शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

५ खर्ब लगानी गर्दै १९ सय मेगावाटका दुई जलविद्युत आयोजना निर्माण गर्ने बंगलादेशको प्रस्ताव

१२१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय र ६८३ मेगावाटको सुनकोसी तेस्रो निर्माण गर्ने

बुधबार, असार १२ २०८१
५ खर्ब लगानी गर्दै १९ सय मेगावाटका दुई जलविद्युत आयोजना निर्माण गर्ने बंगलादेशको प्रस्ताव

काठमाडौ- नेपालबाट ४० मेगावाट बिजुली लैजान तयार भएसँगै बंगलादेशले दुई आयोजना निर्माणका लागि प्रक्रियासमेत अगाडि बढाएको छ। 

बंगलादेशी सरकारले ५ वर्षसम्म नेपालबाट ४० मेगावाट बिजुली लैजाने निर्णय गरिसकेको छ। नेपाल विद्युत प्राधिकरणले बिजुलीको प्रतियुनिट ८ दशमलव १७ टाका (बंगलादशी मुद्रा) पाउने छ। नेपालबाट भारतको प्रसारण ग्रीड हुँदै बंगलादेश बिजुली पुग्नेछ।

बिजुली खरिदको प्रक्रिया करिब टुंगोमा पुगेसँगै बंगलादेशले नेपालमा दुई ठूला आयोजना एकैसाथ अगाडि बढाउनेगरी प्रस्ताव गरेको छ।  १२१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय जलाशयुक्त जलविद्युत आयोजना र  ६८३ मेगावाटको सुनकोसी तेस्रोलाई लगानी गर्नेगरी प्रस्ताव गरिएको छ।

१२१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय जलाशयुक्त जलविद्युत आयोजनाको लागत २ खर्ब ८९ अर्ब ७७ करोड रुपैयाँ र ६८३ मेगावाटको सुनकोसी तेस्रो आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर रहेको छ। दुवै आयोजनाको लागत करिब ५ खर्ब रुपैयाँ हाराहारी हुनेछ। जसमा लगानी गरेर निर्माण गरी बिजुली भारतको बाटो हुँदै बंगलादेश लैजाने छ। 

लगानी सम्मेलनमा सोकेसमा राखिएको १२१६ मेगावाट क्षमताको खिम्ती-ठोसे-शिवालय जलाशयुक्त जलविद्युत आयोजनारामेछाप जिल्लामा रहेको छ। उक्त आयोजनाको प्रारम्भिक अध्ययन सम्पन्न भइसकेको छ। ७ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ।

बंगलादेशका लगानीकर्ताले धेरै पहिलेदेखि चासो दिए पनि ठोस प्रस्ताव गरेका थिएनन्। लगानी बोर्ड र ऊर्जा मन्त्रालयमा दुबै आयोजना संयुक्त रुपमा अगाडि बढाउनेगरी प्रस्ताव गरेका छन्। 

अरुण ३ मोडालिटीमा बंगालदेशका लगानीकर्ताले उक्त आयोजना निर्माण गर्न लागेका हुन। उक्त दुबै आयोजना बंगलादेशले बनाउने र विद्युत पनि लैजानेगरी लगानी गर्न खोजेका हुन्।

खिम्ती-ठोसे-शिवालय जलाशयुक्त जलविद्युत आयोजना बाँधको उचाइ २३१ मिटर हुनेछ। रामेछापको शिवालय भन्ने स्थानमा ड्याम बनाएर करिब १४ किमी सुरुङमार्ग निर्माण गरेर विद्युत उत्पादन गरिनेछ। जसले ५ र ७ मेगावाटको सञ्चालनमा रहेका दुई जलविद्युत आयोजनासमेत डुब्ने छ। 

नेपाल-बंगलादेशबीच चौथो ऊर्जा सचिवस्तरीय बैठकमा ६८३ मेगावाटको सुनकोसी तेस्रो र खिम्ती शिवालय जलविद्युत आयोजना संयुक्त रुपमा विकास गर्ने विषयमा छलफल गरिएको थियो। बंगलादेशले पहिलो चरणमा खिम्तीलाई अगाडि बढाउन लागेको हो।

बंगलादेशले ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाको ५ सय मेगावाट लैजाने प्रस्ताव गरिसकेको छ। बंगलादेशले नेपालसहित छिमेकी मुलुकहरूबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने घोषणा गरेलगत्तै नेपालमा लगानी गर्न लागिएको हो। 

बंगलादेशमा २३.२८ मेगावाटको त्रिशूली र १९.४० मेगावाटको तल्लो मोदी जलविद्युत् आयोजनाको विद्युत् बिक्री गरिँदै छ। उक्त आयोजनाको बिजुली आफ्नो प्रसारण लाइन हुँदै बंगलादेश लैजान भारतले यसअघि नै स्वीकृतिसमेत दिइसकेको छ। 

यता ऊर्जा व्यापार विकास गर्न नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय संयन्त्र बनाउने तयारीसमेत छ। गत वर्ष बंगलादेशले त्रिपक्षीय संयन्त्र बनाउने प्रस्ताव गरेको थियो। तीन देशबीच अहिले छलफल जारी छ।


प्रकाशित : बुधबार, असार १२ २०८१०७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend