बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

अमेरिका लैजाने भनेर पुर्‍याए बोलिभिया र इथियोपिया, डुब्यो ३४ लाख

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस २९ २०७८
अमेरिका लैजाने भनेर पुर्‍याए  बोलिभिया र इथियोपिया, डुब्यो ३४ लाख

अमेरिकामा मासिक तीन लाख तलब हुने लोभ देखाएर २७ लाख रूपैयाँ मागेका थिए।

काठमाडौं- अमेरिका जाने लोभमा पर्दा दुई व्यक्तिको ३४ लाख रूपैयाँ डुबेको छ। बोलिभिया र इथियोपिया पुर्‍याइएका उनीहरूले दु:खसमेत भोग्नुपरेको छ।

यसरी ठगी गरी मानवबेचबिखनमा आरोप लागेका दाङ घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतिमध्ये श्रीमती सुधा देवकोटा पक्राउ परे पनि श्रीमान् मुक्तिनारायण केसी अझै फरार छन्। अदालतको आदेशले देवकोटा भने पूर्वक्षका लागि जेल चलान भएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ।

उनीहरूविरुद्ध विभिन्न मितिमा दुई पीडित व्यक्तिको जाहेरी परेको थियो। उनीहरूले अमेरिकामा मासिक तीन लाख तलब हुने लोभ देखाएर २७ लाख रूपैयाँ मागेका थिए।

एक पीडितबाट उनीहरूले पटकपटक गरी १९ लाख रूपैयाँ लिएकोसमेत खुल्न आएको छ। सन् २०१९ को जनवरी २५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इण्डोनेसियाको बाली तथा जाकार्ता पुर्‍याइ बोलिभिया हुँदै अमेरिका जाने भनी लगेका थिए। तर विमानस्थलमा पुर्‍याउदा सेटिङ नमिलेको भनी फर्काए। उनीहरूले पछि पीडितलाई मेक्सिको हुँदै अमेरिका जानी भनी इथियोपिया पुर्‍याइ कोठामा साँढे तीन महिना बन्धक बनाएको खुल्न आएको छ।

आफू बेचिएको थाहा पाएपछि पीडितले घरबाट टिकट मगाइ फर्किएर विसं २०७६ कात्तिक २१ गते ब्यूरोमा जाहेरी दिएका थिए।

यस्तै उनीहरूले अर्का एक व्यक्तिलाई पनि बेचबिखन गरेको भनी जाहेरी परेको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। उनीहरूले एक व्यक्तिलाई काठमाडौँको स्वयंम्भूबाट बसमार्फत भारतको नयाँ दिल्लीमा दुई महिना राखी फेरि काम नभएको भनी नेपाल फर्काएर मलेसिया हुँदै इण्डोनेसिया पुर्‍याइएको खुल्न आएको छ। 

अमेरिका लैजाने बहानामा त्यहाँ सात महिना कोठामा बन्धक बनाइएको र पछि जाकार्ताको इमिग्रेसनबाट उनी पक्राउ परेका थिए। त्यसपछि उनलाई १४ दिन हिरासतमा राखेर नेपाल फर्काइएको थियो। विसं २०७६ मङ्सिर १३ गते आएका पीडित व्यक्तिले १९ गते जाहेरी दिएका थिए। उनीबाट ती दम्पतीले १५ लाख रूपैयाँ लिएकोसमेत खुल्नआएको छ।  

सोही आधारमा खोजतलासका क्रममा काठमाडौँको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थलीबाट अघिल्लो महिनामा पक्राउ परेकी देवकोटालाई जिल्ला अदालत काठमाडौँको आदेशले पूर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले आज एक सूचना जारी गरी जनाएको छ। केसीको भने खोजी जारी रहेको बताइएको छ। रासस


प्रकाशित : बिहीबार , पुस २९ २०७८१०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend