शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बाजुराका ५७ वडा विद्युत् सेवाबाट वञ्चित

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १६ २०८१
बाजुराका ५७ वडा विद्युत् सेवाबाट वञ्चित

राष्ट्रिय प्रसारण लाइनका विद्युत् सेवाग्राही चार हजार चार सय ८३ ग्राहक रहेको तथ्यांक छ। सबैभन्दा कम ३३ दशमलव ५१ प्रतिशत विद्युतीकरण भएको राष्ट्रिय तथ्यांकमा उल्लेख छ।

बाजुरा- बाजुराका ६९ वडामध्ये १२ वटा वडामा नेपाल विद्युत् प्राधिकरणले लाइन विस्तार गरी विद्युत् सेवा प्रवाह गर्दै आएको छ। विद्युत् प्राधिकरणले साविकका २७ गाउँ विकास समितिका ६९ वडामध्ये साविकका चार गाउँ विकास समिति र हालका १२ वडामा मात्र विद्युत् सेवा विस्तार गरेको हो। 

हालै नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार यहाँका नौ स्थानीय तहमध्ये गौमुल गाउँपालिकामा मात्र विद्युत् सेवा विस्तार हुन बाँकी रहेको तथ्यांक सार्वजनिक गरेको छ। जिल्लामा चार नगरपालिका र पाँच गाउँपालिका गरी नौ स्थानीय तह छन्। तीन पालिकाका ६९ वडामध्ये १२ वडामा मात्र राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार भएको छ। 

सदरमुकामसमेत रहेको बडिमालिका नगरपालिका-६ वडा, बुढीगंगामा तीन वडा र खप्तड छेडेदह गाउँपालिकाका तीन  वडामा मात्र विद्युत् सेवा विस्तार भएको प्राधिकरण वितरण केन्द्रका सूचना अधिकारी गुणराज भट्टले जानकारी दिएका छन्।

वितरण केन्द्रको तथ्यांकमा जिल्लाका १२ वडामा मात्र विद्युत् सेवा विस्तार भएको तथ्यांक भए पनि प्राधिकरण केन्द्रीय कार्यालयले भने एक पालिकामा मात्र विद्युत् सेवा विस्तार हुन नसकेको तथ्यांक सार्वजनिक गरेर त्रुटि गरेको हो। 

सूचना अधिकारी भट्टका अनुसार बूढीगंगा नगरपालिका-१, २ र ३, बडिमालिका नगरपालिका-१, २, ३, ७, ८ र ९ मा मात्र विद्युत्को लाइन विस्तार गरी सेवा प्रवाह भइरहेको छ। त्यसैगरी खप्तड छेडेदह गाउँपालिका-५ र ७ पूरै तथा वडा नं ६ का ५५ परिवारलाई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। 

बडिमालिका नगरपालिका साविकका मार्तडी र जुगाडा, बूढीगंगा नगरपालिकाको साविक ब्रह्मतोला गाविस र खप्तड छेडेदह गाउँपालिकाको साविक आटिचौर र डोगडीमा मात्र राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार गरिएको छ। जिल्लामा राष्ट्रिय प्रसारण लाइनका विद्युत् सेवाग्राही चार हजार चार सय ८३ ग्राहक रहेको तथ्यांक छ। सबैभन्दा कम ३३ दशमलव ५१ प्रतिशत विद्युतीकरण भएको राष्ट्रिय तथ्यांकमा उल्लेख छ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार बाजुरामा एक लाख ३८ हजार नौ सय ९८ जनसङ्ख्या छ । जिल्लामा  २२ हजार नौ सय २१ परिवार विद्युत्को पहुँचमा रहेको जनाएको छ।

त्यसैगरी चार हजार तीन सय ४२ परिवारले सौर्य ऊर्जा तथा सोलार र ६७ परिवारले मट्टितेल प्रयोग गर्ने गरेको जनगणनाको तथ्यांकमा उल्लेख छ। उक्त तथ्यांकानुसार बिजुलीबाट खाना पकाउने १८ परिवार मात्र रहेको उल्लेख छ। 

पच्चीस हजार सात सय ५१ परिवार अझै दाउरा प्रयोग गरिरहेका छन् भने दुई हजार परिवारले एलपिजी ग्यासबाट खाना पकाउने गरेको जनगणना २०७८ को तथ्यांकमा उल्लेख छ।

त्यसैगरी दुई सय ४१ बायोग्यास, १८ परिवार मट्टितेल र अन्यमा खाना पकाउने १३ परिवार रहेका छन्। हिमाली गाउँपालिका बिच्छँयाका पाँच सय ८४ परिवार अँध्यारोमा बस्न बाध्य छन्।  

साविकको बिच्छँया गाविसका रूपमा रहेको बिच्छँयामा २०७८ को जनगणनाअनुसार तीन हजार तीन सय ७१ नागरिक बसोबास गर्दै आएका छन्। रासस


प्रकाशित : आइतबार, भदौ १६ २०८११०:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend