बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल-भारत भन्सार क्षेत्रमा एक सातादेखि रातको समयमा ड्रोन उड्दै, कसले किन उडाइरहेको छ भन्ने अनुसन्धान हुँदै

सोमबार, साउन २१ २०८१
नेपाल-भारत भन्सार क्षेत्रमा एक सातादेखि रातको समयमा ड्रोन उड्दै, कसले किन उडाइरहेको छ भन्ने अनुसन्धान हुँदै

ड्रोन कसले र किन उडाएको हो पत्ता लगाउन त्यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोली परिचालन गरिएको छ।

पर्सा- देशकै प्रमुख नाका वीरगञ्ज सुक्खा बन्दरगाह र एकीकृत सुरक्षा जाँच चौकी क्षेत्रमा विगत एक सातादेखि रातको समयमा ड्रोन उडिरहेको देखिएको छ। दिनहुँ नेपाल र भारतीय भन्सार क्षेत्र, दशगजा, एसएसबी क्याम्प, सुक्खा बन्दरगाह, तिलावे पुललगायतका क्षेत्रमा रातको समयमा ड्रोन आतंक हुने गरेको स्थानीयले बताएका छन्। 

राति १० बजे आसपासदेखि ३ बजेसम्म नेपाल-भारतको सिमाना बीचमा रहेको दसगजालाई लक्षित गरेर ड्रोन उड्ने गरेको स्थानीयको भनाइ छ।

‘कहिले नेपाली आकाश त, कहिले भारतीय आकाशमा रातको समयमा ड्रोन उड्ने गरेको देखिएको छ,’ एक प्रत्यक्षदर्शीले भने, ‘एकैपटक ३ देखि ७ वटासम्म ड्रोन आकाशमा देखेका छौँ।’ उडेको ड्रोन यही क्षेत्र वरपरमात्र मडारिने गरेको ती प्रत्यक्षदर्शीले बताए। 

भन्सार क्षेत्रमा उडेको देखिएको ड्रोन कसले उडाएको हो अहिलेसम्म पत्ता लाग्न नसकेको भन्सारमा कार्यरत कर्मचारीहरूले बताएका छन्। 

अति संवेदनशील क्षेत्र मानिएको सुक्खा बन्दरगाह सिर्सिया तथा भारतीय भन्सार क्षेत्रलाई लक्षित गरी ड्रोन उड्न थालेपछि यस क्षेत्रमा सुरक्षा चुनौती थपिएको छ। 

‘ड्रोन कसले र कुन प्रयोजनको लागि उडाउन थालेको हो खुल्न सकेको छैन,’ भन्सारका एक कर्मचारीले भने, ‘रातिको समयमा भन्सार कार्यालय भवनको माथिसमेत ड्रोन उडेको देखेर हामीसमेत सशंकित बनेका छौँ।’

सुरक्षाको कडा बन्दोबस्ती भएको देशकै प्रमुख भन्सार क्षेत्रमा यसरी ड्रोन उड्नु राम्रो संकेत मानिएको छैन। यसरी ड्रोन उडाएर कसले के गर्न खोजेको हो भन्ने विषयमा गम्भीर प्रश्न खडा भएको स्थानीयहरू बताउँछन्। 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक भारतीले सुक्खा बन्दरगाह क्षेत्रको दशगजामा ड्रोन उडेको खबर आफूहरुले पनि पाएको बताए। ‘अहिलेसम्म ड्रोन उडेको प्रहरी टोलीले देख्न सकेको छैन,’ उनले भने, ‘ड्रोन कसले र किन उडाएको हो पत्ता लगाउन, सूचना संकलन गर्न प्रहरी टोली खटिएको छ।’ अहिले नै यसबारे केही भन्न नमिल्ने उनले बताए।

पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले नेपाल र भारत दुबै देशको भन्सार कार्यालयको बीचमा दशगजा क्षेत्रमा ड्रोन उडेको खबर आफूले पनि पाएको तर अहिलेसम्म प्रमाण फेला पार्न नसकेको बताए। 

‘सुरुको दिन ५/७ वटा प्लेन यही रुटमा डाइभर्ट भएको थियो। त्यही दिन कसैले देख्या होला। अहिले देखा परेको छैन,’ उनले भने, ‘हाम्रोतिर नभइ ड्रोन उडेको पारीतिर देखिया थियो। ड्रोन उडेको खबर आएपछि हामीले सुरक्षा सतर्कता अपनाएका छौँ।’

ड्रोन कसले र किन उडाएको हो पत्ता लगाउन त्यस क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोली परिचालन गरिएको उनले बताए। अहिले ड्रोन उडेको नदेखिएको दाबी गर्दै प्रजिअ भुसालले यसलाई सुक्ष्म रुपमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइसकिएको बताए।

दशगजा क्षेत्रमा कसैले ड्रोन उडाउन पाइँदैन। यदि अञ्जानवस कसैले ड्रोन उडाएको हो भने त्यसलाई पत्ता लगाएर कानूनी दायरामा ल्याइने उनले बताए। रातको समयमा ड्रोन उडेको विषयमा भारतीय सुरक्षाकर्मीले समेत अनुसन्धान गरीरहेको प्रजिअ भुसालले जानकारी दिए।   


प्रकाशित : सोमबार, साउन २१ २०८११७:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend