बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै

शनिबार, असार २९ २०८१
एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुँदै

राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले केपी शर्मा ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरिसकेका छन्। यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीनपटक प्रधानमन्त्री भइसकेका छन्।

काठमाडौं- प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो।

नेपाली कांग्रेस र एमालेबीच यही असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दललाई प्रधानमन्त्रीको दाबी पेस गर्न आइतबार अपराह्न ५ बजेसम्मको समय दिएका छन्। राष्ट्रपति कार्यालयबाट नयाँ प्रधानमन्त्री नियुक्तिका निम्ति सूचना जारी भएलगत्तै दुई दलले ओलीलाई उक्त पदमा नियुक्त गर्न दाबी पेस गरिसकेका छन्।

चौथो पटक प्रधानमन्त्री हुन लागेका अध्यक्ष ओलीलाई राष्ट्रपति पौडेलले आइतबार नियुक्त गर्ने प्रबल सम्भावना रहेको दुवै दलका दोस्रो तहका केही नेताहरुले बताएका छन्। एमालेका प्रमुख सचेतक महेश वर्तौलाले राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्रै पद तथा गोपनीयताको शपथ लिने तयारी भएको जानकारी दिए। पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न कांग्रेस र एमाले गृहकार्यमा जुटेका छन्। 

यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीनपटक प्रधानमन्त्री भइसकेका छन्। लोकतन्त्र प्राप्तिको संघर्षमा लागेका उनले लामो समय निरङ्कुश पञ्चायती शासन व्यवस्थामा कारबास भोगेका थिए। रासस


प्रकाशित : शनिबार, असार २९ २०८११७:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend