बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

काँक्रो र लौका बेचेर लखपति बनेका भुनेश्वर

चार महिनामै तीन लाख रुपैयाँभन्दा बढीको लौका बिक्री

आइतबार, भदौ ९ २०८१
काँक्रो र लौका बेचेर लखपति बनेका भुनेश्वर

यति आम्दानीमै उनी सीमित हुन तयार भने छैनन्। १०/१५ दिनमा काँक्रो लगाएको खेतमा गोलभेँडा फलाउने उनको योजना छ।

बारा- गाउँघरमा बेरोजगार युवाहरुको संख्या बाक्लै छ। कामको खोजीमा कोही गाउँमै भौतारिरहेका छन् भने कति युवा सहर पसेका छन् रोजगारी पाइने आशामा। तर सहरमा समेत रोजगारी नपाउँदा उनीहरु गाउँमै खेतीकिसानी र सामान्य ज्यालामै मजदूरी गरी जीवन निर्वाह गरिरहेका छन्।

बाराको कलैया उपमहानगरपालिका वडा नं. १६ उत्तरझिटकैयाका ४५ वर्षीय नवराज महतो (भुनेश्वर) पनि अहिले कृषिमा जमिरहेका छन्। सामान्य खेतीकिसानीबाट गुजारा गर्दै आएका महतो त्यसैलाई व्यावसायिक बनाएर अहिले चार महिनामै लखपति बन्न सफल भएका छन्।

कृषि कर्म गर्दा सिकेका सीपलाई आफ्नै ५ कठ्ठा जग्गामा प्रयोग गर्दै महतोले आफूलाई कृषिबाटै आर्थिकरुपमा सबल र सफल बनाएका छन्। चार महिना अगाडि व्यावसायिक तरकारी खेती सुरु गरेका महतो आफ्नै खेतमा उत्पादित काँक्रो र लौका बेचेर अहिले लखपति बन्न सफल भएका हुन्।

करिब एक लाख १५ हजार रूपैयाँ लगानी गरेर आफ्नै गाउँघरमा मेहनतको प्रतिफल चार महिनामै पाउन उनी सफल भए। खेतीबाट उनले अहिलेसम्म ३ लाखभन्दा बढी आम्दानी गरिसकेका छन्।

‘अहिलेसम्म चारसय लौका बिक्री गरिसकेको छु। अझै ४/५ सय लौका उत्पादन हुने अनुमान गरेको छु। यसले अझ ५० प्रतिशत आम्दानी बढाउने अनुमान छ। अहिलेकै आम्दानीले खेतमा गरिएको लगानी उठिसकेको छ,’ उनले भने, ‘यसबाहेक एक लाख ८० हजार खुद नाफा गर्न पाएको छु। यतिधेरै रकम पहिलोपटक नगद आम्दानीको रुपमा हात पारेको छु। यसले आफूलाई थप मजबुत बनाएको छ।’

nawaraj mahato2.jpg

काँक्रो र लौका बेचेर चार महिनामै आफू लखपति बनेको सुनाउँदै उनले कृषिबाट यति धेरै पैसा गाउँमै बसेर कमाउन सकिन्छ भन्ने आफूले विश्वासै नगरेको बताए। अझ दुई महिना अर्थात् कात्तिक मसान्तसम्म लौका उत्पादन हुने महतोको भनाइ छ। यसले आम्दानी थपिने र ६ महिनामै आम्दानी साढे ५ लाखसम्म हुने उनको अनुमान छ।

यति आम्दानीमै उनी सीमित हुन तयार भने छैनन्। १०/१५ दिनमा काँक्रो लगाएको खेतमा गोलभेँडा फलाउने उनको योजना छ।

एक सिजनमा कम्तीमा ७ देखि ८ लाख रूपैयाँसम्मको गोलभेँडा फलाउने उनको दाबी छ। आउने दिनमा तरकारी खेतीलाई नै प्राथमिकतामा राखेर खेतीपातीलाई व्यावसायिक बनाउने योजनामा आफू लागेको उनले बताए।

आफूजस्तै गाउँका बेरोजगार युवालाई व्यावसायिक तरकारी खेती गरेर आम्दानी बढाउन उनले सुझावसमेत दिएका छन्।

‘गाउँका युवाले यसरी नै आफूलाई रोजगारमुखी बनाए गाउँकै मुहार फेरिने थियो। आफ्नै गाउँमा बसेर यहाँको आर्थिकस्तर माथि उकास्न ठूलो योगदान दिन सकिन्छ', उनले भने।

nawaraj mahato1.jpg

महतोकै सहपाठी हुन् असेश्वर पटेल। महतोको काम देखेर आफू धेरै खुशी भएको बताउँदै उनले गाउँका अन्यले पनि यसको सिको गर्नुपर्नेमा जोड दिए। भुनेश्वरजस्तै अरु युवालाई तरकारी खेतीप्रति प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्र र उपमहानगरपालिकाले अनुदान दिएर उनलाई थप हौसला प्रदान गर्नुपर्ने पटेल बताउँछन्।

व्यावसायिक खेती गर्ने किसानलाई थप प्रोत्साहित गर्न कार्यालयबाट अनुदान प्रदान गरिँदै आएको तर मागअनुसारको बजेट अभावले चाहेअनुसारको कार्यक्रम गर्न नसकिएको कृषि ज्ञान केन्द्र कलैया, बाराका निमित्त प्रमुख राजनारायण प्रसाद साहले बताए।

‘व्यावसायिक तरकारी खेती गर्नेलाई सरकारले मलखादको व्यवस्था गरेको छैन,’ उनले भने, ‘तरकारी खेती गर्ने किसानलाई पनि अनुदानको मल र बिउबीजनमा थप अनुदान दिनुपर्छ तर बजेट र नीतिको अभावमा उनीहरुलाई मल अनुदान उपलब्ध गराउन सकिएको छैन।’

स्थानीय जनप्रतिनिधिले कृषिलाई व्यावसायिक बनाउन सक्रिय किसानको समस्या सम्बोधन हुने गरी कृषि नीति बनाइ मललगायत अनुदान वितरण प्रणालीलाई सहज बनाउनुपर्नेमा निमित्त प्रमुख साहको जोड छ। 


प्रकाशित : आइतबार, भदौ ९ २०८१०६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend