बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कम मूल्यका विद्युतीय कार ल्याउन हुन्डाई र कियाले ल्यायो नयाँ एलएफपी ब्याट्री परियोजना

सोमबार, असोज १४ २०८१
कम मूल्यका विद्युतीय कार ल्याउन हुन्डाई र कियाले ल्यायो नयाँ एलएफपी ब्याट्री परियोजना

दक्षिण कोरियाका ब्याट्री उत्पादक एलजी इनर्जी सोलुसनको १४.७ प्रतिशत, सामसङ एसडीआईको ७.१ प्रतिशत र एसकेको ४.३ प्रतिशत हिस्सा रहेको छ।

काठमाडौं- विद्युतीय कार उत्पादनमा आक्रामक भएका कोरियाली कार उत्पादक हुन्डाई र कियाले नयाँ ब्याट्री उत्पादन प्रोजेक्ट ल्याएका छन्। दुई कम्पनीले हालै कम मूल्यमा विद्युतीय कार बजारमा ल्याउन एलएफपी ब्याट्री उत्पादनको परियोजना ल्याएका हुन्। 

भविष्यमा उत्पादन हुने विद्युतीय कारका लागि लिथियम आइरन फोसफेट ब्याट्रीको विकास गर्न नयाँ परियोजना सार्वजनिक गरेका हुन्। परियोजना सार्वजनिक गरेसँर्गै उनीहरुले हुन्डाई स्टिल र इकोप्रो बीएमसँग साझेदारीसमेत गरेका छन्। यी दुई कम्पनी दक्षिण कोरियाको सबैभन्दा ठूला ब्याट्रीका कच्चापदार्थ उत्पादक हुन्। यो साझेदारीले एलएफपी ब्याट्री क्याथोड मटेरियल उत्पादनमा सहयोग पुग्ने विश्वसा व्यक्त गरिएको छ। 

हुन्डाई र कियाको सो परियोजनालाई दक्षिण कोरियाको व्यापार, उद्योग र उर्जा मन्त्रालयले पनि सहयोग गर्ने बताएको छ। सो मन्त्रालयले पनि एलएफपी ब्याट्री प्रविधिको विकासमा सहयोग गर्ने योजना बनाइरहेको र हुन्डाई र कियाको परियोजना आफ्नो योजनासँग मिलेकाले यसमा सहयोग गर्ने मन्त्रालयले बताएको हो। 

विद्युतीय कारको बढ्दो मागलाई सम्बोधन गर्न, तीव्र प्राविधिको विकास र ब्याट्रीको सप्लाइ चेनलाई मजबुत बनाउन नयाँ परियोजना ल्याइएको हुन्डाई र कियाको इलेक्ट्रिफिकेसन डिपार्टमेन्टका सुनजुन जंगले बताएका छन्। विद्युतीय कारतर्फ अटोमोबाइल उद्योग रुपान्तरित हुने क्रममा रहेकाले हुन्डाईले ईभीको उत्पादनलाई बढाउन र प्रतिस्पर्धी मूल्यमा ईभी ल्याउन ब्याट्री सप्लाइ चेन बलियो बनाउने धेयले नयाँ परियोजना ल्याएको जनाएको छ। 

एलएफपी ब्याट्री क्याथोड पदार्थका लागि चाहिने अन्य पदार्थको उच्च प्रविधियुक्त प्रोसेरलगायतका लागि हुन्डाई र किया लागि परेका हुन्। यो प्रक्रियाले ब्याट्री उत्पादनका क्रममा हुने प्रदूषण घट्नुका साथै ब्याट्रीको उत्पादन लागतसमेत कम हुनेछ। 

अहिलेको प्रक्रियाबाटभन्दा नयाँ योजनाको कार्यान्वयनपछि उत्पादकत्व पनि बढ्ने र विद्युतीय सवारीको लागत घढ्ने विश्वसा हुन्डाई मोटरको छ। नयाँ एलएफपी ब्याट्री प्रविधिले ईभी ब्याट्री बजारलाई नै सकारात्मकता प्रधान गर्ने छ। 

हालसम्म विश्व ईभी ब्याट्री बजारमा चिनियाँ कम्पनीहरुको दबदबा कायमै छ। एसएनई रिसर्चका अनुसार २०२४ को दोस्रो त्रैमासमा चीनको सीएटीएलको विश्व ईभी ब्याट्री बजारमा ३१.६ प्रतिशत र बीवाईडीको हिस्सा ११.९ प्रतिशत रहेको छ। सो अवधिमा मुख्य चिनियाँ ब्याट्री उत्पादकको बजार हिस्सा ४३.५ प्रतिशत रहेको छ।

दक्षिण कोरियाका ब्याट्री उत्पादक एलजी इनर्जी सोलुसनको १४.७ प्रतिशत, सामसङ एसडीआईको ७.१ प्रतिशत र एसकेको ४.३ प्रतिशत हिस्सा रहेको छ। विश्वका १० ठूला ब्याट्री उत्पादकमा ३ वटा कम्पनी कोरियाली हुन्। 

हुन्डाई र कियाका विद्युतीय कार लामो समयदेखि नेपाली बजारमा उपलब्ध छन्। कियाको नेपालका लागि कन्टिनेन्टल ट्रेडिङले विगतमा किया सोल ईभी र निरो ईभी बिक्री गरेको थियो। अहिले भने कियाको ईभी सिक्स र ईभी नाइन नेपाली बजारमा बिक्री हुँदै आएको छ। त्यस्तै हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सुरुमा आयोनिक ईभी बिक्री गरेको थियो। हाल हुन्डाईको कोना ईभी र आयोनिक फाइभ बिक्री हुँदै आएको छ। 


प्रकाशित : सोमबार, असोज १४ २०८११९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend