शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

नारायणी पारी सुस्तामा एक करोड ३० लाख लागतमा विद्युत् प्रसारणलाइन विस्तार गरिँदै

मंगलबार, साउन २२ २०८१
नारायणी पारी सुस्तामा एक करोड ३० लाख लागतमा विद्युत् प्रसारणलाइन विस्तार गरिँदै

वारी सुस्ता र पारी सुस्ता दुवैतर्फ विद्युतीकरणको पोल र तार राखिसकिएको र अब झोलुंगे पुलमा आउँदो महिनाभित्र राखिसक्ने निर्माण कम्पनीले जनाएको छ। सो कार्यका लागि एक करोड ३० लाख रूपैयाँ लागत लाग्ने छ।

नवलपरासी- पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-४ स्थित ३ सय ५० घरधुरी रहेको नारायणी पारी सुस्तामा विद्युत् प्रसारण लाइन विस्तार हुने भएको छ। एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुलको प्रयोग गरी नारायणी पारिसम्म विद्युतीकरण गर्न लागिएको हो।

संघीय सरकारको सौर्य मिनी ग्रिड परियोजनाको चार करोड ८० लाख रूपैयाँ लागतमा उज्यालो सुस्ता अभियानको घोषणा गर्दै सुस्तामा सोलार प्रणाली जडान गरिएको थियो। तर सोलार पटक-पटक बिग्रिने र सुस्तावासीलाई पर्याप्त विद्युत् नपुग्ने समस्या थियो। अहिले नारायणी नदीमा झोलुंगे पुल निर्माणसँगै विद्युतीकरण हुने भएपछि सुस्तावासी अब अँध्यारोमा बस्नुपर्ने बाध्यताबाट मुक्त हुने सुस्ता बचाउ अभियानका अभियन्ता रवीन्द्र पटेलले बताए।

सोलार प्रणालीको जडानसँगै सुरु भएको उज्यालो अभियान विद्युतीकरणसहित पूरा हुने भएको हो। झोलुंगे पुलमा विद्युत् सुरक्षाको पूर्ण मापदण्ड पूरा गरी विद्युत् प्रसारण लाइन पुलको सहारामा पारी सुस्ता पुर्‍याउन लागिएको नेपाल प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त झाले जानकारी दिए।

केन्द्र प्रमुख झाका अनुसार हालसम्म छ सय मिटर तार तानिएको छ, 'नेपालमा यस्तो प्रकृतिको विद्युतीकरणको काम पहिलो भएकोले हामीलाई पनि चुनौती छ', उनले भने।

वारी सुस्ता र पारी सुस्ता दुवैतर्फ विद्युतीकरणको पोल र तार राखिसकिएको र अब झोलुंगे पुलमा आउँदो महिनाभित्र राखिसक्ने विद्युतीकरणको ठेक्का पाएको एम डि राजा निर्माण सेवाले जनाएको छ। सो कार्यका लागि एक करोड ३० लाख रूपैयाँ लागत लाग्ने छ। सो रकम प्राधिकरणको स्रोतबाट खर्च गरिने बर्दघाट वितरण केन्द्रका प्रमुख झाले बताए। रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८११६:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend