बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कृषि र पर्यटनमा उदाहरणीय काम गर्दै सेराप विष्ट

शुक्रबार, असार २१ २०८१
कृषि र पर्यटनमा उदाहरणीय काम गर्दै सेराप विष्ट

गाउँ फर्केर उद्यमी बन्ने सोचलाई उनले कृषिमा मात्र सीमित गरेनन्। चामे गाउँपालिका-५ मा खुलेको ‘हेप्पी होम होमस्टे’ उनको अर्को व्यावसायिक कर्म हो।

गण्डकी- हिमालपारि मनाङका सेराप विष्ट, ‘चेमी ङ्या’ अर्थात् चामेमाथि ठूलो गरामा एकतमासले केराउ टिपिरहेका थिए। हामी टक्क अडिन मात्र के भ्याएका थियौँ, ‘चाख्नुहुन्छ?’ भन्दै हामीछेउ आइपुगे। भर्खरै टिपेको केराउ थमाए। हंसमुख र विनम्र वचनसहित टक्रयाएपछि केराउको स्वाद नलिइ भएन। अहो! कति रसिलो।

हाम्रो उद्देश्य केराउको स्वाद चाख्नु नभइ उनीबारे जानकारी लिनु थियो। हामीले थप नअल्मिलिँदै जिज्ञासा राख्यौँ, उनी पनि सजिलो गरी प्रस्तुत भए। जीवनका अन्तरकुन्तर खोले। 

सपनाको सहर काठमाडौँबाट जन्मथलो फर्केर कृषि र पर्यटन व्यवसायमा रमाइरहेका ३२ वर्षीय युवा। विसं २०६५ मा विद्यालय शिक्षा पूरा गरी विष्ट उच्च शिक्षा अध्ययनका लागि राजधानी छिरे।

म्यानपावर कम्पनीमा काम गर्दै होटल व्यवस्थापन पढ्नुभयो तर आर्थिक अभावले पढाइलाई १२ कक्षाभन्दा अगाडि बढाउन सकेनन्। 'भृकुटीमण्डमा घोडा तान्ने कामदेखि के सम्म गरिएन काठमाडौंमा', विष्ट विगततिर फर्किए, 'पराइ ठाउँ, न घरपरिवार न आफन्त, छाक टार्ने जागीरले काठमाडौँको बसाइँ सकसपूर्ण हुन थालेपछि म आफ्नै ठाउँ चामे फर्किएँ।'

९ वर्षको काठमाडौं बसाइँलाई बिट मारेर उनी विसं २०७५ मा मनाङ फिरे। सदरमुकाम चामेमा विष्टका बुबाआमा निर्वाहमुखी कृषि गरिरहनुभएको थियो तर व्यावसायिक चेत थिएन। जेठा छोरा सेराप गाउँ फर्किएपछि दुःखसुख गरेर जीवन धानिरहेका विष्ट दम्पतीको जीवनले पनि नयाँ मोड लियो। 

सेरापले गाउँ फर्केपछि ‘विष्ट एप्पल फार्म’ स्थापना गरे। त्यो बेला ‘फार्म’ दर्ता कसरी गर्नेसम्म उनलाई थाहा थिएन। गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले त्यसमा सघाए। तनहुँको दमौली पुगेर सेरापले स्थायी लेखा नम्बर ‘पान’ नम्बर ल्याए।

चार रोपनीमा फैलिएको ‘फार्म’मा अहिले स्याउ फलिरहेका छन्। स्याउसँगै उनले व्यावसायिक तरकारीखेती सुरू गरे। प्लाष्टिक घर (टनेल)मा लटरम्म गोलभेँडा फलेका छन्।

चामेका होटललाई चाहिने तरकारी उनले नै पुर्‍याउँछन्। 'चार रोपनीमा आलु र दुई रोपनीमा गोलभेँडा, काउली, बन्दालगायत अरु तरकारी लगाएको छु', उनले सुनाए, 'किवी, आरु, खुर्पानीलगायत मौसमअनुसारका फलफूल पनि लगाएको छु।'

गाउँ फर्केर उद्यमी बन्ने सोचलाई उनले कृषिमा मात्र सीमित गरेनन्। चामे गाउँपालिका-५ मा खुलेको ‘हेप्पी होम होमस्टे’ उनको अर्को व्यावसायिक कर्म हो।

विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग छेउ रहेको उक्त ‘होमस्टे’ले विष्टलाई पर्यटन उद्यमीका रूपमा समेत चिनाएको छ। 'होमस्टे सञ्चालनमा ल्याएको नौ महिना बित्दैछ, दुई पर्यटकीय याममा हामीले सेवा दिइसकेका छौँ', विष्टले भने, 'पाहुनालाई आफ्नै बारीको उत्पादन चखाउने हेतुले होमस्टे सञ्चालनमा ल्याएका हौँ, हामीकहाँ नेपाली र विदेशी दुवै खाले पर्यटक आउँछन्।'

चामेको रैथाने बाली उवा, फापर, आलु, सिमीलगायतका परिकार उनको भान्छामा पाक्छ। पर्यटकले चाहेमा बारीमा पुगेर आफै तरकारी टिप्न र पकाउन पनि पाउँछन्। विशुद्ध पारिवारिक वातावरण दिएर पर्यटक लोभ्याउने विष्टको सोच छ। उनले भने, 'हाम्रो आमाले पहिले भान्छामा जे पकाउनुहुन्थ्यो, त्यही परिकार पर्यटकलाई दिन्छौँ, स्थानीय उत्पादनमै हाम्रो बढी जोड छ।'

विष्टले ‘होमस्टे’ आमाकै नाममा दर्ता गरेर चलाएका छन्। ‘होमस्टे’मा एक रातमा १५ जना पाहुना बस्न सक्छन्। हिमाली सभ्यता र जनजीवन झल्काउने गरी ‘होमस्टे’ सेवालाई विविधीकरण गर्दै जाने विष्टको योजना छ।

'निकट भविष्यमा फार्म हाउस खोल्ने योजना छ, हेरौँ परिस्थितिले कत्तिको साथ दिन्छ', उनले भने, 'आफ्नै जन्मथलोमा केही गर्ने हुटहुटी छ, व्यावसायिक कर्म र बुबाआमाको सेवामा समर्पित भएर लाग्ने प्रण गरेको छु।'

उमेरले उकालो चढ्दै गर्नुभएका साङ्दो र पेमा भुटी विष्ट पनि छोरा गाउँ फर्केपछि निकै खुसी छन्। विष्ट दम्पतीले सकेजति छोरालाई काममा सघाइरहेका छन्। सेराप आफैँ खेतीबालीको काममा खट्छन्। कहिलेकाहीँ खेताला लगाउँछन्।

पर्यटनबाट धानिएको मनाङमा आफ्नो भविष्य सुरक्षित देखेका सेराप अरूका लागि पनि प्रेरणा बनेका छन्। उनको लगाव, योजना र सोचका कारण गत आइतबार गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ‘युवा प्रतिभा पहिचान तथा सम्मान’ बाट सम्मानित भएका छन्। 

कृषि तथा लघु उद्यमतर्फ प्रदेशभरीमा प्रथम स्थानमा छनोट भई उनले ५० हजार पुरस्कार पाए। केही समयअघि उहाँलाई चामे गाउँपालिकाले पनि युवा उद्यमीका रूपमा सम्मान गरेको थियो। 'सम्मान र पुरस्कारले थप प्रेरणा दिएको छ, आगामी दिनमा व्यवसायको गुणस्तर र क्षमता विस्तारतिर लाग्छु, थोरै सङ्ख्यामा भए पनि गाउँमै रोजगारी सिर्जना हुने गरी काम गर्छु', उनले भने।

विष्टलाई सबैभन्दा सन्तोष लाग्ने विषय हो बुढेसकालमा बुबाआमासँगै रहन पाउनु। 'जग्गा धेरै भएर पनि बुबाआमाले खेतीकिसानी गर्न नसक्ने अवस्था थियो, म घर फर्केपछि बल्ल उहाँहरूलाई पनि आडभरोसा मिल्यो, खुसीसाथ कृषिकर्ममा रमाइरहेका छौँ, कमाइ पनि राम्रै छ', विष्टले भने। सेरापका माइला भाइ भक्तपुरमा बौद्धशिक्षा पढ्दै छन् भने कान्छा भाइ वैदेशिक रोजगारमा छन्। 

देश नै विदेश भइरहेको छ भन्ने भाष्य बनिरहेका बेला सेराप भने आफ्नै थातथलो फर्केर आफ्नै जीवनमा आशा भरिरहेका छन् भने अरूलाई देशमै केही गर्नुपर्छ भनेर प्रेरणा दिइरहेका छन्। रासस


प्रकाशित : शुक्रबार, असार २१ २०८११४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend