बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

टेलिकमका सबै प्रिपेड मोबाइल नम्बरमा अब स्वत: अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध हुने

बुधबार, साउन ३० २०८१
टेलिकमका सबै प्रिपेड मोबाइल नम्बरमा अब स्वत: अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध हुने

नेपाल टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारत बाहेकका अन्य देशहरुमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ।

काठमाडौं- नेपाल टेलिकमले आजदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिकरुपमा स्वतः उपलब्ध हुने व्यवस्था मिलाएको छ।

हाल प्रिपेड ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय गराउनुपर्ने अवस्था रहेकोमा अब भने सबै प्रिपेड ग्राहकहरुको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रुपमा स्वतः उपलब्ध हुने टेलिकमले जनाएको छ।

सेवाग्राहीले *१४१५*७# डायल गरेपश्चात उपलब्ध हुने मेनुबाट उपयुक्त विकल्प छनौट गरी आफ्नो मोबाइलमा रोमिङ सेवा उपलब्ध भए वा नभएको यकिन गर्न सक्नेछन्। अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु भएका ग्राहकहरुले नेपाल टेलिकमकै सिम प्रयोग गरी विदेशमा पनि भ्वाइस, डाटा र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन्।

नेपाल टेलिकमले रोमिङ सेवा उपलब्ध गराएका भारतबाहेकका अन्य देशहरुमा यो सुविधा क्रमशः उपलब्ध हुनेछ। भारतमा भने यो सेवा उपयोग गर्नका लागि कम्पनीका ग्राहकहरुले नेपालमै रहँदा आफ्नो मोबाइलबाट यूएसएसडी कोड *१४१५*७# डायल गरी वा नेपाल टेलिकम एपमार्फत अन्तर्राष्ट्रिय रोमिङ सेवा सुचारु गर्न सक्नेछन्।

नेपाल टेलिकमको प्रिपेड मोबाइलमार्फत हाल ४० देशमा रोमिङ सुविधा प्रयोग गर्न सकिन्छ। सेवाग्राहीले विश्वका विभिन्न ४० देशमा नेपाल टेलिकमकै प्रिपेड मोबाइलमार्फत भ्वाइस, डाटा र एसएमएस सेवा चलाउन सक्छन्। यसका लागि ती देशहरुमा रहेका ५४ अपरेटरसँग सम्झौता सम्पन्न भई सेवा सञ्चालनमा रहेको छ।

नेपाल टेलिकमले विदेशमा जाने वा बस्ने नेपालीहरुलाई लक्षित गरी उपलब्ध गराएका विभिन्न सुविधामध्ये रोमिङ सेवा निकै नै उपयोगी रहेको टेलिकमले जनाएको छ। अब कम्पनीका सबै प्रिपेड ग्राहकहरुको मोबाइल नम्बरमा स्वतः रोमिङ सेवा उपलब्ध भएपश्चात सेवाग्राहीले सहज तरिकाले यो सेवा प्रयोग गर्न सक्ने कम्पनीको विश्वास छ। 


प्रकाशित : बुधबार, साउन ३० २०८११६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend