बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पर्सा निकुञ्जमा मृत भेटिए दुई पुरुष, हात्तीको आक्रमणमा मारिएको आशंका

बुधबार, साउन २३ २०८१
पर्सा निकुञ्जमा मृत भेटिए दुई पुरुष, हात्तीको आक्रमणमा मारिएको आशंका

शव फेला परेको स्थान निकुञ्जको कोर एरिया भएको र उनीहरु त्यहाँ के गर्न गएका हुन खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

पर्सा- पर्सा राष्ट्रिय निकुञ्जमा दुई पुरुष मृत अवस्थामा भेटिएका छन्। निकुञ्जभित्र रहेको रामभौरी भाठा मन्दिरभन्दा करिब २० किलोमिटर उत्तरपश्चिममा शितलपुर क्षेत्रको चुरेको फेदमा दुवै पुरुषको शव फेला परेको हो।

पर्सा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवम् सूचना अधिकारी सन्तोष भगतले मंगलबार साँझ करिब ५ बजेतिर शरीरभरि चोट लागेको अवस्थामा दुई शव फेला परेको पुष्टि गरे। फेला परेका शव मकवानपुरका ३२ वर्षीय राजकुमार नेगी र ४० वर्षीय रामबहादुर मोक्तानको रहेको उनले जानकारी दिए।

उनका अनुसार शव फेला परेको स्थान निकुञ्जको कोर एरिया भएको र उनीहरु त्यहाँ के गर्न गएका हुन खुल्न सकेको छैन।

मृतक दुवैजनाको आफन्तले बेपत्ता भएको सूचना दिएपछि नेपाली सेना, नेपाल प्रहरी, निकुञ्जकर्मीको टोलीले सोमबारदेखि नै खोजतलास सुरु गरेको थियो। सूचना अधिकारी भगतका अनुसार मृतक दुवैको शवको प्रकृति हेर्दा ३/४ दिनअघि नै मृत्यु भएको देखिन्छ। शरीरको विभिन्न भागमा देखिएको चोटपटकको आधारमा दुवै जनाको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ। 

मृतक दुवैजना चोरी शिकारी गर्न निकुञ्जभित्रको कोर एरियामा पुगेको र जंगली हात्तीको चपेटामा परेको हुनसक्ने अनुमान गरिए पनि घटनाको यथार्थ विवरण मृतकको शव परीक्षणपछि मात्रै आउने उनले बताए।

प्रत्येक वर्ष साउन महिनामा रामभौरी भाठा शिव मन्दिरमा ठूलो मेला लाग्ने गर्दछ। मेलामा पर्सा, बारालगायत छिमेकी देश भारत, बिहारलगायत विभिन्न स्थानबाट धेरै संख्यामा भक्तजन आउने गर्छन्। तर मृतक दुवै जनाको शव हेर्दा उनीहरु मेला भर्न नआएको जस्तो देखिएको निकुञ्जकर्मीले बताएका छन्।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाइसकिएको जनाएको छ। 


प्रकाशित : बुधबार, साउन २३ २०८११२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend