बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

गोरखाको विकट क्षेत्रमा टेलिकमको सेवा विस्तार

बुधबार, साउन ३० २०८१
गोरखाको विकट क्षेत्रमा टेलिकमको सेवा विस्तार

यो सुविधाले पर्यटकहरुसँग सम्पर्क तथा समस्यामा परेको समयमा उद्धार कार्यमा समेत सहजता हुने टेलिकमले जनाएको छ।

काठमाडौं- नेपाल टेलिकमले गोरखा जिल्लाको भौगोलिक रुपमा अत्यन्त विकट उत्तरी भेगको तिब्बत नाकातर्फको मार्ग, मनास्लु हिमाल क्षेत्र, मनासलु पदमार्ग तथा संरक्षण क्षेत्र, लार्केपास, मनाङ पदमार्ग तथा चुमनुब्री गाँउपालिकाअन्तर्गतका विभिन्न स्थानहरुमा मोबाइल सेवा विस्तार गरेको छ।

स्वदेशी तथा विदेशी पर्यटकहरुको अत्यधिक चहलपहल तथा भ्रमण हुने उक्त क्षेत्रहरुमा ग्राहकहरुको मागलाई लक्षित गरी कम्पनीले भ्वाइस तथा डाटा सेवाको विस्तारका साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार गर्ने कार्यसमेत सम्पन्न गरेको कम्पनीले जनाएको छ।

जिल्लाको अति विकट चुमनुब्री गाउँपालिकाका जगत, सल्लेरी, सिर्दिबास, विहि, प्रोक, नामरुंग, श्यो, ल्हो सामागाउँका साथै चीनको सिमानामा पर्ने रूईला नाकाको अन्तिम गाउँ साम्दो सम्म कम्पनीले टु जी सेवाको क्षमता अभिवृद्धि गर्नुका साथै द्रुत गतिको फोरजी समेत सञ्चालन गरेको छ।

ल्हो, सामागाउँ, तथा गमलाडाँडामा रहेका साइटहरुमा भिस्याट प्रविधिमा माइक्रोवेव ट्रान्समिसन लिंकले प्रतिस्थापन गरी टुजी सेवाको गुणस्तर सुधार एवम् क्षमता अभिवृद्धि तथा फाेरजी सेवा सञ्चालन गर्नुका साथै श्योडाँडा र साम्दोमा नयाँ साइट निर्माण गरी टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालन गरिएको  कम्पनीले जनाएको छ।

भौगोलिक हिसाबले अत्यन्त विकट स्थानहरुमा सेवा सञ्चालन गरेसँगै यस भेगका स्थानीयवासी, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटनलगायत अन्य व्यवसायीहरुले आधुनिक दूरसञ्चार सेवाको प्रयोग गरी लाभ लिन सक्ने कमपनीको दाबी छ।

साथै पर्यटकहरुसँग सम्पर्क तथा समस्यामा परेको समयमा उद्धार कार्यमा समेत सहजता हुने टेलिकमले जनाएको छ। 


प्रकाशित : बुधबार, साउन ३० २०८११७:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend