शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

मंगलबार, असोज १५ २०८१
बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

होङ्सी सिमेन्ट उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ।

काठमाडौं- बर्दघाट-सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका-५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको प्रसारण लाइनको टावर ढलेको हो।

टावर ढलेपछि चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्सी शिवम् सिमेन्टको विद्युत् आपूर्ति सोमबार साँझ साढे ६ बजेबाट बन्द भएको छ।

होङ्सीले १३२ केभी प्रसारण लाइनबाट सिधै विद्युत् आपूर्ति लिइरहेको थियो। उद्योगले ३१ मेगावाटको विद्युत भार (लोड) स्वीकृत लिएको छ। त्यसमध्ये अहिले दैनिक रुपमा १० मेगावाट लोड लिइरहेको नेपाल विद्युत प्राधिकरण, कावासोती वितरण केन्द्रले जनाएको छ। उक्त उद्योगले मासिक रुपमा ७/८ करोड रुपैयाँ विद्युत् महसुल तिर्दै आएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमन्ट उद्योगसँग विद्युत् पुर्‍याउने घोषणाअनुसार होङ्सीलाई विद्युत् आपूर्तिका लागि बर्दघाट-सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको थियो। डबल सर्किटमध्ये एउटा सर्किट मात्र सञ्चालन (चार्ज)मा थियो।

उद्योगलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति दिने तयारी भइरहेको प्राधिकरण बुटवल ग्रीड महाशाखाले जनाएको छ। 


प्रकाशित : मंगलबार, असोज १५ २०८११३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend