बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

बतास इनभेस्टमेन्ट खरिद गर्न चौधरी समूहको दौडधुप, डेढ अर्बको कम्पनीलाई एक अर्ब प्रस्ताव गरेपछि डिल लम्बिँदै

बुधबार, असोज १६ २०८१
बतास इनभेस्टमेन्ट खरिद गर्न चौधरी समूहको दौडधुप, डेढ अर्बको कम्पनीलाई एक अर्ब प्रस्ताव गरेपछि डिल लम्बिँदै

पछिल्ला केही वर्षयता राष्ट्र बैंकले हायर पर्चेज इनभेस्टमेन्ट कम्पनीका नयाँ लाइसेन्स खोलेको छैन। त्यहीकारण नयाँ लाइसेन्स लिन चाहनेहरूले पाएका छैनन्।

काठमाडौं- चिनियाँ विद्युतीय सवारी ब्रान्ड थुपारेको चौधरी समूह बैंक तथा वित्तीय संस्थाबाट कर्जा पाउन कठिन भएपछि हायर पर्चेज कम्पनी खरिद गर्ने तयारीमा छ। नयाँ हायर पर्चेज कम्पनीको लाइसेन्स राष्ट्र बैंकले रोकेकाले चौधरी समूह भइरहेकै कम्पनी किन्न लागिपरेको हो। 

यसका लागि चौधरी समूहले विभिन्न कम्पनीसँग खरिद वा साझेदारीको प्रस्ताव गरेको थियो। साझेदारीका लागि कसैले पनि वास्ता नगरेपछि बतास इनभेस्टमेन्टसँग चौधरीले खरिदको पहल गरिरहेको छ। यसका लागि बतास इनमेस्टमेन्टसँग चौधरी समूहले निरन्तर छलफल गरिरहेको छ।

बतास इनमेस्टमेन्टको प्रारम्भिक डीडीए सकिएको र बतास समूह तथा चौधरी समूहबीच अन्तिम मूल्य कति तय गर्ने भन्ने टुंगो लाग्न बाँकी छ। डीडीएबाट तय भएको मूल्यांकनपछि दुई पक्षबीच अन्तिम मूल्यको लागि नेगोसिएसन चलिरहेको छ। 

एक दर्जन चिनियाँ ब्रान्ड र एउटा दुईपांग्रे भारतीय सवारी ब्रान्ड बिक्री गरिरहेको चौधरी समूहअन्तर्गतको सीजी मोटर्सका लागि हायर पर्चेज कम्पनी जरुरत भइसकेको छ। सोहीकारण बतास इनभेस्टमेन्टलाई जसरी पनि किन्नैपर्ने दबाबमा चौधरी समूह रहेको छ। सुरुमा कम मूल्यमै किन्न बतास समूहमाथि प्रभावको प्रयास गर्ने र अन्तिममा बतास समूहले भनेकै मूल्यमा भए पनि किन्ने रणनीति चौधरी समूहको छ। 

चौधरी समूह १ अर्ब ३० करोड रुपैयाँको आसपासमा बतास इनभेस्टमेन्ट किन्ने दाउमा छ। तर बतास समूह भने सस्तोमै उक्त कम्पनी बिक्री गर्ने पक्षमा देखिएको छैन। ‘धेरै कुराहरू मिलिसकेका छन्। किन्ने र लिने पक्ष बेच्न र किन्न तयार भइसकेका छन्,’ यो प्रक्रियामा संलग्न एक जानकारले भने, ‘चौधरी समूह कममा किन्ने कोशिसमा छ भने बतास समूह उपयुक्त मूल्य आउनुपर्ने पक्षमा रहेको छ।’

चौधरी समूहलाई गाडी बिक्री गर्न बैंकहरूमा झन्झटिलो प्रक्रिया रहेकाले जसरी पनि हायर पर्चेज कम्पनी चाहिएकाले डिल मिल्ने सम्भावना रहेको छ। 

सीजी मोटर्सले हालसम्म चीनबाट ११ वटा ब्रान्ड र भारतबाट एउटा सवारी कम्पनीसँग आधिकारिक बिक्रेताको सम्झौता गरेर सवारी बिक्री गर्दै आएको छ। हालै सीजी मोटर्सले बिक्री गर्ने ह्वाजी ब्रान्ड भने उसबाट खोसिएको छ। 

हायर पर्चेज इनभेस्टमेन्ट कम्पनी खोल्न नेपाल राष्ट्र बैंकबाट अनुमति लिनुपर्छ। पछिल्लो केही वर्षयता राष्ट्र बैंकले हायर पर्चेज इनभेस्टमेन्ट कम्पनीका नयाँ लाइसेन्स खोलेको छैन। त्यहीकारण नयाँ लाइसेन्स लिन चाहनेहरूले पाएका छैनन्। 

सवारी बिक्रेता कम्पनीहरूले सहज रुपमा कर्जा प्रवाह गर्न आफ्नै इनभेस्टमेन्ट कम्पनीको लाइसेन्स लिएर सेवा दिने गरेका छन्। चौधरी समूहले पनि धेरैवटा सवारी ब्रान्ड ल्याएर बिक्री गर्न थालेपछि हायर पर्चेज कम्पनी खरिद गर्न तीव्र रुपमा विभिन्न कम्पनीसँग छलफल थालेको थियो। 

दुई/तीन वटा कम्पनीसँग छलफल गरे पनि पछिल्लो पटक भने चौधरी समूह बतास इनभेस्टमेन्ट प्रालि खरिद गर्न लागिपरेको हो। 

बतास अर्गनाइजेसनअन्तर्गतको कम्पनी विगतमा अटोमोबाइल व्यापारमा भएकाले उसँग हायर पर्चेज कम्पनी छ। तर अहिले भने बतास अर्गनाइजेसनसँग एकल स्वामित्वको अटोमोबाइल कम्पनीको आधिकारिक बिक्रेता छैन। सोहीकारण उपयुक्त मूल्य पाएमा आफूसँग भएको हायर पर्चेज कम्पनी बिक्री गर्न बतास समूह तयार देखिएको छ। 

विगतमा बतास अर्गनाइजेसनअन्तर्गत फियाट, जिप तथा आइसर ब्रान्डको कमर्सियल सवारी आधिकारिक बिक्रेताको रुपमा आयात गर्दै आएको थियो। त्यस्तै अर्गनाइजेसनले पोखरामा विभिन्न ब्रान्डको डिलर र सेकेन्ड ह्यान्ड कार पनि बिक्री गर्दै आएको छ।

चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले हाल भारतीय दुईपांग्रे सवारी हिरो मोटोकर्पको मोटरसाइकल र स्कुटर आधिकारिक बिक्रेता भएर बिक्री गर्दै आएको छ भने अन्य सबै चिनियाँ विद्युतीय सवारी ब्रान्ड हुन्। 

सीजी मोटर्सले कमर्सियलतर्फ केवाईसी र किङलङ ब्रान्ड तथा प्यासेन्जर कारतर्फ निटा, आयोन, एक्सपाङ, अवतार, स्मार्ट, डायुन, रिडारा ब्रान्डको आधिकारिक बिक्रेताको रुपमा नेपाल भित्र्याइसकेको छ। सीजी मोटर्सले अन्य केही चिनियाँ ब्रान्ड पनि ल्याउने तयारी गरिरहेको छ। तर कमर्सियल ब्रान्डको बिक्री राम्रै भए पनि प्यासेन्जर कारतर्फ भने ब्रान्ड थुपार्ने काममात्र भइरहेको छ।

विद्युतीय सवारी ब्रान्ड थुपारेपछि हायर पर्चेज कम्पनी खोज्दै चौधरी समूह, बतास इनभेष्टमेन्टमा पुग्यो प्रस्ताव विद्युतीय सवारी ब्रान्ड थुपारेपछि हायर पर्चेज कम्पनी खोज्दै चौधरी समूह, बतास इनभेष्टमेन्टमा पुग्यो प्रस्ताव


प्रकाशित : बुधबार, असोज १६ २०८११८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend