काठमाडौं- विश्वमै दुर्लभ र महँगो मानिने कफीको प्रशोधन तथा उत्पादन नेपालमा पनि हुने भएको छ। सामान्य व्यावसायिक उत्पादनबाहेक विशिष्टिकृत उत्पादनका रुपमा चिनिएको ‘ब्ल्याक आईभोरी’ कफी नेपालमा उत्पादन हुने भएको हो।
पानी र चियापछिको तेस्रो लोकप्रिय पेय कफीभित्रको पनि दुर्लभ र महँगो मानिने ‘ब्ल्याक आईभोरी’ पशुपक्षीमार्फत कफीको बियाँ प्रशोधन गरी उत्पादन गरिन्छ। थाइल्यान्ड, इन्डोनेसियामा यसरी प्रशोधन गरिएको कफी संसारमै चर्चित छ।
थाइल्यान्डमा हात्तीबाट प्राकृतिक प्रशोधन गरेर उत्पादन हुने कफी ‘ब्ल्याक आईभोरी’ का नामले चिनिन्छ। अरेबिका जातको कफीको बियाँ हात्तीलाई सेवन गराइन्छ र हात्तीले मलका रुपमा बियाँ नै निकाल्छ। त्यसरी निस्केको बियाँलाई प्रशोधन गरेर यो दुर्लभ कफी तयार हुन्छ। जंगली बिरालोबाट पनि यसैगरी कफी तयार पार्ने काम इन्डोनेसियालगायतका देशमा हुन्छ।
हात्तीबाट प्राकृतिक प्रशोधन गरेर कफी तयार पार्ने काम अब नेपालमै पनि हुने भएको हो। १० वर्ष दक्षिण कोरियामा अध्ययन तथा अनुसन्धान गरेर आएका डा निरोज पौडेललगायतले नेपालमै कफी उत्पादनका लागि अनुसन्धान तथा परीक्षण गरेका थिए। ‘हामीले धेरै मेहनत गरी नेपालमा हिमालयन ब्ल्याक आईभोरी कफी उत्पादन गर्न सफल हुने चरणमा पुगेका हौँ,’ डा. पौडेलले भने।
नेपालमा 'हिमालयन ब्ल्याक आईभोरी' नामबाटै विश्वबजारमा बजारीकरण गर्ने तयारी भइरहेको छ।
नेपालमा धेरै हात्ती हुने चितवनको सौराहामा दुई हात्तीमा यसको परीक्षण गरिएको थियो। गुल्मीको एउटा पुरै गाउँमा माटो र भौगोलिक परीक्षण गरी सोही ठाउँमा उक्त कफीका लागि उत्पादन समेत सुरु गरिएको उनले जानकारी दिए। ‘सौराहामा हात्तीलाई कफीसहितको खाने कुरा खुवाइन्छ, त्यसले २४ घण्टामै कफीका लागि कच्चापदार्थ दिन थाल्छ,’ डा.पौडेलले भने।
सौराहाबाट जिरौनामा खडा गरिएको प्रशोधन केन्द्रमा लगेर कफी बनाइने र लेबलिङको काम गर्नेगरी तयारी गरिएको छ।
यो कफी उत्पादनमा लगानी भने व्यवसायी उमेश श्रेष्ठको हुनेछ। अर्काे साझेदारी भने सुरेशकुमार चाैधरी सहितले लगानी गर्ने छन्। वैज्ञानिकको टोलीले अध्ययन तथा अनुसन्धान गरेपछि त्यसको व्यावसायिक उत्पादनमा आफूले लगानी गरेको उनले जानकारी दिए। ‘मैले वित्तीयरुपमा सहयोग गरेको हुँ। बाँकी सबै अध्ययन र अनुसन्धान गरिरहेका साथीहरुले काम गर्नुहुने छ,’ श्रेष्ठले भने।
नेपालमा स्थानीय किसानहरुलाई जोड्नेगरी गाँउभरी उक्त कफी उत्पादन गर्न खोजिएको छ। पहिलो चरणमा गुल्मीको गाउँलाई छनोट गरिएको छ। विश्वमा सबैभन्दा पहिले थाइल्यान्डले ब्ल्याक आईभोरी कफी उत्पान सुरु गरेको हो। त्यसपछि विश्वमा कतै पनि उत्पादन भएको पाइँदैन।
परीक्षण सफल भएसँगै व्यावसायिक उत्पादनमा जान लागेपछि विश्वको दोस्रो उत्पादन गर्नेमा नेपाल हुनेछ। ‘हामीले आफ्नो जग्गामा बिरुवा उत्पादन गरेर गुल्मीको सत्यवती गाँउपालिकाकाे लुम्पेक गाउँमा अहिले उत्पादन सुरु गरेका छौँ,’ पौडेलले भने।
यो कफीलाई विश्व बजारमा निर्यातका लागि अध्ययन एवं अनुसन्धानसँगै सर्टिफिकेसनको काम पनि पूरा भएको पौडेलले जानकारी दिए। क्यानडाको ल्याबबाट परीक्षण गरेर सुगर, कोल्ड स्टोर र सोडियमको मात्रा शून्य बनाइएको उनले जानकारी दिए। इथोपिया, थाइल्यान्डसहित २५ देशको कफी परीक्षणमा नेपाल उत्कृष्ट भएपछि झनै नेपालमै गर्नुपर्छ भनेर प्रर्वद्धन गर्न लागिएको पौडेलले बताए। सानो चिजलाई भ्यालुक्रेट गर्न सकियो भने थोरै लगानीबाट धेरै ठूलो प्रतिफल लिन सकिन्छ। सोही सोचबाट ब्ल्याक आईभोरी कफी उत्पादनलाई व्यावसायिकतर्फ लैजान लागेको पौडेल सुनाउँछन्।
ब्ल्याक आईभोरी कफी १ सय किलो उत्पादन गर्नका लागि २० देखि २५ लाख खर्च हुने देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दा आजको दिनमा ४ करोड रूपैयाँ हाराहारी यसको बजार मूल्य पर्दछ। यसरी सानो चिजबाट ठूलो भ्यालु क्रियट गर्न सकिने कुरा कोरिया बस्दा बुझेर आएकाले नेपालमा गर्न खोजेको र यसलाई सफलताको चरणमा पुर्याउन लागेको पौडेल सुनाउँछन्।
उनका अनुसार कम्पनीले उत्पादन थाल्नुभन्दा पहिले नै अन्तर्राष्ट्रिय बजारमा बजारिकरण सुरु गरेको छ। अहिले नै विश्वका धेरै देशहरुले डिमान्ड सुरु गरेको पौडेलले जानकारी दिए।
एउटा हात्तीलाई कम्तीमा चारकेजी कफी खुवाउनुपर्दछ। कफीमात्रै खुवाउने नभएर केरा, भेली र धान समेत खुवाइन्छ। कफीलाई परालमा बेरेर खुवाइन्छ। फकीको बोटबाट उत्पादन भएको चेरी जहाँ पनि फलेको मिल्दैन। दिनमा एकपटक मात्रै सूर्यको किरण परेको हुनुपर्दछ। दिउँसोको प्रकाश पर्ने ठाउँको उत्पादन हुँदैन।
कफी उत्पादन भएपछि परालको रोलिङ बनाएर कफी राखिन्छ। त्यसलाई कुची भनिन्छ। जसमा भेली, धान र केरा पनि राखिन्छ। दिनमा ३ देखि ४ केजी खुवाइन्छ। जसको २४ घण्टापछि गोबरको रुपमा दिन थाल्छ। त्यसलाई प्रशोधन प्रक्रियामा लगेपछि बल्ल ब्ल्याक आईभोरी कफी उत्पादन हुनेछ। जुन अन्तर्राष्ट्रिय बजारमा प्रतिकेजी ३ हजार अमेरिकन डलरसम्म पर्छ।
विश्व बजारका रेष्टुरेन्ट र होटलमा यो कफी प्रतिकप ५० डलरभन्दा बढी मूल्य पर्दछ। थाइल्यान्डको ब्ल्याक आईभोरी कफी उत्पादनका लागि ३३ केजीसम्म बिन्स खुवाएपछि १ केजी कफी तयार हुन्छ। तर नेपालमा भने यसको अनुपात फरक देखिएको पौडेल बताउँछन्। अहिले अध्ययनको लागि भाडामा हात्ती लिएर सुरु गरिएको हो। ‘अब भने कम्पनीले आफै हात्ती खरिद गर्ने तयारी गरिएको छ, यसपछि व्यावसायिक उत्पादन सुरू हुनेछ र लगत्तै निर्यात थालिने छ,’ पौडेलले भने।
सयौँ किलो कफीको अर्डर आइसकेको समेत डा. पौडेलले जानकारी दिए। उनका अनुसार उत्पादनमा जोडिने किसानहरुलाई समेत मुनाफा बाँड्नेगरी योजना तयार गरिएको छ। पहिले ८५ रूपैयाँ प्रतिकेजीमा बिक्री हुने गरेको कफी प्रतिकेजी १५० रूपैयाँमा लिन लागिएको समेत डा.पौडेलले जानकारी दिए।
यो नेपालमा सुरु गरी निरन्तरता दिन सकियो भने किसान र देश दुवैलाई फाइदा हुने छ। जसमा नेपालमा पढेका प्राविधिक र असुन्धानकर्ताहरुको समेत माग बढ्ने भएकाले विदेश पलायन हुने दर कम हुनसक्ने उनी बताउँछन्।
पछिल्लो समय विश्वभर हात्तीको प्रयोग पर्यटनका लागिमात्रै भइरहेका बेला थाइल्यान्डले नयाँ सुरुवात गरेको थियो। नेपालमा पनि हात्तीको प्रयोगबाट धेरै काम गर्न सकिने देखेर कफी उत्पादनको काम थालिएको उनको भनाइ छ।
ब्ल्याक आईभोरी कफी विश्वका लक्जरी होटल तथा रिसोर्टमा अत्याधिक माग हुने गरेको छ। विशेषता र मूल्यमा यसले कोपी लुवाक कफीलाई पनि उछिनेको छ। कोपी लुवाक इन्डोनोसियाले उत्पादन गर्दै आएको छ। जसमा बिरालोलाई हात्तीलाई नै जसरी कफीको चेरी खुवाएर प्रशोधन गरिन्छ। जुन विश्व बजारमा महँगो कफीको रुपमा चर्चा हुँदै आएको थियो। थाइल्यान्डले ब्ल्याक आईभोरी कफी उत्पादन थालेपछि कोपी लुवाक कफीभन्दा यो महँगो भएको छ।
