बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

केक मेला : धेरैथरि स्वाद

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , पुस १५ २०७८
केक मेला : धेरैथरि स्वाद

ललितपुर- उपत्यकामा विभिन्न विषय र उत्पादनका मेला र प्रदर्शनी लाग्ने गर्दछ। आफ्ना धेरैथरि र प्रकारका उत्पादन तथा वस्तु एकै ठाउँमा जम्मा गरेर धेरैजनालाई एकै समयमा थाहा दिन यस्ता मेला तथा प्रदर्शनी आयोजना गर्ने गरिएको छ तर यतिबेला भने बर्सेनि लाग्नेभन्दा अलग्गै खालको मेला लागेको छ राजधानीमा, केक मेला। 

केक मेला (बेक फेस्ट) अर्थात् ‘बेकरी फेस्टिबल’ हामीले प्राय प्रयोगमा ल्याउने केक अर्थात् बेकरी परिकारका बारेमा जानकारी दिन आयोजना गरिएको हो। ललितपुरको पुल्चोकस्थित लबिम मलमा बुधबारबाट सुरु भएको यो मेलामा केकका प्रकार र परिकार राखिएको छ। जहाँ दर्शक पुगेर एकै ठाउँबाट एक सयभन्दा बढी केकका प्रकार र परिकारको जानकारी र स्वादको आनन्द लिने गरिरहेका छन्। अनि केकका पारखीहरूका लागि यो अवसर जुटाइदिएको छ ब्रेकर्स हब नेपालले। 

केक नेपालमा पनि प्रायः जन्मदिन, वैवाहिक वार्षिकोत्सव, कुनै संस्थाको वार्षिकोत्सव अथवा भनौँ कुनै नयाँ र शुभकार्यको थालनीका लागि प्रयोग गर्ने गरिन्छ। पछिल्ला वर्षहरूमा नेपालमा केक काट्ने संस्कार नै बसेको छ तर यसरी नेपालीको संस्कार बनिसकेको केक के कसरी बन्छन् र ती कति प्रकारका र कस्ता हुन्छन् भन्नेबारेको जानकारी भने थोरैमात्र मानिसलाई होला। त्यसैले यही विषयमा जानकारी दिन र विभिन्न प्रकारका केकको स्वाद चखाउने उद्देश्यले ‘बेक फेष्ट’ को आयोजना गरिएको बताउनुहुन्छ बेकर्स हबकी संस्थापक दीपा भुसाल।

'यसअघि विभिन्न प्रकारका खाद्यवस्तुको मेला (फुड फेस्टिबल) नेपालमा हुुने गरेकामा केक तथा बेकरीका परिकारका बारेमा भने नेपालमा हामीले पहिलोपटक यो मेलाको आयोजना गरेका छौँ', भुसालले बताइन्। 
 
शुक्रबारसम्म सञ्चालन हुने यो मेलाको बुधबार उद्घाटन भएको हो। यस मेलाको उद्घाटन तथा त्यसपछि सो मेलामा पुगेका युवा एवं व्यवसायीले यस्ता कार्यले नेपालमा पनि युवा उद्यमशीलताको विकास हुनुका साथै नवप्रवर्तन व्यवसायको विकासमा सहयोग पुग्ने धारणा राखेका थिए।

केक तथा बेकरीका परिकारको व्यवसाय गरीरहेका व्यवसायीले आफूले बनाएका परिकारको सही जानकारी र नयाँ उत्पादनको बारेमा सर्वसाधारण तथा खानामा चासो राख्ने पारखीलाई जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गरेको भुसाल बताउँछिन्। मेलामा प्रत्यक्षरुपमा सेफहरूद्वारा केक तथा बेकरीका परिकार बनाइनुका साथै परिकारको प्रदर्शनी गरिएको छ।

अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिनसम्म सञ्चालन हुने यस मेलाले नयाँ वर्षका लागि केक बिक्री गर्ने उद्देश्य पनि राखेको छ। प्रत्यक्ष बेकिङ्, बेकरी प्रदर्शनी, शेफ च्यालेञ्ज, केक रनवे, रोमाञ्चक खेल, साङ्गीतिक कार्यक्रमलगायत पनि सञ्चालन हुने भुसालले जानकारी दिइन्। 

यस मेलामा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीका पाककलासमेत प्रस्तुत हुने बताइएको छ। ‘बेक फेष्ट’मा विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीको पाककलाको प्रस्तुतिका साथै सेफ च्यालेञ्ज जस्ता कार्यक्रम पनि आयोजना गरिएको छ। केकका परिकारका साथमा केक रनवे कार्यक्रम यहाँको अर्काे आकर्षण रहेको छ।

मेलामा केक तथा बेकरीका परिकारका साथै यस्ता परिकार बनाउन आवश्यक सीप तथा प्रविधिका बारेमा समेत जानकारी दिने गरिएको छ। केकका पारखीका साथै केक बनाएर बेकरी व्यवसाय सञ्चालन गर्ने व्यक्तिका लागि पनि यो मेला लाभदायक हुने यो मेलामा आएका पोखराका अरबिन्द आचार्यले बताए। यो मेला र केकप्रति मानिसको आकर्षण देखेर आफूले पनि सानोतिनो बेकरी सञ्चालन गरौँ भन्ने आफूलाई लागेको विचार उनले सुनाए।
 
युवा उद्यमीको नयाँ सोच

केक तथा बेकरी व्यवसायलाई सर्वसुलभ तथा व्यवस्थित गर्न र बजारमा स्थापित गर्न बेकर्स हब नेपालले प्रविधिको प्रयोग गर्दै अनलाइनमार्फत केक तथा बेकरीका परिकार बिक्री गर्दै आएको छ। एक वर्षअघि सुरु भएको बेकर्स् हबले देशमा बेकरीका क्षेत्रमा राम्रो प्रभाव पार्न सकिएको र यस व्यवसायलाई संस्थागत विकास गर्न थप कार्यहरू गर्ने तयारीमा रहेको पनि सो संस्थाकी सञ्चालक भुसालको भनाइ छ।

प्रविधिको प्रयोग तथा जनमानसमा अनलाइन व्यापरको ज्ञान र प्रयोग बढ्दै गएकाले केक तथा बेकरीका परिकार पनि अनलाइनमार्फत घर तथा संस्थामै पुर्‍याउन थालिएको छ। यसका कारण पछिल्लो समयमा माग पनि बढ्दै गएको उनले जानकारी दिइन्। 

केक तथा बेकरीका शुद्ध र स्वस्थकर परिकार उपभोक्ताले चाहेको समयमा खासगरी उपत्यकाका तीनै सहरमा सहजै उपलब्ध गराउँदै आएको उनी बताउँछिन्। आफूहरूका उत्पादनभन्दा पनि साना तिना पसलमा मात्र उपलब्ध हुने गरेका केक र बेकरी आइटम हामी युवाको संस्थागत प्रयासलाई धेरै उपभोक्ताले मन पराएको उनले सुनाइन्।  रासस


प्रकाशित : बिहीबार , पुस १५ २०७८०५:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend