बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

'नास आईटी अवार्ड्स २०२४' आयोजना हुँदै, क-कसले दिनसक्छन् आवेदन?

बुधबार, साउन ३० २०८१
'नास आईटी अवार्ड्स २०२४' आयोजना हुँदै, क-कसले दिनसक्छन् आवेदन?

नास आईटी अवार्डको ग्राण्ड फिनाले सेप्टेम्बर २७ मा हुनेछ। अवार्ड विजेताहरूलाई डिसेम्बर २०२४ मा ब्रुनेईमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा) अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ।

काठमाडौं- नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले 'नास आईटी अवार्ड्स २०२४' आयोजना गर्ने भएको छ। यसले नेपालको आईटी क्षेत्रको उत्कृष्टता उजागर गर्न र अन्तर्राष्ट्रिय एपिक्टा अवार्ड्सको तयारी गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ।

नास आईटीका अध्यक्ष रिचन श्रेष्ठले नास आईटी अवार्ड्सजस्ता कार्यक्रमहरूमार्फत नेपालको उद्योगको उपस्थिति र विश्व मञ्चमा प्रभाव बढाउने लक्ष्य राखेको बताए। 'हाम्रो उद्देश्य नेपालका आईसीटी क्षेत्रलाई प्रतिनिधित्व गर्नु र स्थानीय कम्पनीहरूलाई विश्वव्यापी मञ्चमा आफ्नो नवप्रवर्तनहरू विस्तार गर्न मद्दत गर्नु हो', उनले भने।

नास आईटी अवार्ड्सका कार्यक्रम प्रमुख संयोजक प्रार्थना साख:ले नास आईटी अवार्ड्सले उत्कृष्ट कम्पनीहरूलाई मान्यता मात्र नदिइ नेपालका पृथक नवप्रवर्तनहरूलाई प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय मञ्च पनि प्रदान गर्ने कुरा जोड दिइन्। 

नास आईटीका उपाध्यक्ष सन्तोष कोइरालाले यो अवार्ड नेपालको आईटी क्षेत्रमा भएका उत्कृष्ट उपलब्धिहरूलाई मान्यता दिने एक प्रतिष्ठित मञ्च भएको भन्दै यसले अन्तर्राष्ट्रिय बजारमा मान्यता पाउन योग्य नवप्रवर्तनहरूलाई उजागर गर्न मद्दत गर्ने बताए।

अवार्डमा आवेदन दिन नेपालमा दर्ता भएको कम्पनी हुनुपर्नेछ। यदि विदेशी लगानीको कम्पनी भए त्यसमा ५१ प्रतिशत स्वामित्व नेपालको हुनुपर्नेछ। साथै ग्राजुएट भएको १ वर्षसम्मका विद्यार्थीले समेत आफ्नो परियोजनालाई अवार्डमा पठाउन सक्नेछन्।

आवेदन दिनका लागि विद्यार्थीको परियोजनालाई १ हजार र अन्यलाई ५ हजार रूपैयाँ शुल्क तोकिएको छ। आवेदन दिनपछि पिचिङ राउन्ड सुरू हुनेछ। त्यसमा मूल्यांकनका लागि ३ देखि ५ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जजहरू हुनेछन्।

नास आईटी अवार्डको ग्राण्ड फिनाले सेप्टेम्बर २७ मा हुनेछ। अवार्ड विजेताहरूलाई डिसेम्बर २०२४ मा ब्रुनेईमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा) अवार्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ।

यस वर्ष एपिक्टा अवार्डमा नेपालसहित अष्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनाम बीच प्रतिस्पर्धा हुनेछ। 


प्रकाशित : बुधबार, साउन ३० २०८११६:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend