सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

पर्याप्त सिँचाइको असुविधाले धान रोपाइँमा ढिलाइ, परम्परागत बीउले उत्पादनमा कमी

आइतबार, असार १६ २०८१
पर्याप्त सिँचाइको असुविधाले धान रोपाइँमा ढिलाइ, परम्परागत बीउले उत्पादनमा कमी

यहाँका तमानखोला र ताराखोला गाउँपालिकामा थोरै क्षेत्रफलमा मात्रै धान लगाइन्छ भने अन्य पालिकाको हकमा धान प्रमुख बाली हो। धानबालीमा लाग्ने रोगको उपचार नियमित गर्न सके उत्पादन बढ्न सक्ने किसानको भनाइ छ।

बलेवा- यस वर्षको असार १५ सम्ममा बागलुङमा २० प्रतिशतमात्रै धान रोपाइँ भएको छ। बर्सात ढिला हुँदा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुनले बताए। अझैपनि अधिकांश स्थानमा मुल नै नफुटेको, सिँचाइका लागि कुलो तथा नहर सञ्चालनमा आउन नसकेका कारण रोपाइँ कम भएको उनको भनाइ छ।

लामो समयको खडेरीका कारण मकै लगाउन पनि ढिलाइ भएको उनले बताए। गलकोट नगरपालिका बाहेकका पालिकामा धान रोपाइँ न्यून भएको पुनले जानकारी दिए।

एक दशकअघि जिल्लाका पाँच हजार नौ सय हेक्टरमा धानखेती हुने गरेकोमा अहिले पाँच हजार सात सय सात हेक्टरमा मात्रै धानखेती हुने गरेको छ। जसबाट वार्षिक १९ हजार सात सय ५० मेट्रिकटन धान उत्पादन हुने गरेको केन्द्रको भनाइ छ।

'जिल्लामा कृषि गणना र अद्यावधिक नहुँदा कतिपय तथ्यांक आउन सकेको छैन', पुनले भने। बागलुङमा अधिकांश जमिनमा परम्परागत जातको धान लगाउने चलन छ।

परम्परागत धानतर्फ गौरीया, जेठोबुढो, गुडुरा र एक्ले धान लगाइन्छ। उन्नत जातमा केन्द्रले सिफारिस गरेको खुमल-४ जातको धान लगाउने चलन छ। त्यसबाहेक किसानले सिफारिस नभएको जातका धान पनि लगाएका छन्।

'हामीले स्वीकृत नदिएपनि कतिपय किसानले ‘यूएस ३१२’ जातको धान लगाउनुभएको छ', पुनले भने, 'यहाँको हावापानीमा अनुकुल नभएका उक्त जातको धान रोप्नका लागि सिफारिस गरिएको छैन।'

दाना नलाग्नेलगायतको समस्या हुनसक्ने भन्दै केन्द्रले सचेत गराउँदा पनि केही किसानले लगाएको उनले बताए। चैते धानको उत्पादन भने राम्रो भएको उनको भनाइ छ।

'गुणस्तरीय बीउ छनौट गर्ने, उन्नत जातको धान रोप्दा उत्पादन बढाउन सकिन्छ', केन्द्रका प्रमुख राजेन्द्र सिलवालले भने, 'प्रशस्त जमिन छ, तर धान लगाइएको छैन। पर्याप्त सिँचाइको सुविधा उपलब्ध गराउन सके धान उत्पादन बढाउन सकिन्थ्यो।'

यहाँका तमानखोला र ताराखोला गाउँपालिकामा थोरै क्षेत्रफलमा मात्रै धान लगाइन्छ भने अन्य पालिकाको हकमा धान प्रमुख बाली हो। धानबालीमा लाग्ने रोगको उपचार नियमित गर्न सके उत्पादन बढ्न सक्ने किसानको भनाइ छ।

समयमै पर्याप्त मल पाउने व्यवस्था र रोग लागेमा तत्काल उपचारको व्यवस्था भैदिए उत्पादन बढाउन सहज हुने गलकोट नगरपालिका ६ का नरबहादुर खत्रीले बताए। 'धान त रोपेर लगभग सकियो, रोगकिराबाट बचाउन बेलाबेला उपचार र प्राविधिक साथ चाहिन्छ', उनले भने, 'समस्या पर्नासाथ समयमा औषधि पाइयो भने उत्पादन बढाउन सकिन्छ।' रासस


प्रकाशित : आइतबार, असार १६ २०८१११:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend