बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कम मूल्यको ईभी बनाउन फक्सवागनले बन्द गर्‍यो युरोपमा पोलोको उत्पादन

आइतबार, असोज ६ २०८१
कम मूल्यको ईभी बनाउन फक्सवागनले बन्द गर्‍यो युरोपमा पोलोको उत्पादन

फक्सवागनले गत वर्ष सानो आकारको एसयूभी आईडी टूअल कन्सेप्ट सार्वजनिकसमेत गरिसकेको छ। यो कार आईडी थ्रीभन्दा सानो आकारको हुनेछ।

काठमाडौं- जर्मन कार उत्पादक कम्पनी फक्सवागनले आफ्नो सर्वाधिक चर्चितमध्येको कार पोलोको युरोपियन उत्पादन बन्द गर्ने भएको छ। पोलो युरोपदेखि एसियाली बजार हुँदै नेपालमा पनि राम्रो बिक्री संख्या निकाल्दै ह्याचब्याक सेगमेन्टको चर्चित कार थियो कुनै बेला। 

युरोपमा बनेर नेपाल आएको हुनाले यो कार तुलनात्मक रुपमा नेपाली उपभोक्ताका लागि महँगो ह्याचब्याक कार थियो। तर पनि ह्याचब्याक कार किन्नेको साचोमा पोलो पर्ने गरेकै थियो। तर पछिल्लो पटम महँगो मूल्य र ईभीसँग प्रतिस्पर्धा गर्न कठीन भएकाले पोलो नेपाली बजारमा उपलब्ध छैन। 

स्पेनको पाम्पलोनामा १९८४ देखि फक्सवागनले युरोपका लागि पोलो उत्पादन गर्दै आएको थियो। उक्त प्लान्टबाट मात्रै ८४ लाख वटाभन्दा धेरै पोलो उत्पादन भइसकेको थियो। फक्सवागन पोलो युरोपको सर्वाधिक बिक्री हुने मध्येको एउटा कारमा पर्छ। 

अटोमोटिभ न्युजका अनुसार २०२४ को अगस्टसम्ममा ९० हजार १ सय वटा बिक्री भएर फक्सवागन पोलो धेरै बिक्री हुने साना कारको सूचीमा आठौँ स्थानमा परेको हो। 

यद्यपी फक्वागनले पाम्पलोनामा रहेको पोलो उत्पादन प्लान्टबाटै सानो आकारको र कम मूल्यको विद्युतीय कार उत्पादन गर्ने योजना बनाइसकेको छ। २०२६ भित्रै सोही प्लान्टबाट फक्सवागनले दुई वटा साना आकारको विद्युतीय एसयूभी उत्पादन सुरु गरिसक्ने जनाएको छ। 

नयाँ विद्युतीय एसयूभी फक्सवागनको एमईबी प्लेटफर्मकै मोडिफाइड भर्सनमा बन्ने छ। फक्सवागनले हाल उत्पादन गरिरहेको आईडी सिरिजका विद्युतीय कार पनि सोही प्लेटफर्ममा बनेका हुन्। 

फक्सवागनले गत वर्ष सानो आकारको एसयूभी आईडी टूअल कन्सेप्ट सार्वजनिक समेत गरिसकेको छ। यो कार आईडी थ्रीभन्दा सानो आकारको हुनेछ। 

विद्युतीय कारको उत्पादन तथा माग बढ्दै गइरहेकाले फक्सवागन पनि ईभी उत्पादनमा केन्द्रित रहेको छ। ईभी उत्पादनकै दबाबमा फक्सवागनले केही दिनअघि जर्मनीमा रहेको आईसी कार उत्पादन प्लान्ट इतिहासमै पहिलो पटक बन्द गर्ने घोषणा गरेको थियो। 

फक्सवागनका सीईओ थोमस सेफरले आईडी टूअलको ब्रान्डबारे काम गइरहेको बताएका छन्। यो विद्युतीय एसयूभी ४ सय ५० किलोमिटर डब्लूएलटीपी रेन्जमा उपलब्ध हुने अनुमान गरिएको छ। 

फक्सवागनले आईडी टूअलमा पुरानो चर्चित कार गल्फ र बीटलबाट केही डिजाइन ल्यांग्वेज लिएर आधुनिक युगको विद्युतीय कार डिजाइन गर्ने बताएको छ। 

हाल फक्सवागनले आईडी थ्री, आईडी फोरलगायत विद्युतीय कार युरोप, चीन, अमेरिकालगायत देशमा बिक्री गर्दै आएको छ। फक्सवागनका टिगुवान, टाइगुन, टोरेगलगायत कार नेपाली बजारमा उपलब्ध भए पनि विद्युतीय कार भने हालसम्म आएको छैन। 


प्रकाशित : आइतबार, असोज ६ २०८१०९:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend