बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

रेन्ज एन्जाइटी र ईभीको रिसेल भ्यालुलाई सम्बोधन गरेर ईभी ल्याउँदै सुजुकी

आइतबार, भदौ ३० २०८१
रेन्ज एन्जाइटी र ईभीको रिसेल भ्यालुलाई सम्बोधन गरेर ईभी ल्याउँदै सुजुकी

विद्युतीय कारमा रहेको रेन्ज एन्जाइटी, चार्जिङ पूर्वाधार तथा रिसेल भ्यालुलाई सम्बोधन गर्नेगरी काम भइरहेको मारुती सुजुकीले जनाएको छ।

काठमाडौं- विद्युतीय कार उत्पादनमा सबैजसो सवारी उतपादकहरु लागि सकेका छन्। भारतीय कम्पनी मारुती सुजुकी भने विद्युतीय कार ल्यााउन केही ढिलाइ गरेको छ। तर अब भने मारुती सुजुकीले भारतमा मात्र नभइ युरोप तथा जापानमा समेत निर्यात गर्नेगरी विद्युतीय कार सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ। 

भारतको सबैभन्दा ठूलो कार बिक्रेता कम्पनी मारुती सुजुकी जापानी कम्पनी सुजुकी मोटर कर्पोरेसनसँगको संयुक्त उपक्रममा बनेको कम्पनी हो। भारतीय बजारमा टाटा, महिन्द्रा, एमजी, बीवाईडी, किया, हुन्डाईले विद्युतीय कार बिक्री सुरु गरिसक्दा सुजुकीको नहुनुलाई अनौठो रुपमै लिइएको थियो। 

मारुती सुजुकी इन्डियाले भारतमा पहिलो विद्युतीय कार अटो एक्सपो २०२४ मा सार्वजनिक गर्ने तयारी गरेको छ। त्यसको केही महिनाभित्रै कम्पनीले उक्त विद्युतीय कार बिक्रीका लागि उपलब्ध गराउने तयारी गरिरहेको छ। त्यसअघि सुजुकीको विद्युतीय कार युरोपमा निर्यात सुरु हुने अनुमान गरिएको छ। 

सुजुकीले भारतमा विद्युतीय कार सार्वजनिक हुँदा समग्र इकोसिस्टम समेत बनाइसक्ने बताएको छ। विद्युतीय कारमा रहेको रेन्ज एन्जाइटी, चार्जिङ पूर्वाधार तथा रिसेल भ्यालुलाई सम्बोधन गर्नेगरी काम भइरहेको मारुती सुजुकीले जनाएको द इकोनोमिक टाइम्सले लेखेको छ। ईभी इकोसिस्टमले उपभोक्तामा स्वीकार्यता बढाउने छ। 

मारुती सुजुकीले भारतको आन्तरिक बजारमा मात्र नभइ युरोप तथा जापानमा पनि विद्युतीय कार निर्यात गर्नेगरी काम भइरहेको मारुती सुजुकीका प्रबन्ध निर्देशक हिसाशी टाकुचीले बताएका छन्। ‘हामीले मारुती सुजुकीको विद्युतीय कार युरोप र जापानमा पनि निर्यात गर्दै छौँ। यसले आम उपभोक्रामा विश्वसनीयता बढाउन सहयोग पुग्नेछ,’ उनले भनेका छन्।

‘मारुती सुजुकीको ईभी चढ्ने उपभोक्तालाई ईभी लिएका कारण तनावको स्थिति नआओस् भन्ने हामी चाहन्छौँ’ टाकुचीले भनेका छन्, ‘उपभोक्ताले ईभी चढ्न थालेपछि खोज्ने चार्जिङ पूर्वाधारलगायतको सबै कुराको सम्बोधन कम्पनीले गर्नेछ।’ 

मारुती सुजुकीले पहिलो विद्युतीय कारका रुपमा मिडसाइज एसयूभी ईभीएक्स ल्याउने बताएको छ। यो कार गत वर्षको भातर मोबिलिटी शोमा सार्वजनिक गरेको थियो। यो विद्युतीय कार एकपटकको फुल चार्जमा ५ सय किलोटिर रेन्ज दिनेगरि बजारमा आउने छ। 

विद्युतीय सवारी प्रयोगकर्तामा आउने सबैभन्दा ठूलो चासो नै रेन्ज भएको मारुती सुजुकीका सिनियर एक्जुकेटिभ अफिसर पार्थो बेनर्जीको भनाइ छ। ‘पहिलो कुरा रेन्ज नै आउँछ भने दोस्रोमा पूर्वाधार र तेस्रो तथा महत्वपूर्ण कुरा ५ वर्षपछि त्यो विद्युतीय कारको रिसेल भ्यालु के हुन्छ? भन्ने रहेको छ,’ बेनर्जीले भने। 

भारतीय-जापानी कार उत्पादन कम्पनी मारुती सुजुकीले २०२५ सम्ममा विद्युतीय, हाइब्रिडलगायत गरि कुल १६ वटा नयाँ कार बजारमा ल्याउने योजना केही समयअघि सार्वजनिक गरेको थियो। 

सुजुकीले हाइब्रिड, फ्लेक्सफ्युल, बायोफ्युल तथा पूर्णविद्युतीय कार उत्पादन गर्दै जाने बताएको छ। यो सबै चरण पार गरे पूर्णविद्युतीकरणमा पुग्न ७ देखि १० वर्ष लाग्ने कम्पनीले जनाएको छ।

२०२४ जनवरीमा सुजुकीले भारतमा ठूलो लगानी थप गर्ने घोषणा गरेको थियो। भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागी हुन आएका सुजुकी मोटर कर्पका निर्देशक तथा अध्यक्ष टी सुजुकीले उक्त घोषणा गरेका थिए। 

मारुती सुजुकीले भारतमा कार उत्पादनसँगै समग्र ईभी इकोसिस्टममा पनि लगानी गरिरहेको जनाएको छ। अन्य कार उत्पादकले कार उत्पादन गरेर बिक्री गर्दै इकोसिस्टम पनि व्यापक रुपमा बनाइरहेका छन्। सुजुकीले भने इकोसिस्टम र कार एकैपटक ल्याउने बताएका छ। 

सुजुकीले रिसेल भ्यालुको समेत एस्योरेन्स गर्ने बताएको छ। तर यो कसरी हुने भन्ने कम्पनीले हालसम्म खुलाएको छैन। मारुती सुजुकीले कार बिक्रीमा ल्याएसँग उक्त योजनाबारे पनि सार्वजनिक गर्ने अनुमान गरिएको छ। 

सुजुकीले विद्युतीय कार भारतबाट युरोप र जापानी निर्यात सुरु गरेपछि नेपाली बजारमा समेत आउनेछ। सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले भारतमा जस्तै गरि क्रमिक रुपमा विद्युतीय कारको इकोसिस्टम बनाउने छ। सुजुकी कम्पनीको नीतिअनुसार विद्युतीय कार आउने तय भएसँगै इकोसिस्टम निर्माण सुरु हुनेछ। 


प्रकाशित : आइतबार, भदौ ३० २०८१०९:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend