लागेको हो। विश्लेषकहरूले नयाँ बुल सुरु भएको संकेतसमेत गरेका छन्। बैंकलाई तिर्ने किस्ता र ब्याजको दबाबबीच पुस अन्तिम साता सेयर बजार लगातार उकालो लागेको थियो। बैंकमा लगानीयोग्य रकम बढ्न थालेपछि सेयर बजारमा प्रभाव परेको छ।

३२ सयबाट बजार धेरै तल झरेकोले सेयर बजार अब फेरि सोही उचाइतर्फ लागेको सेयर विश्लेषक ताराप्रसाद फुलेल बताउँछन्। ‘बजार आवश्यकभन्दा धेरै घटेको थियो, घट्ने बढ्ने स्वभाविक नै हो,’ विश्लेषक फुलेलले भने। 

सेयर विश्लेषक विष्णुप्रसाद बस्याल पनि अबको एक महिनामै बजार ३२०० अंक माथि पुग्ने दाबी गर्छन्। ‘बजारको ट्रेन्ड हेर्दा अब सबै कुराले सपोर्ट गरेकोले एक महिनामै ३२०० माथि जाने देखिन्छ,’ बस्यालले भने। बजारमा केही करेक्सन आउँदै बढ्ने भएकोले अब बजार बुलको ट्रेन्डमा पुगेकोसमेत बस्याल बताउँछन्। बजार २२०० मै टेको लागेर अगाडि बढेकोले अब पछाडि नफर्कने दाबीसमेत उनको छ। 

साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा उच्च अंकले वृद्धि भएको थियो। जुन दिन नेप्से परिसूचक परिसूचक ७३.०१ अंक बढेर २७६५.४७ बिन्दुमा पुगेको थियो। त्यस्तै ठूला कम्पनीको मूल्य मापन गर्ने सेन्सेटिभ इण्डेक्स १३.२१ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ५.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.५६ अंक बढेको थियो। आइतबार कारोबारमा आएका २३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार कित्ता सेयर ७ अर्ब १० करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

त्यस्तै साताको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचक वृद्धिमा निरन्तरता पाएको थियो। उक्त दिन नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ बिन्दुमा पुगेको थियो। सोमबारको कारोबारमा आएका २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार कित्ता सेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

मंगलबार पनि  नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ बिन्दुमा पुगेको थियो। त्यस्तै यस दिन ठूला कम्पनी मूल्य मापक सेन्सेटिभ इण्डेक्स ६.३४ अंक बढेको थियो भने फ्लोट इण्डेक्स ३.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि २.२४ अंक बढेको थियो मंगलबार कारोबारमा आएका २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार कित्ता सेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

तर बुधबार भने सातामा तीन दिनको कारोबारमा निरन्तर उकालो लागिरहेको नेप्सेमा ३०.५१ अंक घटेर २८०३.६२ बिन्दुमा झरेको थियो। त्यस्तै सेन्सेटिभ इण्डेक्स ७.०४ अंक, फ्लोट इण्डेक्स १.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१७ अंक घटेको थियो। बुधबार कारोबारमा आएका २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार कित्ता सेयर ८ अर्ब ३ करोड ३२ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। नेप्से घटे पनि बुधबारको कारोबार रकम भने ८ अर्बमाथि नाघेको थियो।

त्यस्तै साताको अन्तिम कारोबारको दिन बिहीबार भने बजार बढेको थियो। बिहीबार नेप्से परिसूचक ५४.१२ अंक बढेर २ हजार ८५७.७५ बिन्दुमा पुगेको छ। ठूला कम्पनीको मूल्य मापक सेन्सेटिभ इण्डेक्स पनि ८.९४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३४ अंकले बढेको छ। बिहीबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार कित्ता सेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।

पछिल्लो एक सातामा नेप्से परिसूचकसँगै लगानीकर्ताको सम्पतिमा पनि वृद्धि भएको छ। गतसाता २ खर्ब  ३६ अर्ब २ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पति यो साता २ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँले बढेको छ। गत बिहीबार सेयर बजारमा रहेको लगानीकर्ताको सम्पत्ति मापक बजार पूँजीकरण कुल ३८ खर्ब ३ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो। यो साता २ खर्ब  ६ अर्ब ७८ करोड रुपैयाँ सम्पति बढेर  ४० खर्ब ३७ अर्ब १२ करोड रुपैयाँ कायम भएको छ।


प्रकाशित : शनिबार, माघ १ २०७८०९:५३
  • सम्बन्धित विषय:

  • # सेयर बजार
  • # साताकाे सेयर बजार


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend