बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

८ वर्षदेखि विवादमै अड्किएको हुलाकी सडक, पानी छर्किनमै सकियो साढे ३ करोडभन्दा बढी रकम

आइतबार, साउन २७ २०८१
८ वर्षदेखि विवादमै अड्किएको हुलाकी सडक, पानी छर्किनमै सकियो साढे ३ करोडभन्दा बढी रकम

कलैया उपमहानगरपालिकाको बजार क्षेत्रको सडकमा मात्र भूमिगत विद्युतीय तार लैजाने नेपाल विद्युत प्राधिकरणको योजनामा कलैया उपमहानगरपालिका २ औधापुरका बासिन्दाले विवाद झिकेपछि सडक निर्माण कार्य अझ अन्यौलमा परेको छ।

पर्सा- हुलाकी सडकअन्तर्गत मटिअर्वा-मानमत सडकखण्डमा कलैया उपमहानगरपालिका बजार तथा ग्रामीण क्षेत्रको साढे ३ किलोमिटर सडक विगत ८ वर्षदेखि विवादमै अड्किएको छ।

भारतीय अनुदानमा ठेक्का भएको मटिअर्वा-मानमत सडक मुआब्जा र निषेधाज्ञा मुद्दाका कारण पुरानो ठेकेदारले बनाउन सकेनन्।

दुई भागमा विभाजन गरी २६ दशमलव ६ किलोमिटर लम्बाइ भएको उक्त सडकलाई कालोपत्र गर्ने ठेक्का लगाइएको थियो तर स्थानीय बासिन्दा तथा राजनीतिक दलको किचलो तथा मुआब्जा विवादका कारण कलैया बजार क्षेत्रकै तीन किलोमिटर र सितलपुर गाउँको ५ सय मिटर सडक अहिलेसम्म कालोपत्र हुन सकेको छैन।

सम्झौताअनुसार ठेक्काको क्रममा ठेकेदार आशिष/बीएस जेभी निर्माण कम्पनीले ४८ करोड ५८ लाखमा सडक निर्माण गर्न २०७३ सालमा ठेक्का सम्झौता गरेको थियो। तर विवादै विवादका कारण ठेकेदारले बजार क्षेत्रको सडक जस्ताको त्यस्तै छाडेर २३ दशमलव १ किलोमिटर सडक कालोपत्र २०७७ सालमा सम्पन्न गरिसकेको छ।

कालोपत्र भएको उक्त सडकलाई आवधिक मर्मत गर्नुपर्ने बेला आइसकेको छ तर कालोपत्र हुन बाँकी रहेको विवादित सडक अझै पुरानै अवस्थामा रहेको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय वीरगञ्जका प्रमुख अरुण कुमार कर्णले जानकारी दिए।

‘मुआब्जा विवाद झिकेर अतिक्रमित क्षेत्र खाली नगर्दा ठेकेदारले समयमा उक्त सडक कालोपत्र गर्न सकेनन्,’ उनले भने, ‘अहिले सबै विवाद समाधान पारेर ९८ प्रतिशत अतिक्रमित क्षेत्र खाली गराइसकिएको छ।’

hulaki.jpg

सडक कालोपत्र गर्न र आवश्यक पूर्वाधार निर्माण कार्य गर्न ठेक्का भइसकेको अवस्थामा आम जनताले बिजुलीको लाइन विस्तारमा विवाद खडा गरेको उनले बताए। त्यो विवाद चाँडै नै समाधान गरी कलैयामा चार लेनको सडक निर्माण गर्ने प्रक्रिया अगाडि बढाइने उनले जानकारी दिए।

कलैया उपमहानगरपालिकाको बजार क्षेत्रको सडकमा मात्र भूमिगत विद्युतीय तार लैजाने नेपाल विद्युत प्राधिकरणको योजनामा कलैया उपमहानगरपालिका २ औधापुरका बासिन्दाले विवाद झिकेपछि सडक निर्माण कार्य अझ अन्यौलमा परेको छ।

विवादै विवादका कारण अहिलेसम्म सडकको धुलो हिलोको सामना गरिरहेका नगरवासीलाई विद्युत प्रसारण लाइनको विवादले थप चिन्तित बनाएको स्थानीय सञ्जय गुप्ताले बताए।

‘विद्युत प्रसारण लाइन औधापुरमा पनि भूमिगत गर्नुपर्ने भन्दै स्थानीयले विवाद झिकेका छन्,’ उनले भने, ‘यो विवादलाई साम्य पार्न औधापुरकै कृष्ण प्रणामी मन्दिरमा भेला गरिएको थियो।’

तर नेपाल विद्युत प्राधिकरण मधेस प्रदेशका निर्देशक मुनिन्द्र ठाकुर र कलैया उपमहानगरपालिकाका मेयर विनोद साहले आफ्नो अडान नछाडेपछि भेला निष्कर्षविहीन टुंगिएको उनले जानकारी दिए।

hulaki sadak - matiarwa - manmat.jpg

मेयर साहले निर्वाचनमा आफूलाई सघाएका औधापुरवासीको मागमा सहमति जनाउँदै उक्त गाउँमा पनि भूमिगत तार बिछ्याउने कार्य हुनुपर्ने तर्क दोहोर्‍याएका थिए। तर प्राधिकरणका निर्देशक ठाकुरले यो सडकमा अरु पनि थुप्रै गाउँँ रहेको र उनीहरुले राखेको भूमिगतकै मागलाई कसरी सम्बोधन गर्ने? प्रश्न गर्दै अहिले नै सबै क्षेत्रमा विद्युतीय तार भूमिगत गर्न नसकिने जिकिर गरेका थिए।

दुवैको अडानकै कारण भेला निष्कर्षविहीन टुंगिएको भेलामै सहभागी स्थानीय युवा राजेश पटेलले बताए। आफूहरुको गाउँमा पनि भूमिगत तार बिछ्याउनुपर्ने मागमा पुरै गाउँले अडिग रहेको र माग पूरा नहुन्जेलसम्म विद्युतको काम अगाडि बढ्न नदिने बताए।

सडकमा धुलो उड्न नदिन साढे ३ करोडभन्दा बढी रकम पानीमा

कलैया उपमहानगरपालिकाले विवादका कारण अधुरो रहेको कलैया बजार क्षेत्रको सडकमा उडेको धुलो उड्न नदिन अहिलेसम्म सडकमा पानी छर्नमै साढे ३ करोडभन्दा बढी रकम खर्च गरिसकेको छ। उक्त सडकमा बिहान र बेलुका पानी छर्ने काम मेयरकै आफ्नो मान्छेले गर्दै आएका छन्। 

सडकमा पानी कम छर्ने र बढीको बिल बनाएर उपमहानगरपालिकाबाट भुक्तानी लिएर रकम स्वाहा गर्ने गरेको स्थानीयको आरोप रही आएको छ। मेयर साहले आफ्नो कार्यकालमा सडक निर्माण कार्यलाई पूरा हुन नदिन र यसलाई चुनावी मुद्दा बनाउन यसरी विवादलाई समाधान गर्नुको साटो प्रशय दिँदै आएको स्थानीयले आरोप लगाएका छन्। 

मेयर साहले धुलो उड्न नदिन स्थानीयको समस्यालाई मध्यनजर गर्दै नगरपालिकाबाट दिनहुँ सडकमा पानी छर्ने गरिएको र त्यो नगरपालिकाबाट फजुल खर्च भइरहेको स्वीकार गरेका छन्।     


प्रकाशित : आइतबार, साउन २७ २०८११०:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend