बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

नेपाली इन्जिनियरले बनाए चेक डिपोजिट गर्ने मेसिन 

मंगलबार, पुस २० २०७८
नेपाली इन्जिनियरले बनाए चेक डिपोजिट गर्ने मेसिन 

‘सुरुमै धेरै नाफा राख्ने प्रस्ताव मसँग मेल खाँदैन। नेपालमा थोरै मार्जिन राखेर विस्तार गर्ने त्यसपछि निर्यात गर्ने अवस्था आयो भने नाफाको विषय फरक हुनसक्छ। यो मोडालिटीमा काम गर्नेसँग साझेदारी हुन्छ’ उनले भने। 

काठमाडौं- इन्जिनियर युवराज थापा एउटा बैंकको काउन्टरमा गएका थिए। त्यहाँ चेक डिपोजिट गर्ने मेसिन राखिएको थियो। प्रविधिप्रति चासो राख्ने भएकाले उनले त्यही मेसिनबाट डिपोजिट गर्न खोजे। अलिकति प्रयास गर्दा उनले सफलता पाए र उनी फर्के। 

तर त्यहाँबाट फर्केपछि उनीमा एउटा प्रश्न आयो। वित्तीय प्रविधिका यस्ता उपकरण नेपालमै बनाउन किन सकिँदैन। के नेपाली इन्जिनियरिङ त्यति कमजोर छ र? ‘नेपालमै सस्तोमा विश्वसनीय उपकरण बनाउनै नसकिने अवस्था कुनै पनि हालतमा नभएको मैले निष्कर्ष निकाले’ उनले भने। 

नेपालमा फिनटेकको नाममा वालेटबाट भुक्तानी गर्नेलाईमात्र ठानिने गरेकोमा उनी जानकार थिए। लामो समय बैंक तथा वित्तीय संस्थामा सफ्टवेयर इन्जिनियर भएर काम गरेका उनलाई डिजिटल वित्तीय प्रणालीमा वालेट भन्दा कयौं गुणा धेरै काम अरुमा गर्नुपर्छ भन्ने  लाग्यो। 

‘नगदको ठाउँमा वालेट वा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानीलाई मात्र हाम्रोमा डिजिटल बैंकिङको रुपमा लिने गरिन्छ। यही बुझाइ धेरैमा छ। तर यो होइन। काउन्टरदेखि डकुमेन्टेशनसम्मका कुरामा डिजिटल गर्नु आवश्यक छ’ उनले भने ‘जहाँ मेसिनले गर्नसक्ने काम छ त्यहाँ मेसिन ल्याउनुपर्छ। मान्छेको अनिवार्य सहभागिता हुने ठाउँमा मात्र चाहिन्छ।’ 

एकातिर विदेशी दातृ निकायको अनुदानमा फिनसफ्टमा काम गरिरहेका थापाले व्यक्तिगत रुपमै बैंकिङ सेवा दिने स्वचालित मेसिन बनाउने काम गर्ने अठोट गरे। आजभन्दा १४ महिनाअघि उनले योजना बनाएर सुरु गरेको यो परियोजनामा अहिले एउटा मसिन बनेको छ। ‘तर यो पूर्ण छैन। एउटा प्रोटोटाइपका रुपमा तयार भएको छ’ उनले भने। 

youbraj.jpg
युवराज थापा

यो मेसिनबाट अहिले चेक तथा क्यास आफ्नो खातामा आफै जम्मा गर्न सकिनेगरि तयार भएको छ। त्यस्तै भुक्तानीको विकल्प पनि समावेश हुने छ। यो तयार भएको मेसिन थापाले आफ्नै खर्च र मेहनतमा तयार पारेका हुन्। 

‘नेपालमा चाहिएको नटबोल्ट पनि समयमा पाइँदैन एकातिर अर्कोतिर आफ्नै तलबबाट रकम छुट्याएर सामग्री किन्नुपर्छ। जेहोस् अहिले यो मेसिनले एउटा स्वरुप लिएको छ’ थापाले भने। 

यो मेसिनको अवधारणा एउटा शाखाबाट हुने अधिकांश काम गर्नु हो। सामान्यतया ग्राहकले बैंक शाखाबाट  गर्ने काममध्ये पैसा राख्ने र भुक्तानीको काम यसबाट सम्भव हुने उनको भनाइ छ।

‘अहिले बनेको प्रोटोटाइपमा मनिटरमा रहेको चेक डिपोजिट बिकल्पमा क्लिक गर्नुपर्छ। त्यसपछि खाता नम्बर राख्ने र चेक स्क्यानका लागि तलतिर राख्ने। त्यसपछि मोबाइल नम्बर राखेर सबमिट गर्दा डिपोजिट हुन्छ। त्यसपछि स्लिप आउँछ। यो भएपछि लाइन लाग्नु, भौचर भर्न परेन’ उनले भने। 

यो मेसिन अहिले विदेशबाट आउँदा महंगो भएकाले नेपालमै सस्तोमा बनाउन सकिने उनको भनाइ छ। आफूले बनाएको मेसिनमा अरु सुविधा तथा सुरक्षाका उपकरण राख्नै बाँकी रहेको उनले बताए। 

mashine.jpg

मेसिनको रुपरेखा बनाउने काम सकेका थापाले सुरुमा आफैले काम गरेको संस्थालाई दिने तयारी गरेका थिए। तर संस्थाले यसलाई लिन नमानेपछि अरु साझेदार खोजीरहेका छन्। 

बंगलादेशको कम्पनीले लिनका लागि चासो देखाएपनि आफ्नो प्राथमिकता नेपालमै उत्पादन गर्ने भएकाले विदेशीसँग छलफल अघि नबढाएको उनले जानकारी दिए। 

‘मैले नेपालमै उत्पादन गरी देशभर यस्तो सुविधाजनक प्रविधि सर्वसुलभ उपलब्ध गराउने सपना देखेको छु। पहिला नेपालमै विस्तार गर्ने त्यसपछि विदेशमा निर्यात गर्न सकिन्छ’ उनले भने। 

नेपालमा यो मेसिन पाँच लाखमा दिन सकिने उनको भनाइ छ। 

व्यावसायिक साझेदारीका लागि आफू खुला रहेपनि केही सर्त रहेको उनको भनाइ छ। धेरै नाफा खाने योजना भएका लगानीकर्तासँग साझेदारी नहुने उनको भनाइ छ। 

‘सुरुमै धेरै नाफा राख्ने प्रस्ताव मसँग मेल खाँदैन। नेपालमा थोरै मार्जिन राखेर विस्तार गर्ने त्यसपछि निर्यात गर्ने अवस्था आयो भने नाफाको विषय फरक हुनसक्छ। यो मोडालिटीमा काम गर्नेसँग साझेदारी हुन्छ’ उनले भने। 

 


प्रकाशित : मंगलबार, पुस २० २०७८०४:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend