बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

एसएमटी बैठकमा अर्थमन्त्रीको धम्की - राजस्व दोबर बढाउने कार्ययोजना किन नल्याएको, सरुवा गर्दिउँ?

बुधबार, पुस २८ २०७८
एसएमटी बैठकमा अर्थमन्त्रीको धम्की - राजस्व दोबर बढाउने कार्ययोजना किन नल्याएको, सरुवा गर्दिउँ?

अर्थमन्त्री, सचिवहरू र महाशाखा प्रमुख र आन्तरिक राजस्व विभाग तथा भन्सार विभागका महानिर्देशक सहभागी हुने एसएमटी बैठकमा अर्थमन्त्री शर्माले आफूले भनेअनुसार काम नगरेको भन्दै ‘रिसफल’ गर्ने चेतावनी दिएका हुन्।

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीमा नियुक्त भएदेखि नै राजस्व दोबर बनाउने सार्वजनिक घोषणा गर्दै आए। राजस्व दोबर पार्ने घोषणा गलत भएको भन्दै पूर्वकर्मचारी र अर्थशास्त्रीहरूले आलोचना गर्न थालेपछि उनी बाहिर बोल्न छाडे। 

सार्वजनिकरूपमा राजस्व दोबर बनाउने घोषणा गर्न छोडेका अर्थमन्त्री शर्माले मन्त्रालयको आन्तरिक बैठकहरूमा भने यसलाई निरन्तर दोहोर्‍याइरहेका छन्। त्यतिमात्रै होइन, केही दिन अघि बसेको अर्थ मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू (एसएमटी)को बैठकमा अर्थमन्त्री शर्माले आफूले घोषणा गरेको योजना कार्यान्वयन गर्न कार्ययोजना नबनाएको भन्दै कर्मचारी सरुवाको धम्की दिएका छन्। 

अर्थमन्त्री, सचिवहरू र महाशाखा प्रमुख र आन्तरिक राजस्व विभाग तथा भन्सार विभागका महानिर्देशक सहभागी हुने एसएमटी बैठकमा अर्थमन्त्री शर्माले आफूले भनेअनुसार काम नगरेको भन्दै ‘रिसफल’ गर्ने चेतावनी दिएका हुन्। ‘मैले राजस्व दोबर पार्ने घोषणा गरी कार्ययोजना बनाउन तपाईंहरूलाई भनेँ, तर अहिलेसम्म खै त कार्ययोजना,’ मन्त्री शर्माले भने, ‘मैले भनेअनुसार काम नगर्ने हो भने तपाईंहरू रिसफलका लागि तयार रहनुस्।‘ 

नेपालको अहिले कूल गार्हस्थ्य उत्पादन र राजस्वको अनुपात २४ प्रतिशत छ। यसलाई दोबर बनाउँदा ४८ प्रतिशत पुग्छ। नेपालको अहिलेको कूल गार्हस्थ्य उत्पादन र राजस्वको अनुपातलाई अर्थशास्त्रीहरूले उच्च मान्ने गरेका छन्। अर्थतन्त्रले धान्नै नसक्ने गरी अर्थमन्त्रीले घोषणा गरेको भन्दै अर्थ मन्त्रालयकै पूर्व कर्मचारीहरूले आलोचना गरेका छन्।

अर्थमन्त्री शर्माले बदलाको भावमा काम गर्न खोजेको अर्थ मन्त्रालयका कर्मचारीहरू बताउँछन्। उनले केही सयम अघि पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई पनि ७ प्रतिशत आर्थिक वृद्धिददर हासिल गरेर देखाइदिने बताएका थिए। 

विश्व बैंक, एसियाली विकास बैंकलगायतका बहुपक्षीय विकास साझेदारहरूले कूल गार्हस्थ्य उत्पादन ४ प्रतिशतभन्दा धेरै नहुने बताइरहेका बेला अर्थमन्त्रीले भने कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर ७ प्रतिशत हुने दावी पनि दोहोर्‍याइरहेका छन्।


प्रकाशित : बुधबार, पुस २८ २०७८०२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend