शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

बीवाईडी अब युरोप र ल्याटिन अमेरिकामा व्यापक हुँदै, उबरले बीवाईडीका एक लाख कार चलाउने

बिहीबार , साउन १७ २०८१
बीवाईडी अब युरोप र ल्याटिन अमेरिकामा व्यापक हुँदै, उबरले बीवाईडीका एक लाख कार चलाउने

यो सम्झौताअनुरुप दुई कम्पनीले युरोपसहित मध्यपूर्व, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्याण्डमा पनि बीवाईडीका कारहरू उबरमा सञ्चालन हुने छन्।

काठमाडौं- अनलाइन ट्याक्सी बुकिङको सुविधा दिने ग्लोबल कम्पनी उबर र चिनियाँ विद्युतीय कार निर्माता बीवाईडीबीच युरोप र ल्याटिन अमेरिकामा बीवाईडीमार्फत सेवा दिनेगरी सम्झौता भएको छ। 

उबरका चालकहरूले अब उबरमा बीवाईडीका कारमार्फत मूल्य निर्धारणगरी काम गर्न सक्नेछन्। दुई कम्पनी मिलेर उबरका लागि बेग्लैखालको बीवाईडी कारहरू डिजाइनसम्म गर्न सकिने गरी बुधबार सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। 

बहुवर्षीय उक्त सम्झौताअनुसार उबरले बीवाईडीका एक लाख कारहरू लैजाने छ। उबरका सीईओ डारा खोसरोशाहीले यस्तो सम्झौताले ड्राइभर, आम उपभोक्ता र भिन्न सहरहरूले समेत फाइदा लिनसक्ने भएकाले आफूहरू उत्साहित भएको विज्ञप्तिमार्फत बताएका छन्। 

चिनियाँ विद्युतीय कार निर्माता बीवाईडी विश्व बजारमा अहिले निकै प्रभावशाली बनिरहेको छ। लगातार दुईवर्षसम्म बीवाईडीले कार उत्पादनमा टेस्लालाई पछि पारिसकेको छ। बीवाईडीले आफ्नो उत्पादन व्यापक बनाउनका लागि नयाँ फ्याक्ट्रीहरूमा समेत लगानी थप गर्दै छ। बीवाईडीले युरोपमै पनि कार उत्पादन प्लान्ट सञ्चालनमा ल्याउँदै छ।

उबरसँगको संयुक्त विज्ञप्तिमार्फत बीवाईडीका प्रमुख चुह्यानफु वाङले भनेका छन्, ‘स्वच्छ र सफा वातावरण र हरित विश्वका निम्ति उबर र बीवाईडीबीच भएको सम्झौता निकै महत्वपूर्ण छ।'

यो सम्झौताअनुरुप दुई कम्पनीले युरोपसहित मध्यपूर्व, क्यानडा, अस्ट्रेलिया, न्यूजिल्याण्डमा पनि बीवाईडीका कारहरू उबरमा सञ्चालन हुने छन्। 

गएको वर्ष विभिन्न ७० देशमा २ लाख ४० हजार वटा कार निर्यात गरेको बीवाईडीले यसवर्ष उक्त संख्या दोहोरो अंकमा बढाउने लक्ष्य राखेको छ। 

अहिलेको सम्झौताले यसमा सहयोग गर्नुका साथै सहरी सवारीमा विद्युतीकरणका लागि कोशेढुंगा सावित हुने र विश्वभरका सडकमा अत्याधुनिक ईभी विस्तार हुने बीवाईडीकी कार्यकारी उपाध्यक्ष र बीवाईडी अमेरिकाकी सीईओ स्टेला लीले भनेकी छिन्। 

उबरमा प्रयोग हुने त्यस्ता कारहरू बीवाईडीको कुन मोडलका कार हुने भन्ने नखुलाइए पनि जारी गरिएको विज्ञप्तिमा बीवाईडी सिल सेडान, सिल यू एसयूभी, एटो थ्री एसयूभी प्रयोग गरिने अनुमान गरिएको छ। जुन बीवाईडीको युरोप वेबसाइटमा राखिएको छ।

बीवाईडीका विद्युतीय कार नेपाली बजारमा पनि लोकप्रिय छन्। उच्च प्रविधियुक्त, राम्रो रेन्ज दिने र प्रतिस्पर्धी मूल्यमा उपलब्ध भएकाले धेरैको रोजाइमा परिरहेको छ। साइमेक्स इंकले बीवाईडीका विद्युतीय कार नेपालमा बिक्री गर्दै आएको छ।  


प्रकाशित : बिहीबार , साउन १७ २०८११०:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend