शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

ओलाले विद्युतीय कार परियोजना किन स्थगित गर्‍यो?

आइतबार, साउन १३ २०८१
ओलाले विद्युतीय कार परियोजना किन स्थगित गर्‍यो?

ओलाले कार परियोजनाका लागि बाह्य कन्सल्ट्यान्ट र नियुक्त गरेकासहित १ सय जना कर्मचारी राखिएको थियो। अब कम्तीमा दुई वर्षका लागि ओलाको कार परियोजना ब्युँतिने छैन।

काठमाडौं- भारतीय दुईपांग्रे विद्युतीय सवारी उत्पादक कम्पनी ओलाले तत्काललाई विद्युतीय कार उत्पादन गर्ने योजना स्थगित गरेको छ। कम्पनीले विद्युतीय स्कुटर र मोटरसाइकल उत्पादनमै केन्द्रित हुने निष्कर्षसहित तत्कालाई विद्युतीय कार उत्पादनको योजना स्थगित गरेको हो। 

केही वर्षअघि ओलाले विद्युतीय कार उत्पादन गर्ने योजनासहित डिजाइन सार्वजनिक गरेको थियो। २०२२ को अक्टोबरमा ओलाले उक्त घोषणा गरेको थियो। 

ओलाले सार्वजनिक गरेको कन्सेप्ट विद्युतीय कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ४ सेकेन्डमै पूरा गर्ने दाबी गरिएको थियो। त्यस्तै उक्त विद्युतीय कार पुरै ग्लार रुप हुने उल्लेख थियो। तर उक्त विशेषतायुक्त ओलाको विद्युतीय कार अबको केही वर्ष बजारमा नआउने भएको छ। 

सफ्ट बैंकले ओलालाई राम्रै ब्याकअप गरिरहेको छ। ओलाके केही समयअघि मात्र ६६ करोड डलर फण्ड उठाएको थियो। ओलाको पछिल्लो भ्यालुएसन ४ अर्ब ४० करोड डलरसम्म पुगेको छ। 

ओलाले भारतीय दुईपांग्रे विद्युतीय सवारी बजारमा राम्रो पकड कायम गरिरहेको छ। हाल दुईपांग्रे विद्युतीय सवारीको भारतीय बजारमा ओलाको हिस्सा एकतिहाइ रहेको छ। 

आर्थिक वर्ष २४ मा ओलाको विद्युतीय स्कुटर बिक्री अघिल्लो वर्षको १ लाख ५० हजार वटाबाट बढेर ३ लाख पुगेको हो। भारतमा विद्युतीय स्कुटरको बिक्री उल्लेख्य रुपमा बढ्दै गइरहेको छ। 

भारत सरकारले विभिन्न स्किममार्फत विद्युतीय सवारी उत्पादनमा सहुलियत दिँदै आएको छ। सोही कारण पनि पछिल्लो समय भारतमा विद्युतीय स्कुटरको बिक्री बढ्दै गएको छ। 

भारतमा बजाज, टीभीएस, हिरोलगायत कम्पनीले पनि विद्युतीय स्कुटर उत्पादन गरिरहेका छन्। उनीहरुको प्रतिस्पर्धा ओलाका स्कुटरसँग रहेको छ। 

ओलाले कार परियोजनाका लागि बाह्य कन्सल्ट्यान्ट र नियुक्त गरेकासहित १ सय जना कर्मचारी राखिएको थियो। अब कम्तीमा दुई वर्षका लागि ओलाको कार परियोजना ब्युँतिने छैन। हाल ओलाले कार परियोजनामा रहेका मध्ये ३० प्रतिशत कर्मचारी कटौती गरिसकेको छ। 

ओलाको विद्युतीय स्कुटर नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको ईभी एक्सपोमा प्रदर्शनीका लागि ल्याइएको थियो। तर अहिलेसम्म ओलाका स्कुटर बिक्रीका लागि भने नेपाली बजारमा उपलब्ध भएको छैन। 


प्रकाशित : आइतबार, साउन १३ २०८१११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend