बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सीजी मोटर्सले तीनपांग्रे विद्युतीय ट्याम्पो पनि ल्यायो, सिट क्षमता ५, ब्याट्री ८.४४ किलावाट आवरको

सोमबार, भदौ ३१ २०८१
सीजी मोटर्सले तीनपांग्रे विद्युतीय ट्याम्पो पनि ल्यायो, सिट क्षमता ५, ब्याट्री ८.४४ किलावाट आवरको

प्यासेन्जर कार ब्रान्ड थुपारेको सीजी मोटर्सले यो सेगमेन्टमा अपेक्षाकृत बिक्री हासिल गर्न सकेको छैन। त्यसैले कम्पनीले अन्य क्षेत्रको समेत खोजी गरिरहेको छ। नयाँ सेक्टरका रुपमा तीनपांग्रे विद्युतीय प्यासेन्जर ट्याम्पो बिक्रीमा लागेको हो।

काठमाडौं- चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले विद्युतीय भ्यान/माइक्रोबस, प्यासेन्जर कार र मोटरसाइकलमात्र होइन तीनपांग्रे विद्युतीय ट्याम्पोसमेत आयात गर्ने भएको छ। कम्पनीले चिनियाँ सवारी उत्पादकसँग आधिकारिक बिक्रेताको सम्झौता गरेर आयात प्रक्रिया सुरु गरेको छ। 

सुरुमा प्यासेन्जर कार ब्रान्ड नेटा लिएर अटोमोबाइल ब्यापारमा प्रवेश गरेको सीजी मोटर्सले हालसम्म १३ वटाभन्दा बढी चिनियाँ ब्रान्ड ल्याइसकेको छ। चीनबाट आयात भएको सबै ब्याट्रीमा आधारित विद्युतीय सवारी ब्रान्ड ल्याएको हो। 

त्यस्तै सीजी मोटर्सले एउटा इन्टरनल कम्पस्चन इन्जिनयुक्त दुईपांग्रे हिरो मोटोकर्प पनि २०२४ अप्रिलदेखि आधिकारिक रुपमा भित्र्याएर बिक्री गरिरहेको छ। 

प्यासेन्जर कारदेखि कमर्सियल ईभी भ्यानसम्म र हिरोका मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको सीजी मोटर्सले तीनपांग्रे विद्युतीय सवारी ब्रान्डमा पनि प्रवेश गरेको हो। 

विशेषगरी तराई क्षेत्रमा उपयुक्त मानिएको तीनपांग्रे विद्युतीय यात्रुबाहक ट्राइसाइकल ठूलो संख्यामा बिक्री हुँदै आएको छ। प्यासेन्जर कार ब्रान्ड थुपारेको सीजी मोटर्सले यो सेगमेन्टमा अपेक्षाकृत बिक्री हासिल गर्न सकेको छैन। त्यसैले कम्पनीले अन्य क्षेत्रको समेत खोजी गरिरहेको छ। नयाँ सेक्टरका रुपमा तीनपांग्रे विद्युतीय प्यासेन्जर ट्याम्पो बिक्रीमा लागेको हो। 

सुझोउ जुनबेङ इलेक्ट्रिक भेहिकल म्यानुफ्याक्चरिङ कम्पनी लिमिटेडले नामक कम्पनीले उत्पादन गरेको 'ईफाइभ प्यासेन्जर ट्राइसाइकल' ल्याउन लागेको छ। सुरुमा परीक्षणका लागि स्याम्पल पिस ल्याउन लागेको हो। परीक्षण सफल भएपछि कम्पनीले बिक्री प्रयोजनका लागि उक्त ईफाइभ प्यासेन्जर ट्राइसाइकल आयात गर्नेछ। 

सरकारले काठमाडौंलगायत क्षेत्रमा तीनपांग्रे ट्याम्पो दर्ता तथा सञ्चालनका लागि रुट पर्मिट जारी नगर्ने नीति लिएको छ। सोही कारण यस्तो ट्याम्पोहरू तराई क्षेत्रमा बिक्री हुँदै आएको छ। समथर भूभाग भएको तराईका लागि विद्युतीय तीनपांग्रे ट्याम्पोहरू उपयुक्त देखिँदै आएको छ। लागतमैत्री भएकाले पनि धेरैको रोजाइमा विद्युतीय तीनपांग्रे ट्याम्पो परिरहेको छ।

सीजी मोटर्सले ल्याउन लागेको ईफाइभ प्यासेन्जर ट्राइसाइकल चालकसहित ६ सिट क्षमता (५ प्लस १) को रहेको छ। यो ट्राइसाइकलमा ३ हजार वाटको मोटर रहेको छ। रेटेड पावर १५ सय वाट रहेको यो ईफाइभ प्यासेन्जर ट्राइसाइकलको टर्क ६० एनएम रहेको छ। 

२२ सय एमएम ह्वीलबेस रहेको ईफाइभ प्यासेन्जर ट्राइसाइकलमा ८.४४ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। यसको मूल्यलगायत अन्य विषयमा भने बाहिर आएको छैन। परीक्षण सफल भएर आयात गरेपछिमात्र कम्पनीले यसको मूल्य निर्धारण गर्नेछ। 

सीजी मोटर्स निटा, जीएसी, एक्सपाङ, अवतार, स्मार्ट, ह्वाजी, डायुन, किङलङ, केवाईसीलगायत चिनियाँ विद्युतीय सवारी ब्रान्डको आधिकारिक बिक्रेता बनेर सवारी बिक्री गर्दै आएको छ। 


प्रकाशित : सोमबार, भदौ ३१ २०८११०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend