शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

डेडिकेटेड र ट्रंक लाइनका विषयमा ऊर्जामन्त्रीले भने - प्राधिकरणले व्यवसायीलाई अनावश्यक दुःख दिनुहुँदैन

'बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी उत्पादन बढाउनुपर्छ'

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ४ २०८१
डेडिकेटेड र ट्रंक लाइनका विषयमा ऊर्जामन्त्रीले भने - प्राधिकरणले व्यवसायीलाई अनावश्यक दुःख दिनुहुँदैन

ऊर्जामन्त्री खड्काले अबको १० वर्षमा १० हजार मेगावाट होइन २० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य प्राधिकरणले राख्नुपर्नेमा जोड दिए।

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले व्यवसायीले प्रयोग गरेको बिजुलीको भुक्तानी गर्नुपर्ने तर प्राधिकरणले व्यवसायीलाई अनावश्यक दुःख दिन नहुने बताएका छन्। 

‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ का विषयमा देखिएको विवादका बारेमा बोल्दै ऊर्जामन्त्री खड्काले भने, 'व्यवसायीले प्रयोग गरेको बिजुली भुक्तानी गर्नुपर्छ, प्राधिकरणले व्यवसायीलाई अनावश्यक दुःख दिनुहुँदैन।'

साथै उनले बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्ने बताएका छन्।
      
प्राधिकरणका अध्यक्षसमेत रहेका मन्त्री खड्काको स्वागतमा आज नेपाल विद्युत् प्राधिकरणले आयोजना गरेको ‘बधाई तथा स्वागत’ कार्यक्रममा उनले हिउँदमा कममात्रामा विद्युत् हुँदा समस्या भएको भन्दै बाह्रै महिना देशभर विद्युत् उपलब्ध हुनेगरी प्राधिकरणले उत्पादन बढाउनुपर्नेमा जोड दिए।

'किन हिँउद याममा विद्युत् पुग्दैन, यसको समस्या समाधानका लागि प्राधिकरणले केकस्ता योजना र कार्यक्रम अगाडि सारेको छ?, हिँउद याममा बिजुली पुर्‍याउनेगरी प्राधिकरणले योजना बनाएर कार्यान्वय गर्नुपर्छ', ऊर्जामन्त्री खड्काले भने। प्रभावकारी योजना बनाएर अगाडि बढ्दा मन्त्रालयले सदैव सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

सबै नागरिक र उद्योगीको घरमा २४सै घण्टा विद्युत् पुर्‍याउनुपर्ने बताउँदै विद्युत् उत्पादन र वितरणका क्रममा देखिएका समस्या समाधानमा मन्त्रालय लाग्ने उनले उल्लेख गरे।

ऊर्जामन्त्री खड्काले ऊर्जा क्षेत्र नेपालका लागि महत्वपूर्ण भएकाले यसको विकासमा लाग्न सम्पूर्ण कर्मचारीलाई निर्देशनसमेत दिए।

'मन्त्रीलाई सफल बनाउन कर्मचारीको महत्वपूर्ण भूमिका रहन्छ, लामो अनुभव भएका तपाईंहरुले उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्दा विद्युत् क्षेत्रको विकासमा सहयोग पुग्नेछ', उनले भने।

ऊर्जामन्त्री खड्काले अबको १० वर्षमा १० हजार मेगावाट होइन २० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य प्राधिकरणले राख्नुपर्नेमा जोड दिए। 

जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले नेपालमा ऊर्जा क्षेत्रले ठूलो फड्को मारेको बताए। बिजुली जाँदैन भन्ने विश्वास आमनागरिक र उद्योगी व्यवसायीलाई दिलाउन जरुरी रहेकामा उनले जोड दिए। सचिव शर्माले १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्ने सम्झौता भइसकेकाले सोहीअनुसार प्राधिकरणले काम गर्नुपर्ने उल्लेख गरे। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल देशभर तीन हजार एक सय ५७ मेगावाट विद्युत् उत्पादन भएको जानकारी दिए।

उनका अनुसार पछिल्लो एक वर्षमा चार सय ६३ मेगावाट बिजुली थपिएको छ। उनले पछिल्लो समय प्रत्येक वर्ष नेपाल विद्युत् प्राधिकरण १० देखि १२ अर्ब नाफामा जाने गरेको बताए।
     
नेपाल विद्युत् प्राधिकरण आधिकारिक ट्रेड युनियनका अध्यक्ष जनार्दन भट्टराईले प्राधिकरणलाई अगाडि बढाई देशको आर्थिक विकास गर्नका लागि यहाँभित्रका कर्मचारीको समस्या समाधान हुनुपर्ने बताएका थिए। रासस 


प्रकाशित : शुक्रबार, साउन ४ २०८११५:१६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend