बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेपाल टेलिकमको बिलिङ प्रणालीको लागत बढाउन एजेन्टहरूको दौडधुप

एमडी नियुक्तिमा बिलिङका विचौलियाको सक्रियता

आइतबार, असार २३ २०८१
नेपाल टेलिकमको बिलिङ प्रणालीको लागत बढाउन एजेन्टहरूको दौडधुप

लागत बढाउने दौडधुपमा रहेका विचौलियाहरूको नजर एमडी नियुक्तिमा पनि परेको छ। उनीहरूले आफू अनुकूल एमडी ल्याउनका लागि तीव्र लविङ बढाएका छन्।

काठमाडौं- लागत अनुमान भएर टेन्डर आह्वान भइसकेपनि नेपाल टेलिकमको बिलिङ प्रणालीको लागत फेरि बढाउन एजेन्टहरूले चलखेल सुरू गरेका छन्। 

बिलिङ प्रणाली उपलब्ध गराउने विदेशी कम्पनीका नेपालस्थित एजेन्टहरूले लागत बढाउनका लागि अहिलेको टेन्डर प्रक्रिया नै रद्द गराउन दौडधुप बढाएका छन्। 

जर्जर प्रणालीका कारण कम्पनीलाई बर्सेनि अर्बौं नोक्सानी भएपनि मर्मत सम्भारकै नाममा अर्बौंको ठेक्का लगाएर नयाँ प्रणाली खरिदलाई टार्दै आएका यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेल भ्रष्टाचारी ठहर भएपछि बर्खास्त भइसकेका छन्। 

पौडेल निलम्बनमा परेकै अवस्थामा कायममुकायम प्रबन्ध निर्देशक संगीता पहाडीले बिलिङको टेन्डर अगाडि बढेकी थिइन्। टेन्डर अहिले पनि प्रक्रियामै रहेको छ। 

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको अध्ययनले पनि तत्काल नयाँ बिलिङ प्रणाली जडान गर्न सिफारिस गरेको थियो। विभिन्न अध्ययन तथा अवस्थाले नयाँ बिलिङ प्रणाली राख्नुपर्ने भन्दै टेलिकमले टेन्डर आह्वान गरेको हो। 

कम्पनीले नयाँ बिलिङ प्रणालीका लागि गरिएको टेन्डरबाट राम्रा कम्पनी आउन नसक्ने भन्दै विदेशी कम्पनीका एजेन्टहरूले लबिङ बढाएका छन्। यसमा मुख्य कम्पनीमा नेटक्रयाकर भन्ने कम्पनी रहेको छ। बिलिङ तथा अन्य अफिस म्यानेजमेन्ट प्रणालीको विकासमा काम गर्दै आएको यो कम्पनीका प्रतिनिधि अहिलेको टेन्डर रोक्न तीब्र लबिङमा छन्। 

त्यस्तै सीएसजीआई भन्ने कम्पनीका एजेन्ट पनि रोक्ने लबिङमा छन्। अहिले टेन्डर गर्दा पहिले परामर्शदाताबाट प्राप्त दस्तावेजकै आधारमा टेन्डर गरिएको र यसबाट मूल्य तथा लागत न्यून अनुमान गरिएको भन्दै उनीहरूले बढाउन लबिङ गरेका छन्। 

लागत बढाउने दौडधुपमा रहेका विचौलियाहरूको नजर एमडी नियुक्तिमा पनि परेको छ। उनीहरूले आफू अनुकूल एमडी ल्याउनका लागि तीब्र लबिङ बढाएका छन्। 

सरकार अल्पमतमा परेपनि एमडी नियुक्तिको प्रक्रिया भने तीब्र गतिमा अघि बढेको छ। आउने हप्तामै नयाँ एमडी नियुक्त गरिछाड्ने तयारीमा रहेको सरकारलाई यी विचौलियाले प्रभावमा पार्न खोजेका छन्। 

अहिले नेपाल टेलिकममा एसिया इन्फोको बिलिङ प्रणाली रहेको छ। यही बिलिङ प्रणालीकै कारण बर्सेनि अर्बौं आम्दानी चुहावट भइरहेको भन्दै आधुनिक र स्वचालित प्रणाली ल्याउनका लागि यसअघिका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले खरिद प्रक्रिया नै अघि बढाएका थिए। तर अधिकारी बाहिरिएर सुनिल पौडेल प्रबन्ध निर्देशक हुनेवित्तिकै उक्त खरिद प्रक्रिया रोकिएको थियो। खरिद प्रक्रिया रोक्नेमात्र होइन पौडेलले अझै चार वर्ष यही प्रणालीबाट काम चलाउने साँठागाँठ गरेका थिए।  

चिनियाँ कम्पनी एसिया इन्फो आफैमा प्रतिष्ठित बिलिङ प्रणाली विकास तथा सञ्चालन गर्ने कम्पनी होइन। उद्योगमा खासै प्रतिष्ठा नकमाएको यो कम्पनीले नेपाल टेलिकमको बिलिङ प्रणाली पछिल्लो एक दशकदेखि सम्हालिरहेको छ। सुरुमै सेटिङमा छिराइएको तत्कालीन अधिकारीहरू बताउँछन्। 

शक्ति केन्द्रसँगको साँठगाठले गर्दा यो कम्पनीले सुरुवाति टेन्डरमात्र होइन त्यसपछिका हरेक उपकरण खरिदमा समेत आफ्नै च्यानल निश्चित गरेको छ। यो बिलिङ प्रणालीमा स्टोरेज कन्ट्रोलर एचपीका मात्र राख्न सकिन्छ। यसको जडान नै त्यसरी गरिएको छ। यी डिभाइसको नेपाली एजेन्ट कास्ट ट्रेडिङ रहेको छ। 

स्टोरेज कन्ट्रोलरसँग सर्भरमा पनि निश्चित गरिएको छ। सबमाइक्रो ओराकलकैमात्र प्रयोग हुन्छ। सर्भर तथा स्टोरेजमा खराबी आउँदा यीबाहेक अरु कुनै पनि ब्रान्ड वा कम्पनीको लिन सकिँदैन। तर यसरी गरिने खरिदको दायित्व भने कम्पनीलाई हुन्छ। यसमा एक प्रकारको सिन्डिकेटको योजना बनाइएकोमात्र छैन कि वर्षौंदेखि यही चलिरहेको छ। 


प्रकाशित : आइतबार, असार २३ २०८११०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend