बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

तिलिचो ताल पुग्न नयाँ पदमार्ग

शनिबार, असोज ५ २०८१
तिलिचो ताल पुग्न नयाँ पदमार्ग

मुस्ताङको सदरमुकाम जोमसोमदेखि घरपझोङ गाउँपालिका-५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन्।

म्याग्दी- मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ। समुद्री सतहदेखि चार हजार नौसय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो।

मुस्ताङको सदरमुकाम जोमसोमदेखि घरपझोङ गाउँपालिका-५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन्। यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो।

मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जोमसोम-ठिनी-नमखुलेक, निलगिरि आइसफल, छेमा ताल, मसोकोन्दो पास हुँदै तिलिचो ताल जोड्ने पदमार्गलाई आन्तरिक पर्यटकले प्रयोग गर्न थालेका बताए।

'गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले तिलिचो ताल जोड्ने पदमार्ग निर्माण भएको छ,' उनले भने, 'यो पदमार्ग भएर दुईदिनमै पर्यटक तिलिचो ताल जान र आउन थालेका छन्।'

म्याग्दी र मुस्ताङका बासिन्दा, कर्मचारी, व्यवसायिहरु जोमसोम हुँदै तिलिचो ताल भ्रमणमा जान थालेका छन्। यो पदमार्ग भएर तिलिचो पुग्न पाँच हजार एक सय २० मिटर अग्लो मेसोकोन्दो पास (झञ्जयाङ) पार गर्नुपर्छ।

होटल र रेष्टुरेष्टको सुविधा नभएकाले आफै खानेबस्ने सामग्रीको जोहो गर्नुपर्छ। जोमसोमदेखि दुई घण्टा सवारी साधन र ६ घण्टा पैदलयात्रा गरेपछि मेसोकोन्दो पास पुगिन्छ।

मेसोकोन्दोदेखि एक घण्टा पैदलयात्रा गरेपछि तिलिचो ताल पुगिने यसैहप्ता तिलिचो भ्रमण गरेर फर्किएका म्याग्दीको मालिका गाउँपालिका-४ फुलबारीका तुलन बुढामगरले बताए। 'उकालो हिडाइको थकान तिलिचो पुगेपछि वरपरका हिमालको बीचमा रहेको निलो र निश्चल तालको दृष्य अवलोकन गर्न पाउँदा मेटियो,' उनले तिलिचो यात्राको अनुभव सुनाए।

आर्थिक वर्ष २०८०/०८१ मा घरपझोङ गाउँपालिकाले विभिन्न  शीर्षकमा  ५० लाख बजेट बिनियोजन गरेको तिलिचो ताल जोड्ने पदमार्ग मर्मत तथा स्तरोन्नति योजनाका लागि एक्यापले पनि  १० लाख खर्च गरेको छ। घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मीला श्रीसले प्रधानमन्त्री रोजगार कार्यक्रमको २१ लाख ४९ हजार र गाउँपालिकाको थप २८ लाख ५८ हजार रूपैयाँ बजेटबाट वडा नम्बर ४ र ५ को विभिन्न ठाउँमा २२ किलोमिटर पदमार्ग बनाएको जानकारी दिए।

झोर खोलादेखि -नमखुलेंक खर्क-निलगिरि आइसफल- छमा ताल पहुँच मार्गको सोचिलेंक सम्म पदमार्ग निर्माण तथा स्तरोन्नति गरिएको रोजगार संयोजक श्रीसले बताए। एक्याप मार्फत पाँच हजार १२० मिटर उचाईमा रहेको मेरोकोन्दो पास क्षेत्रमा ९५० मिटर पुरानो पदमार्ग मर्मत र ६०० मिटर नयाँ पदमार्ग निर्माण गरिएको वरिष्ठ रेञ्जर सञ्जोक थकालीले जानकारी दिए।

जोमसोम-तिलिचो पदमार्गमा सूचनामूलक साइनबोर्ड, हाइअल्टिच्युड स्थल क्षेत्र, विशेषता, स्थान र उचाइको जानकारीलगायत पर्यटक लक्षित जानकारीमूलक होर्डिङ बोर्ड र साइन पोष्टिङ राखिएको एक्याप जोमसोमका प्रमुख प्रमोदराज रेग्मीले बताए।

प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यू प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडा च्याङग्रा तथा चौरीको गोठ यस पदमार्गका आकर्षण हुन्। रासस


प्रकाशित : शनिबार, असोज ५ २०८११३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend