शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको निर्माणमा तीव्रता

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असार १० २०८१
माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको निर्माणमा तीव्रता

आयोजना निर्माण सम्पन्न गर्न करिब ७० देखि ८० अर्ब लागत लाग्ने र निर्माण सम्पन्न भएको ३० वर्ष पछि स्वतः नेपाल सरकारको हुने आयोजनाले जनाएको छ।

रसुवा- हाकु क्षेत्रमा निर्माणाधीन माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना निर्माण तीव्ररूपमा अगाडि बढेको छ।

आमा छोदिङ्मो र उत्तरगया गाउँपालिकाको आधार इलाकाभित्र निर्माण भइरहेको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजना जिल्लाकै सबैभन्दा ठूलो आयोजना हो। यो २ सय १६ मेगावाट क्षमताको छ। सो जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ।

सन् २०१९ देखि निर्माण सुरु भएको सो जल विद्युत् आयोजनाको सुरूङ खन्ने काम ६५ प्रतिशत सकिएको छ।  आयोजनाको पावर हावस तथा ट्रान्सफर्मर राख्ने स्थलको भूमिगत संरचना, चार सय २० मिटर ‘हेडरेस’ सुरूङलगायतका काम ६५ प्रतिशत पूरा भएको छ। सुरूङको बाँकी काम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ। 

धुञ्चेको त्रिशूली दोभान तथा भोटेकोशी सङ्गमस्थलमा बाँध बाँधी छ मिटर गोलाइको नौ हजार चार सय ९१ मिटर ‘हेडरेस’ सुरूङको सहायताबाट त्रिशूली नदीको ७६ क्युसेक पानी मैलुङ दोभानमा पुर्‍याइ तीन वटा टर्वाइनबाट दुई सय १६ मेगावाट  विद्युत् उत्पादन गरिने छ। सन् २०२६ को डिसेम्बरभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको जलविद्युत् आयोजनाका सहायक प्रबन्धक विप्लव खड्काले जानकारी दिए।  

सम्पूर्ण संरचना भूमिगत रहने भएका कारण बाढीपहिरो, भूक्षय, चट्याङ तथा भूकम्पले असर नगर्ने वातावरण विज्ञ मधु पाण्डेले बताए। आयोजना निर्माणको क्रममा वातावरणलाई कुनै असर नपारिएको प्राविधिकहरुले बताएका छन्। 

आयोजना निर्माण सम्पन्न गर्न करिब ७० देखि ८० अर्ब लागत लाग्ने र निर्माण सम्पन्न भएको ३० वर्ष पछि स्वतः नेपाल सरकारको हुने आयोजनाले जनाएको छ।

राजधानी काठमाडौँबाट तीन घण्टाको दूरी उत्तरमा रहेको आयोजनास्थल बेत्रावती- स्याफ्रुबेँसी राजमार्गसँगै रहेका कारण निर्माण सामग्रीलगायत उपकरण ढुवानीमा सहज भएको आयोजनाले जनाएको छ।

कोरिया एक्जिम, एसियाली विकास बैंकलगायत गरी विभिन्न नौ बैंक तथा दातृ संस्थाको सहुलियतपूर्ण कर्जा सहयोगमा निर्माणाधीन माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको  प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआईए)ले ओैँल्याएका  र स्थानीयको  आवश्यकतालाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ। सो आयोजनाले धुञ्चेस्थित रसुवा माविलाई विद्यार्थी छात्राबास , हाकुबेँसीमा पक्की पुल निर्माण गरेको छ। भूकम्प तथा कोभिड-१९को समयमा राहत एवं स्वास्थ्य क्षेत्रलाई सहयोग गरेको थियो। 

सुरक्षा निकाय अन्तर्गत नेपाल प्रहरीलाई हाकुमा सुरक्षा चौकी निमार्ण गर्न जग्गा प्रदान गरेको छ। आयोजनाका प्रबन्धक गिरीराज अधिकारीले कम्प्युटर, भाषा, कुक, सवारीसाधन चलाउने, सीपमुलक तालिमसमेत स्थानीयलाई प्रदान गरिएको जानकारी दिए। रासस


प्रकाशित : सोमबार, असार १० २०८११४:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend