बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

वीरगञ्ज भन्सार परिसरमा पहिलेजस्तो देखिँदैनन् सवारीसाधन

सोमबार, साउन २८ २०८१
वीरगञ्ज भन्सार परिसरमा पहिलेजस्तो देखिँदैनन् सवारीसाधन

वीरगञ्ज भन्सार परिसरमा नयाँ सवारीसाधन कम छन्। विद्युतीय सवारीसाधनको माग बढेपछि इन्धनबाट चल्ने सवारीको खरिद-बिक्रीमा व्यापकरुपमा गिरावट आएको व्यवसायीहरू बताउँछन्।

पर्सा- विगतमा नयाँ सवारीसाधनले भरिभराउ रहने वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँचचौकी परिसरमा अहिले नयाँ सवारीसाधनको संख्या कम देखिन्छ। बजेट भाषणअघिसम्म करिब १ हजार ५ सयको हाराहारीमा चौकी परिसरमा नयाँ सवारीसाधन रहेकामा हाल ५ सयको हाराहारीमा मात्र नयाँ सवारीसाधन रहेका छन्।

वीरगञ्ज भन्सार कार्यालयले बजेट भाषणअघि नै आयातकर्ताहरूलाई आ-आफ्नो सवारीसाधन जाँचपास गराइ लैजान पटकपटक पत्राचार गरी दबाब दिएपछि अधिकांश आयातकर्ताले बजेटअघि नै जाँचपास गराइ लगिसकेका थिए। बजेटपछि नयाँ सवारीसाधन भित्रिने क्रम पनि घटेकाले चौकी परिसरमा विगतको जस्तो नयाँ सवारीसाधनको भिडभाड अहिले नभएको हो।

वीरगञ्ज नाका नयाँ सवारीसाधन भित्रिने देशकै प्रमुख नाका हो। वीरगञ्ज भन्सारले असुली गर्ने कुल राजस्वमा नयाँ सवारीसाधनबाट संकलन हुने राजस्वको उल्लेखनीय भूमिका रहने गरेको छ।

विशेषगरी भारत तथा तेस्रो मुलुकबाट भित्रिने जीप, कार, भ्यानजस्ता हलुका सवारीसाधनबाट बढी राजस्व आउने गर्छ। 

हाल भारतीय सहर रक्सौल तथा आसपासको पार्किङमा महिन्द्रा कम्पनीको ५ वटा कारमात्र रहेको छ। बाँकी अन्य सबै कम्पनीका सवारीसाधन नेपाल भित्रिसकेको बताइएको छ। वीरगञ्ज नाकाबाट भित्रिने हलुका सवारीसाधनको मुख्य बजार संघीय राजधानी काठमाडौं नै हो। 

कतिपय आयातकर्ताहरूले सवारीसाधन भन्सार बिन्दुमा भित्र्याएर पार्किङ तथा विलम्ब शुल्क तिरेर भए पनि चौकी परिसरमै ती सवारी राख्ने गरेका छन्। खरिदकर्ताले बुक गरेपछि मात्र सवारीसाधन बिक्रेताहरीले यहाँबाट ती सवारी जाँचपास गराइ लग्ने गरेका छन्।

birgunj janch chauki - gadi.jpg

काठमाडौंमा पार्किङस्थलको अभाव रहेको र त्यहाँ पार्किङ गरेर राख्दा वीरगञ्ज भन्सार परिसरभन्दा चर्को शुल्क लाग्ने भएकाले अधिकांश सवारीसाधन आयातकर्ताले यसो गर्छन्।

हाल एकीकृत सुरक्षा जाँचचौकी परिसर वीरगञ्जमा ४ सय ७१ नयाँ सवारीसाधन मात्र रहेका छन्। जसमध्ये एक सय ९६ वटा बस ट्रकका चेचिस छन्। २ सय ७५ वटा विभिन्न कम्पनीका जीप, कार र भ्यान छन्। 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत रघुलाल कर्ण आर्थिक मन्दीले चारपांग्रे सवारीसाधनको क्रेता घटेपछि सवारी आयातमा भारी मात्रामा कमी आएको बताउँछन्। पछिल्लो समय ईभी सवारीको माग बढेको कारण पनि इन्धनबाट चल्ने सवारीसाधनको बिक्रीमा ह्रास आएको हुन सक्ने उनको बुझाइ छ।

अहिले ठाउँठाउँमा ईभी सवारीको चार्जिङ स्टेसन निर्माण भएको र यसको सञ्चालनमा सहजता भएपछि ईभी सवारी सबैको रोजाइमा पर्न थालेको छ। ईभी सवारीसाधनको माग बढेपछि इन्धनबाट चल्ने सवारीको खरिदबिक्रीमा व्यापकरुपमा गिरावट आएको व्यवसायीहरूको भनाइ छ।

भारतीय सहर रक्सौलको हाजमा टोला, लक्ष्मीपुर, पन्टोकामा सधैँ भरिभराउ रहिरहने विभिन्न कम्पनीको पार्किङस्थल अहिले खाली अवस्थामा रहेको छ। 


प्रकाशित : सोमबार, साउन २८ २०८१११:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend