शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

आज नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारमा ऐतिहासिक त्रिपक्षीय सम्झौता हुने

नेपालको ऊर्जा क्षेत्रमा खर्बौँ विदेशी लगानी भित्रिने बाटो खुल्दै

बिहीबार , असोज १७ २०८१
आज नेपाल, भारत र बंगलादेशबीच ऊर्जा व्यापारमा ऐतिहासिक त्रिपक्षीय सम्झौता हुने

काठमाडौं- नेपालको ऊर्जा क्षेत्रमा ऐतिहासिक सम्झौता हुने भएको छ। नेपाल, भारत र बंगलादेशबीचको ऊर्जा क्षेत्रको विकासमा हुन लागेको त्रिपक्षीय सम्झौताले विद्युत व्यापारमा नयाँ ढोका खुला हुने छ।

आज हुने सम्झाैता ऐतिहासिक हुने उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले बताए। ´सम्झाैतापछि आवस्यकता अनुसार बिजुली बंगलादेश जाने छ` सचिव आचार्यले भने।

आज बिहीबार हुने उक्त सम्झौतापछि नेपालबाट भारतबाहेक तेस्रो देशमा बिजुली निर्यात सुरु हुने छ। त्यो पनि भारतकै प्रसारणलाइन प्रयोग गरेर। ऊर्जा क्षेत्रका विज्ञहरूले यो सम्झौता नेपालको दीर्घकालीन ऊर्जा व्यापारमा कोशेढुंगा हुने जनाएका छन्। 

नेपालको ४० मेगावाट बिजुली बंगलादेश निर्यात सुरु हुने छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार भारत, बंगलादेश र नेपालबीच त्रिपक्षिय सम्झौता हुन लागेको हो। गत साउन १३ हुने तय भएको सम्झौता बंगलादेशको राजनीतिक उथलपुथलले रोकिएको थियो।

नयाँ अन्तरिम सरकार बनेसँगै बंगलादेश उक्त सम्झौता गर्न तयार भएसँगै सम्झौतका लागि ऊर्जामन्त्री दीपक खड्काले भारत र बंगलादेशका ऊर्जामन्त्रीलाई आमन्त्रण गरेका थिए।

सम्झौतका लागि  बंगलादेशका अन्तरिम सरकारका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत मन्त्री सैयदा रिजवाना हसन र भारतीय मनोहरलाल खट्टर नेपाल आइसकेका छन्। 

सन् २०२१ देखि नेपालले भारतमा प्रतिस्पर्धात्मक विधिबाट बिजुली निर्यात गर्दै आएको छ। बिहीबार हुने नयाँ सम्झौतासँगै पहिलोपटक भारतबाहेक तेस्रो देशमा बिजुली निर्यात गर्ने बाटो खुल्नेछ। ऊर्जा मन्त्रालयका अनुसार नेपाल विद्युत प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच त्रिपक्षीय सम्झौता हुने छ।

गत असारमा बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)ले नेपालमा उत्पादित ४० मेगावाट विद्युत् खरिद(बिक्रीका लागि सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई पत्राचार गरेको थियो। 

बीपीडीबीले वर्षायामको ६ महिना ४० मेगावाट विद्युत् बिक्रीका लागि प्राधिकरणले पेश गरेको बोलपत्र सम्बन्धित निकायबाट स्वीकृत भएको जानकारी गराउँदै विद्युत बिक्री सम्झौताका लागि पत्राचार गरेको थियो। सोही पत्रपछि त्रिपक्षीय सम्झौताको तयारी नेपालले गरेको थियो। बंगलादेशमा भारतको बाटो हुँदै बिजुली पठाउनुपर्ने भएकोले भारतीय पक्षको सहमति अनिवार्य हुन्छ। 

वर्षायामको ६ महिना (हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म) ५ वर्ष ४० मेगावाट बिजुली अमेरिकी डलरमा भुक्तानी हुने गरी बंगलादेशलाई बिक्री गर्नेछ। प्राधिकरणले बंगलादेशमा विद्युत् बिक्री गरी प्रतियुनिट ६.४ अमेरिकी सेन्ट पाउनेछ। प्रतिमहिना २८ हजार ८ सय मेगावाट आवर बिजुली बंगलादेश निर्यात हुनेछ। 

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर बिन्दुमा पाउने छ। अर्थात बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ। ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ। मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत-भेरमारा-बंगलादेश- ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ। 

बंगलादेशमा २३.२८ मेगावाटको त्रिशुली र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् बिक्री गरिँदै छ। मन्त्रालयका अनुसार सुरुवात मात्रै भएको र बंगलादेशले चाहेमा र नेपालले बिजुली दिन सके थप अन्य बिजुली समेत सोहीबाटो बाट लैजाने छ। त्रिपक्षीय सम्झौतामा भारतले बंगलादेशलाई सिमानामा थप अरु बिजुली दिने र नेपालबाट नजिक पर्ने क्षेत्रमा भारतलाई बिजुली लिएर सट्टा भर्नासमेत गर्न पाउने गरी सम्झौता हुँदैछ। 

बंगलादेश र भारतले बिहारको कटिहारबाट आसामको बोरनगर हुँदै बंगलादेशको दिनाजपुरको पार्वतीपुरसम्म ७६५ केभी उच्च क्षमताको अन्तरदेशीय प्रसारण लाइन बनाउने भएका छन्। यसअघि बंगलादेश र भारतले चार छिमेकी मुलुक नेपाल, भुटान, भारत र बंगलादेशलाई जोड्न अन्तरदेशीय विद्युत प्रसारण लाइन निर्माण गर्ने सहमति गरेका थिए।


प्रकाशित : बिहीबार , असोज १७ २०८१०६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend