शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, असोजदेखि नै निर्माण सुरु हुने

सोमबार, भदौ १७ २०८१
ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको पीपीए सम्पन्न, असोजदेखि नै निर्माण सुरु हुने

काठमाडौं- एबीपी इनर्जी प्रालिले प्रवर्द्धन गरेको ८ मेगावाटको ताँदी घ्याङफेदी जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । 

नेपाल विद्युत प्राधिकरण र एबीपी इनर्जीका प्रतिनिधिबीच सोमबार पीपीएमा हस्ताक्षर भएको हो। 

यो आयोजनाको सञ्चालकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इप्पानका महासचिव बलराम खतिवडादेखि सूचना प्रविधि विज्ञ असगर अलिलगायत रहेको कम्पनीका अध्यक्ष पुर्णलाल श्रेष्ठले जानकारी दिए।

प्रस्तावित जलविद्युत आयोजना नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ ताँदीमा निर्माण हुनेछ। यो आयोजनाको सबै खालको अध्ययन पूरा भएको छ। यो जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) २०८० बैशाखमा तयार भएको हो। 

यो ८ मेगावाट जडित क्षमता भएको परियोजना हो। प्रस्तावित जलविद्युत् आयोजनाको ग्रस हेड ४४६ मिटर रहेको छ। यो जलविद्युत आयोजनाका लागि २२८१.३६ मिटर हेडरेस पाइप राखिनेछ। १६३२.०८ मिटर पेनस्टक पाइप निर्माण गरिनेछ। उत्पादित विद्युत् ३३ केभी सिंगल सर्किटको १० किमी प्रसारणलाइन निर्माण गरेर समुन्द्रटार सबस्टेसनमा जोडिनेछ।

यो जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत २० करोड ५ लाख रुपैयाँ रहेको छ। आगामी असोज २९ गतेबाट निर्माण थाल्ने योजना छ। २०८४ बैशाख मसान्तमा व्यवसायिक उत्पादनको लक्ष्य छ।


प्रकाशित : सोमबार, भदौ १७ २०८११७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend