बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

चार सर्तसहित सरकारले हटायो टिकटकमाथिको प्रतिबन्ध

बिहीबार , भदौ ६ २०८१
चार सर्तसहित सरकारले हटायो टिकटकमाथिको प्रतिबन्ध

काठमाडौं- सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले टिकटकमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेको हो। 

सरकारले राखेका चार सर्तहरु तीन महिनाभित्र कार्यान्वयन गर्न टिकटक तयार भएपछि उसमाथिको प्रतिबन्ध हटाउने निर्णय गरिएको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए। 

सरकारले अगाडि सारेको सर्तहरुमा टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने रहेको उनले बताए।

कुनै निश्चित सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउँदा यसबाट गलत सन्देश प्रवाह हुने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै मन्त्रिपरिषदमा टिककटमाथिको प्रतिबन्ध हटाउनुपर्ने बताएका थिए। 

यता टिकटकले पनि आफूमाथिको प्रतिबन्ध हटाउन भन्दै पटक-पटक नेपाल सरकारलाई पत्राचार गर्दै आएको थियो। सामाजिक सदभाव बिगारेको भन्दै तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो। 

सरकारले टिकटकमा प्रतिबन्ध लगाएपनि प्रयोगकर्ताहरुले भीपीएन र ओपन डीएनएसको सहयोगमा टिकटक चलाउँदै आएका थिए। कतिपय इन्टरनेट सेवा प्रदायकको इन्टरनेटमा भने टिकटक चलिरहेको थियो।

अन्तर्राष्ट्रिय व्याण्डविथको खपत गर्दै प्रयोगकर्ताले टिकटक चलाएको र यसले नेपालका इन्टरनेट कम्पनीले आम्दानीमा कमी आइ राज्यले करोडौँ राजस्व गुमाएको इन्टरनेटसेवा प्रदायकहरूले बताउँदै आएका थिए। 


प्रकाशित : बिहीबार , भदौ ६ २०८१२०:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend